• २३ वैशाख २०८१, आइतबार

अमेरिकामा भारतीय मूलकी हेली राष्ट्रपतिका उम्मेदवार

blog

निक्की हेली ।

कृष्णराज खनालराले (अमेरिका) फागुन, ३ गते । । रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गर्नुभएको छ । 

सोही पार्टीका तर्फबाट करिब तीन महिनाअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक घोषणा गरिसक्नुभएको छ । मङ्गलबार आयोजित कार्यक्रममा ५१ वर्षीया हेलीले वाशिंटन बारम्वार अनुत्तीर्ण भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो नयाँ पुस्ताको नेतृत्व लिने समय हो । आर्थिक उत्तरदायित्वको पुनः खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा जोड दिनुपर्छ ।’’

हेलीको खास नाम निम्रता निक्की रान्धवा हेली हो । हेली भारतीय सिख सम्प्रदायका अजित सिंह रान्धवा र राजकौर रान्धवाकी पुत्री हुनुहुन्छ । उहाँको जन्म साउथ क्यारोलिनामा भएको हो र उहाँले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गर्नुभएको हो । लगत्तै उहाँले क्रिस्चियन धर्म अँगाल्नुभएको हो । 

हेलीले साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर गर्नुभएको छ । सन् २००४ देखि राजनीतिमा पाइला टेक्नुभएकी हेलीले सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको राजदूत पद पनि सम्हालिसक्नुभएको छ ।

सन् २०१० मा गभर्नर निर्वाचित हुँदा उहाँ अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नर बन्नुभएको थियो । नागरिक अधिकारका लागि सङ्घर्षरत हेलीसँग विभिन्न वाणिज्य सङ्घहरुमा रहेर काम गरेको लामो अनुभव छ ।  

यो घोषणाको केही समयपछि नै फ्लोरिडाका गभर्नर डि सान्टिस र पूर्व उपराष्ट्रपति माइक पेन्स, परराष्ट्र मन्त्री माइक पम्पेओले पनि उम्मेदवार घोषणा गर्ने चर्चा चुलिएको छ । यी सबैजनाको उम्मेदवारीले ट्रम्पलाई फाइदा पुग्ने बताइएको छ । 


Author
कृष्णराज खनाल

पत्रकार खनाल अमेरिकामा बसेर गोरखापत्र अनलाइनका लागि समाचार लेख्नु हुन्छ ।