• १३ असोज २०८१, आइतबार

पूर्वाधार निर्माण उच्च प्राथमिकतामा

blog

गाईघाट समाचारदाता

गाईघाट, फागुन १ गते । प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले विकासको मेरुदण्ड भनेकै सडक र पक्की पुल भएकाले प्रदेश १ सरकार अब भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभएको छ। 

सङ्घ, प्रदेश र स्थानीय तहहरूका बीचमा आपसी सहकार्य र समन्वय नहुँदा एउटै कामका लागि तीनतिर बजेट विनियोजन हुनसक्ने र त्यसो हुँदा अन्य कतिपय महत्वपूर्ण काममा रकम अभाव हुनसक्ने भएकाले प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गरेर योजनालाई अगाडि बढाउने नीति अगाडि सारेको मन्त्री चापागाईंले बताउनुभएको छ। उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ स्थित बाउन्न खोला र बलान खोलामा निर्माण सम्पन्न गरिएको ‘आरसीसी पायल फाउन्डेसन डिजाइन’का दुई छुट्टाछुट्टै मोटरेबल पक्की पुलको उद्घाटन गर्दै सडक पूर्वाधार तथा सहरी विकासमन्त्री चापागाईंले सो कुरा बताउनुभएको हो।

उहाँले प्रदेश सरकार सडक पूर्वाधार मन्त्रालयबाट अघिल्लो वर्ष विनियोजन भएको करिब २६ करोड रुपियाँको लागतमा सञ्चालित उदयपुरगढी गाउँपालिका–७ स्थित कोल्टे बागखोर चुरुम्फा लिम्चुङबुङ हलेसी बहुवर्षीय सडक निर्माणमा भइरहेको कामको स्थलगत रूपमा समीक्षा गरी आगामी वर्षको बजेटमा कालोपत्रे गर्न सक्ने गरी प्राथमिकता दिइने पनि बताउनुभयो।

मन्त्री चापागाईंले विकास निर्माणका काममा दलीय राजनीतिक खिचलो हुन नहुने भन्दै विकासको प्रतिफल आमजनतामा पु-याउन सबै पक्षको सकारात्मक सहयोगको खाँचो हुने बताउनुभयो। 

अन्तरप्रदेश जोड्ने सडकअन्तर्गत उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ को कोल्टे बागखोर चुरुम्फा लिम्चुङबुङ हलेसी वहुवर्षीय सडकमा पर्ने बलान खोलामा प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत क्रमशः पाँच करोड १७ लाख ७७ हजार रुपियाँको लागतमा एक स्पानको ३७ मिटर लामो सो मोटरेबल पक्की पुल  निर्माण सम्पन्न गरिएको हो।

त्यसैगरी बाउन्न खोलामा १० करोड ४३ लाख ८७ हजार रुपियाँको लागतमा दुई स्पानको ७२ मिटर लम्बाइ र आठ मिटर चौडाइको पुल निर्माण सम्पन्न भएको छ। पुल उद्घाटन समारोहमा सो क्षेत्रका प्रदेश सभा सदस्य नारायण बुर्जामगरले यो सडक प्रदेश २ को सिरहाबाट सुरु भई सोलुखुम्बुसम्म जोडिन सक्ने भएकाले प्रदेश १ को सरकारले यसलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो।