• १३ साउन २०८१, आइतबार

अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ : मन्त्री किराती

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थको अनुगमन गर्नुहुँदै । तस्बिर : अर्जुन काफ्ले

रमेश पौडेल/अर्जुन काफ्ले
पोखरा, फागुन ४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्नका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ ।

पोखरा विमानस्थलमा बिहीबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीन र भारतको कोलकोत्तासहित विभिन्न सहरहरूमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो ।

गत पुस १७ गते भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भएका बताउनुहुँदै मन्त्री किरातीले पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरिएकाले चाँडै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको मन्त्री किरातीको भनाइ छ ।

नेपालका सबै विमानस्थलहरू दैनिक १५ घण्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीहरूलाई विजेनश प्लान ल्याउन आग्रह गरेको जानकारी दिनुभयो ।

पर्यटनमन्त्री किरातीले पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतङ्क रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेकाले आफू सोही कम्पनीको जहाज चढेर पोखरा आएको बताउनुभयो । जुन एयरलाइन्सको विमान दुर्घटना भयो त्यही कम्पनीको जहाज चढेर भयभीत मनोविज्ञानलाई सम्बोधन गरेको उहाँको भनाइ थियो ।

विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको छानबिन समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी हिजोमात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किरातीले जानकारी दिनुभयो । यस्तै, मन्त्री किरातीले विमानस्थलको निरीक्षण समेत गर्नुभएको थियो । मन्त्री किरातीले बिहीबारै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, नेपाल ट्रष्टको अवलोकनका साथै टुरिजम बोर्डको कार्यक्रममा सहभागी हुनु भएको थियो ।