• ८ पुस २०८१, सोमबार

स्वास्थ्य पहुँचमा ल्याइने

blog

जुम्ला समाचारदाता

जुम्ला, फागुन १ गते । जिल्लाको पातारासी गाउँपालिकाले पालिकावासीलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकलाई स्वास्थ्य बीमा गर्न सुरु गरेको छ। गाउँपालिकाले दुई जनालाई एमबीबीएस अध्ययनका लागि सहयोग गर्ने जनाएको छ। यसका लागि गाउँपालिकाले एक जनालाई सात लाख रुपियाँ प्रदान गरेको छ। 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार पातारासी गाउपालिका–४ का नवीन रेउलेलाई एमबीबीएस अध्ययनका लागि रकम प्रदान गरिएको हो। रेउलेले गाउँपालिकाको सहयोगमा रूपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहनुभएको छ। यस्तै गाउँपालिकाले छुमचौरमा धान उत्पादन बढाउन सङ्घीय सरकारको योजनालाई निरन्तरता दिन पहल भइरहेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहरा र उपाध्यक्ष जनमाया रोकायाले छुमचौर घेरबार योजनाको बजेट विनियोजन गर्न पहल गरिरहेको बताउनुभयो। 

पातारासीकै उच्च स्थान लोटचौरमा हाई अल्टिच्युट खेलकुद तालिम केन्द्रका लागि ५० लाख रुपियाँ गाउँपालिकाको पहलमा सङ्घीय सरकारले विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो। पातारासीमा नुनको डिपो राख्न पहल भइरहेको छ।