• १३ असोज २०८१, आइतबार

शिक्षक नहुँदा पढाइ प्रभावित

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, फागुन ३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको हो। 

प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालित उक्त विद्यालयमा करिब दुई वर्षदेखि गणित विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित हुँदै आएको हो। विषय शिक्षक नभएकै कारण कक्षा ६–८ को अनिवार्य गणित र कक्षा ९ र १० को अनिवार्य तथा ऐच्छिक गणित विषयको पढाइ प्रभावित हुँदै आएको विद्यालयकी प्रधानाध्यापक सलिना तामाङले बताउनुभयो। 

प्रधानाध्यापक तामाङका अनुसार तत्कालीन विषय शिक्षक शान्तिराम मिश्रलाई विद्यालय व्यवस्थापन समितिले बर्खास्त गरेपछि रिक्त रहेको ठाउँमा शिक्षक पदपूर्ति भएको छैन। निम्न माध्यमिक तहका राहत करार दरबन्दीका शिक्षक मिश्रलाई विद्यालयमा अनुपस्थित रहेको साथै उपस्थित भएर पनि अध्यापन नगरेको आरोपमा गत २०७८ चैत ५ गते समितिले बर्खास्त गरेको थियो। 

शिक्षक पदबाट बर्खास्त गर्नुभन्दा करिब एक वर्षअघिदेखि नै मिश्र विद्यालय नजाने र नपढाउने गरेकाले बर्खास्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर लिङ्देनले जानकारी दिनुभयो। अध्यक्ष लिम्बूका अनुसार तत्कालीन शिक्षक मिश्रलाई बर्खास्त गर्नुअघि एक वर्ष र बर्खास्त गरेपछि एक वर्ष गरी दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको छ। 

मिश्रको बर्खास्तपछि रिक्त पदमा समयमै शिक्षक पदपूर्ति गर्ने गरी प्रक्रिया अघि बढाइएको भए पनि गाउँपालिकाका वर्तमान नेतृत्वका कारण अहिलेसम्म प्रक्रिया पूरा हुन नसकेको विद्यालयले जनाएको छ। विद्यालयले पछिल्लो अवस्थाबारे सदरमुकाम फुङ्लिङमा आएर सोमबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका नेतृत्वका कारण पढाइ तहसनहस भएको आरोप लगाएको छ। 

शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाउने सम्बन्धित गाउँपालिका शिक्षा शाखा र जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमार्फत आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन खुलाए पनि पालिका नेतृत्वले रोकेका कारण हालसम्म पदपूर्ति हुन नसकेको विद्यालयले जनाएको छ। विज्ञापनमार्फत परीक्षा गराएर शिक्षक पदपूर्ति गर्नेतर्फ गाउँपालिकाले सहयोग गर्नुको सट्टा दरबन्दी नै कटौती गरी बर्खास्त गरिएका शिक्षक मिश्रलाई अन्य विद्यालयमा पदस्थापनको पहल भइरहेको छ। 

गाउँपालिका अध्यक्ष मानबहादुर राईको एकल हस्तक्षेपमा अवैधानिक र गैरकानुनी रूपमा मिश्रलाई पदस्थापन गर्नेगरी सुरु गरिएको प्रक्रियाविरुद्ध आफूहरूले सदरमुकामसम्म आएर पत्रकार सम्मेलन गर्नुपरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिङ्देनले बताउनुभयो। विद्यार्थीको पढाइमाथि खेलबाड र उनीहरूको भविश्य नै बिगार्ने खालको पालिका अध्यक्ष राईले गरेको गैरकानुनी कार्य सच्याउनुपर्ने साबिक दरबन्दी कायम गरी शिक्षक व्यवस्था गर्न विद्यालयले माग गरेको छ। 

विषय शिक्षक नभएपछि दुई वर्षयता जनसङ्ख्या तथा अङ्ग्रेजी विषयका शिक्षकले कक्षा ६–८को गणित विषयको अध्यापन गराउँदै आउनुभएको प्रधानाध्यापक तामाङले बताउनुभयो। त्यस्तै कक्षा ९ र १० को गणित ऐच्छिकसमेत विज्ञान विषयका शिक्षकले पढाइ राख्नुभएको उहाँले जानकारी दिनुभयो। विद्यालयका अनुसार रिक्त पदमा पदपूर्ति गर्न खुलाएको विज्ञापनमा भने तीन जनाले आवेदन दिएका थिए। सो विद्यालयमा हाल १५४ जना विद्यार्थी अध्ययनरत रहेका बताइएको छ।