• ८ मंसिर २०८१, शनिबार

प्रजातन्त्र दिवस विशेष

अधिकारको लडाइँमा सुदूरपश्चिम

blog

देशको प्रजातान्त्रिक आन्दोलनमा देशका अन्य क्षेत्रसरह नै सुदूरपश्चिम पनि सहभागी हुँदै आएको छ । राजनीतिक आन्दोलन तथा चेतना अभिवृद्धिमा यहाँका युवा राणाकालदेखि नै सक्रिय रहँदै आएको पाइन्छ । १९९७ सालको काण्डमा शहीद हुने दशरथ चन्द, हलो क्रान्तिका भीमदत्त पन्त तथा अन्य युवा जनताको अधिकार र न्यायका लागि लड्दै आएको पाउँछौँ ।  

वि.सं. १९९६÷९७ मा राणाविरुद्धको आन्दोलन उत्कर्षमा पुगेको थियो । यो अन्दोलन काठमाडौँ केन्द्रित थियो । यसमा सुदूरपश्चिमअन्तर्गत बैतडीको भने विशेष भूमिका देखिन्छ । यस क्रान्तिका सर्जकमध्ये एक वीर सपूत दशरथ चन्द बैतडीका थिए । राणाहरूको अन्याय, अत्याचारको सीमा चरम चुलीमा पुगेपछि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत केही युवाले विद्रोह सुरु गरे । विद्रोही  यी युवामध्ये कसैलाई झुन्ड्याएर, कसैलाई गोली ठोकेर राणा शासकले मा¥यो । कसैलाई जन्मकैद गरियो । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ चार जना यो बेला शहीद हुन पुगे । दशरथ चन्दको शहादतको खबरले सुदूरपश्चिममा भने राणाविरुद्धको ठूलो असन्तुष्टि भुसको आगोसरह भित्रभित्रै सल्कियो । 

१९९७ सालमा भएको शहीद पर्वले राणाहरू भित्रभित्रै कमजोर बन्दै गइरहेका थिए भने नेपाली जनता आफ्नो हकअधिकार लिन जागरुक बन्दै गए । यही मेसोमा २००७ सालमा आन्दोलनकारीसँग मिलेर राजा त्रिभुवन गद्दी त्यागेर भारत पुग्नुभयो । यसले नेपालमा प्रजातन्त्र ल्याउन ठूलो मद्दत मिल्यो । प्रजातन्त्र प्राप्तिपछि बहुदलीय व्यवस्थाअन्तर्गत २०१५ सालमा आमनिर्वाचन भयो । सुदूरपश्चिमलाई ध्यानमा राख्दा यस निर्वाचनले पहिलो पटक डडेल्धुराको निर्वाचन क्षेत्र नं. ६६ बाट महिला सदस्य द्वारिकादेवी ठकुरानी निर्वाचित हुनुभयो । यस क्षेत्रका लागि यो उल्लेखनीय विषय पनि भयो । सांसद मात्र नभई उहाँ स्वास्थ्य सहायकमन्त्री बन्नु ऐतिहासिक घटना थियो । 

राणाकालको अन्तिम चरणमा सुदूरपश्चिमका केही ठाउँमा सरकारबाटै स्कुल खोल्ने काम भने भएको थियो । यसअघि गुरुपुरोहित कर्मकाण्डको शिक्षा लिन भारतका विभिन्न ठाउँमा जान्थे । अङ्ग्रेजी शिक्षासहितको यस क्षेत्रको पहिलो स्कुल २००४ सालमा बैतडीको तल्लो स्वराडको काडाँमा श्रीमणिलेख हाइस्कुल खुलेको थियो तर २००९ सालसम्म दलित समुदायले यहाँ पढ्न पाएका थिएनन् । भारतीय शिक्षकहरू आएपछि मात्र पढ्न पाएका थिए ।

यसैगरी कमराकमारी प्रथा चन्द्रशमशेरको पालामै समाप्त भएको घोषणा गरिए पनि यहाँका ठूला घरानियाँहरूले राखेका थिए । त्यसपछिका कानुनले गैरदलितभित्रका दमित जाति वा समुदाय जो कि ठकुरी, बाहुनको डोली बोक्ने र गोरु जोत्नेहरूले २०१५ सालपछि छाडेका थिए । यसपछि यो काम दलित समुदायले नै गर्नुपर्ने भयो । 

२००७ सालमा प्रजातन्त्र आए पनि झन्डै एक दशक राजनीतिक अवस्था अस्थिर रह्यो ।  २०१५ सालमा आमनिर्वाचन भयो । नेपाली काँग्रेसको सरकारले दुई तिहाइको जनमत पायो । विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो तर काम गर्न नपाउँदै राजा महेन्द्रबाट २०१७ सालमा यो सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्थाको सुरुवात भयो । प्रजातन्त्रको घाँटी निमोठियो । प्रजातन्त्रप्रेमी जनता आफ्नो हकअधिकारका लागि पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर लागिरहे । जेलनेल र कठोर सङ्घर्ष गरेर पञ्चायतविरुद्ध लागिरहे । फलस्वरूप २०३६ सालमा बहुदल कि निर्दल भनेर जनमतसङ्ग्रह भयो । बहुदल निर्दलको चुनावमा बहुदल पक्षधर ठूलो साहसका साथ पञ्चायतविरुद्ध लाग्यो । काठमाडौँलगायत सहरमा उच्च शिक्षा हासिल गर्न गएका सुदूरपश्चिमका विद्यार्थीमध्ये केही विद्यार्थी राजनीतिक चेत लिएर फर्के । प्राध्यापक आनन्ददेव भट्ट, चन्द्रदेव जोशी, रामसिंह रावललगायतले सुदूरपश्चिममा चेतना जगाउन ठूलो भूमिका निर्वाह गर्नुभयो तर एकतन्त्री पञ्चायती व्यवस्थाले राष्ट्रको ढुकुटी र तराईका वनजङ्गल विनाश गरेर जनमतसङ्ग्रहमा पञ्चलाई नै जितायो । यसले गर्दा पञ्चहरूको मनोबल बढ्यो । राजा र पैसा आफ्नो भयो भने जे गर्दा पनि हुन्छ भन्ने कुराबाट स्वार्थी तŒवहरू सलबलाए । मण्डले संस्कृतिले शैक्षिक तथा बौद्धिक क्षेत्र आक्रान्त हुन पुग्यो, जसको परिणाम २०४६ सालको जनआन्दोलनको आधार खडा भयो । 

देशका विभिन्न क्षेत्रमा बहुदलीय व्यवस्थाका पक्षधरलाई पञ्चहरूले दुःख दिने, अपमानित गर्ने क्रम निरन्तर बढ्दै गयो । विभिन्न राजनीतिक दलमा विभाजित नेपाली जनताले एकीकृत रूपको आन्दोलन नगरुन्जेल व्यवस्था परिवर्तन गर्न नसकिने कुराको बोध गरियो । संयुक्त आन्दोलन अपरिहार्य रहेको कुरा महसुस गरियो । मिल्नै नसकिने भनिएका कम्युनिस्ट र कांग्रेस मिल्न बाध्य भए ।  फलस्वरूप २०४६ फागुन ७ गते पञ्चायतविरुद्धको आन्दोलन सुरु भयो । आन्दोलनविरुद्ध पञ्चायती शासकले ठूलो बल प्रयोग ग¥यो । बल प्रयोग गर्दा आन्दोलनकारी घाइते भए । ज्यान पनि गुमाउन पुगे । फलस्वरूप २०४६ साल चैत २६ गते निर्दलीय पञ्चायती व्यवस्था खारेज गरी प्रजातन्त्र पुनर्बहाली भयो । 

प्रजातन्त्र पुनर्बहालीपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा वाम गठबन्धनबाट सहाना प्रधानलगायत नेता सहभागी भएका भए । यो सरकारले २०४७ सालको संविधान बनाएर २०४८ सालमा निर्वाचन गरायो । कांग्रेसले बहुमत ल्याएर सरकारको नेतृत्व ग-यो तर पार्टीभित्रको आन्तरिक मतभेदले यो सरकार तीन वर्षभन्दा माथि जान सकेन । मध्यावधि निर्वाचन भयो । ठूलो पार्टीको रूपमा एमालेले अल्पमतको सरकार बनायो र मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो । जनताको हितमा ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ जस्ता कार्यक्रम ल्याएर जनमुखी कार्य गर्दै जाँदा पनि नौ महिनामै प्रधानमन्त्री मनमोहन अधिकारी राजीनामा दिन बाध्य हुनुभयो । यसपछि नेपालको संसदीय व्यवस्थामा के–कस्ता विकृति र विसङ्गति देखा परे, त्यो जगजाहेर नै छ ।  

२०५२ सालदेखि २०६२ सालसम्म सशस्त्र सङ्घर्ष भयो । २०६२÷६३ मा ऐतिहासिक जनआन्दोलन भयो । यस आन्दोलनपछि देशमा गणतन्त्र र शान्ति स्थापाना भयो । लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन र बलिदानले नै २०७२ सालमा नेपालको संविधान संविधान सभाले बनायो । यसले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरेको छ । आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरेको छ । समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त अपनाएको छ । राज्यका सबै निकायमा सबै वर्गका समानुपातिक, समावेशी सहभागिता भएको छ । यो ऐतिहासिक उपलब्धि हो । 

भीमदत्त पन्तको विद्रोह वि.सं. १९८३ मङ्सिर १० गते डडेल्धुराको कारी गाउँमा जन्मिएका भीमदत्त पन्त सुदूरपश्चिमका प्रजातान्त्रिक आन्दोलनका एक योद्धा हुनुहुन्छ । गाउँघरका शोषक, सामन्त, ठालु, फटाहा, विभेदकारीको अन्त्य गरी न्यायपूर्ण समाज र राज्य व्यवस्था कायम गर्ने नीति र सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्थ्यो । मधेश र पहाडका श्रमजीवीलाई साथ लिएर आफ्ना क्रान्तिकारी गीतहरूबाट हलोको बिँड नसमात्ने भूमिपतिहरूलाई आतङ्कित पार्ने र शताब्दीयौँदेखिका हलिया र कमैयालाई क्रान्तिमा होमिन उहाँ उत्प्रेरित गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो–

कि त जोत हलो कि त छोड थलोयदि होइन भने अब छैन भलो । 

किसान नेता भीमदत्त पन्तको किसान आन्दोलनको मुख्य नारा हो यो । सामन्ती भूमि व्यवस्था र विभेदकारी जाति समाजको आमूल परिवर्तनमा उहाँ लागिरहनुभयो । श्रीकान्त अधिकारी २००६ साल साउन ११ गते लमजुङको दुराडाँडामा हलो जोतेर क्रान्ति गर्ने उपाध्याय पण्डितमध्येका एक अगुवा हुनुहुन्थ्यो । उहाँ वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसबाट जितेर सांसद पनि बन्नुभएको थियो ।