• १३ असोज २०८१, आइतबार

गाउँमै प्रसूति केन्द्र

blog

कविराज घिमिरे 

हिले, फागुन १ गते । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउन दक्ष अनमि थप गरेर प्रसूति सेवा सुरु गराएको हो । 

प्रसूति गराउन धनकुटा अस्पताल धाउने गरेका भीरगाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर बर्थिङ सेन्टर सञ्चालन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।

अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ । गाउँमै प्रसूति सेवा सुरु भएपछि भीरगाउँबासी हर्षित छन् । पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । 

स्वास्थ्य चौकीमा प्रसूति गराउनेहरुलाई यातायात खर्च वापत दुई हजार रुपियाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप आठ सय रुपियाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउने गरिएको स्वास्थ्य चौकी प्रमुख नितेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै धनकुटा नगरपालिकामा जिल्ला अस्पताल बाहेक दुई वटा बर्थिङ सेन्टर भएका छन् । बेलहारा स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गरिँदै आएको छ । धनकुटा नगरपालिकाका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी पनि भइरहेको नगरपालिकाको स्वास्थ्य उपशाखाका प्रमुख भोजराज भण्डारीले बताउनुभयो ।