• १३ साउन २०८१, आइतबार

पर्यटक बढाउन स्थानीयको चासो

blog

गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, फागुन १ गते  । गुल्मी जिल्लामा प्राकृतिक र मानव निर्मित पर्यटकीय संरचनाहरु दिनप्रति दिन बढ्दै गएतापनि यहाँ आउँने पर्यटकहरुको संख्यामा निकै कमी देखिएको छ । तीनै तहका सरकारको सक्रियतामा पर्यटकीय स्थलको वृद्धि हुँदा पनि जिल्लामा आउँने पर्यटकहरु निकै कम हुँदा यहाँका स्थानीयले निकै चासो देखाएको छन् । 

तम्घासका युवा पर्यटन व्यवसायी सुदर्शन खनालले पर्यटकिय पुर्वाधारहरु आवश्यक होटल, सडक, सुरक्षा र साहसिक खेलहरूमा लगानी बढाउन सके पर्यटक बढाउन सकिने बताउनुभयो । “पर्यटक वृद्धि गर्नेतर्फ स्थानीय सरकारको नीतिको पनि  उत्तिकै आवश्यक छ ।” उहाँले भन्नुभयो,“यस जिल्लाका स्थानीय सरकारले पर्यटकीय संरचनाहरुको निर्माणसँगै पर्यटक वृद्धिमा पनि ध्यान दिन जरुरी छ ।” 

धार्मिक पर्यटकका लागि मनोकांक्षा पूरा हुने ठानिएका गुल्मीका महत्वपूर्ण मन्दिरहरु तम्घासस्थान सिद्धबाबाको महत्वलाई उजागर गर्न सकेमा धार्मिक पर्यटकको संख्यामा समेत वृद्धि हुने उहाँले बताउनुभयो । 

रेसुङ्गा नगरपालिका– ८ की बिमला श्रेष्ठ र धुर्कोट गाउँपालिका– ६ का हरि घिमिरेले बाटाघाटाको राम्रो संरक्षण र सुविधाजनक होटलको व्यवस्था भएमा पर्यटक बढ्न सक्ने बताउनुभयो । जिल्ला सदरमुकामबाट पर्यटकीय संरचनासम्म जानको लागि यातायातको राम्रो व्यवस्था हुनुपर्ने उहाँहरुको भनाई छ । गुल्मीका पर्यटकीय स्थलमा अथाह सम्भावना रहेकोले व्यवस्थित गरेर आन्तारिक र बाहिरी पर्यटक पनि भित्र्याउन सकिने घिमिरे बताउनुभयो ।  

रेसुङ्गा नगरपालिका–९ का बालकृष्ण बरालले टावर र मन्दिरको संरचनाले मात्र पर्यटक नबढ्ने भन्दै व्यवस्थित हुनुपर्ने बताउनुभयो । विज्ञसँग सुझाव लिएर पर्यटकीय स्थल व्यवस्थित गरेर पर्यटक बढाउनुपर्ने उहाँको भनाई छ । रेसुङ्गा नगरपालिका–७ की अञ्जु पन्थीले पर्यटकको सङ्ख्या बढाउनको लागि सुरक्षित सडकसँगै यस जिल्लामा रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा पनि पर्यटक बढ्ने बताउनुभयो । 

यहाँ ऐतिहासिक धार्मिक क्षेत्र रेसुङ्गा, नेपालका चार धाम मध्येको एक रुरुक्षेत्र धाम, अर्जुन डाँडा, रेसुङ्गाको गर्जुरामा निर्मित रेसुङ्गा पार्क, भुवने डाँडा मन्दिर, नेपालकै प्रसिद्ध बिचित्र गुफा, चोयगा मन्दिर, भार्से लेक, कालीगण्डकी क्षेत्र, टिमुरे ताल, मुसिकोट दरबार, इस्मा दरबार, धुर्कोट सहिद पार्क, कङ्के देउराली र मालिका क्षेत्र लगायत अझै थुप्रै घुम्न लायक महत्वपूर्ण पर्यटकीय स्थलहरु छन् ।