• १३ असोज २०८१, आइतबार

डिजेल महँगिएपछि चिया उद्योग बन्द

blog

कविराज घिमिरे

हिले, फागुन ३ गते । चियामा राम्रो भविष्य देखेर २०५५ सालमा धनकुटाको पाख्रिबास नगरपालिका–७, राम्चेका कृषकले चियाखेती सुरु गरे । चिया लगाएको केही वर्षपछि उत्पादन पनि हुन थाल्यो, सँगै बजारबाट माग पनि आउन थाल्यो । 

धनकुटाको हिलेमा स्थापना भएका चिया उद्योगले बर्सेनि चिया खरिद गर्छन् भन्ने आशा थियो राम्चेवासीको । केही वर्षसम्म त स्थानीय उद्योगले राम्रै मूल्यमा खरिदसमेत गरे । तर, आफ्नै पत्ती उत्पादन हुन थालेपछि विभिन्न बहाना देखाउँदै उद्योगले हरियो पत्ती खरिद गर्न आनाकानी गर्न थाले । जसको मारमा राम्चेका चिया कृषक परे । हरियो पत्ती बिक्नै छाड्यो । 

आफ्नो उत्पादन बिक्री हुन छाडेपछि कृषकले सहकारी गठन गरी सहकारीमार्फत चिया उद्योग सञ्चालनमा ल्याउने निर्णय गरे । गाउँघरमै केही भए पनि अर्गानिक चिया उत्पादन सुरु गरे । तर, हरियो पत्ती धेरै उत्पादन भइरहेकाले उद्योग स्थापना नगरी व्यवस्थापन गर्न सहज भएन । त्यसैले स्थानीयले उद्योग स्थापना गर्ने निर्णय गरे । तर, अहिले त्यही उद्योग पनि सञ्चालन हुन नसक्दा चिया कृषक समस्यामा परेका छन् ।

 राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको चिया उद्योग बन्द भएको लामो समय बितेको छ । करिब दुई वर्षदेखि आर्थिक अभावको कारण देखाउँदै चिया उद्योग बन्द भएको हो । चिया उद्योग करिब एक करोड ८० लाखको लगानीमा निर्माण गरी २०७० सालबाट सञ्चालनमा ल्याइएको थियो । उद्योगको मेसिन सञ्चालन गर्न विद्युत्को पहुँच नपुगेको र जेनेरेटरबाट सञ्चालन गर्दा डिजेलको मूल्य बढेपछि सञ्चालनमा समस्या आएको हो । चिया उद्योगमा विद्युतीय ट्रान्समिटर उपलब्ध भए सञ्चालनमा आउने राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाका सचिव तारा कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै दुःखले सबै व्यवस्थापन गर्यौं । कतै सहयोग माग्दै कतै आफैँ सहकारीमार्फत पैसा उठाउँदै उद्योग स्थापना गर्यौं तर अहिले सञ्चालन गर्न समस्या भयो ।” 

पेट्रोलियम पदार्थबाट चलाउने गरी सञ्चालन गरिएको उद्योग पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सञ्चालन गर्न समस्या भएको हो । पुनः विद्युत्बाट सञ्चालन गर्ने गरी तयारी त गरिएको छ तर पैसा नपुगेर ट्रान्समिटर जोड्न नपाएर उद्योग सञ्चालन गर्न नसकिएको सचिव कार्कीले जानकारी दिनुभयो । सहयोगी संस्थासँग सहयोग माग गरिए पनि सहयोग नपाएको उहाँको गुनासो छ ।

चिया उद्योग बन्द भएसँगै पाख्रिवास क्षेत्रका ५० भन्दा बढी परिवारले करिब एक हजार ५०० रोपनी क्षेत्रफलमा लगाएको चिया दई वर्षयता टिपिएको छैन । सञ्चालनमा हुँदा यो चिया उद्योगमा ग्रिन टी, ब्ल्याक टी र ह्वाइट टीलगायतका विशेष चिया उत्पादन हुँदै आएको थियो । चिया नटिप्दा चिया बगान जङ्गलमा परिणत हुँदै गएको कृषक धनबहादुर बस्नेतको गुनासो छ । स्थानीयको रोजिरोटीसँग जोडिएको चिया उद्योग सञ्चालनमा स्थानीय तह तथा सरकारले पनि चासो नदिएको उहाँको भनाइ छ । आफैँले स्थापना गरेको उद्योग सञ्चालन गर्न नसकेको अनि ठूला उद्योगले विभिन्न बहानामा हरियो पत्ती किन्न छाडेपछि राम्चेका कृषक समस्या छन् ।