• १३ असोज २०८१, आइतबार

तोरी किन्न उपभोक्ता खेतबारीमा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १ गते । शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ता किसानको खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । मोरङको कानेपोखरी गाउँपालिकाले सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रमअन्तर्गत तोरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । ५० प्रतिशत अनुदानमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत गाउँपालिकामा ५६ बिघामा तोरी खेती भएको छ । साना किसानका लागि लक्षित तोरी उत्पादन कार्यक्रमबाट मात्र होइन । व्यावसायिक किसानले पनि गहुँ खेती घटाएर तोरी लगाएका छन् । यसले गर्दा कानेपाखेरी गाउँपालिका क्षेत्रमा तोरीको उत्पादन विगत वर्षको तुलनामा दोब्बर भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलले जानकारी दिनुभयो । 

पौडेलका अनुसार कानेपोखरी गाउँपालिकामा तीन हजार पाँच सय हेक्टर जग्गामा तोरी खेती भएको छ । सामान्यतः प्रतिहेक्टर २७ देखि ३० मन तोरी उत्पादन हुने पौडेलको भनाइ छ । 

कानेपोखरी–३, हरकपुरका किसान हेमचन्द्र भण्डारीले साढे तीन बिघामा तोरी खेती गर्नुभएको छ । उहाँले २५ मन खेतबाटै बिक्री भइसकेको जानकारी दिनुभयो । अहिले धमाधम तोरी उखेल्ने क्रम चलिरहेको छ । “दिनैजसो तोरी किन्ने खेतमै आइपुग्छन् र पेस्की नगद छोडेर जान्छन्,” 

भण्डारीले भन्नुभयो। अर्का किसान जर्मेन टुडूले डेढ बिघामा तोरी लगाउनुभएको छ । आफ्नो जमिन नभएका जर्मेनले अधियाँमा आउने १० मनजति तोरी बिक्री गरिसकेको बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रमअन्तर्गत तोरी पकेट कार्यक्रम वडा नं. १ को नहरटोलमा सञ्चालन भएको छ । जुनतारा कृषक समूहका २६ किसानले १८ बिघामा लगाएको तोरी उत्पादनका दृष्टि राम्रो रहेको कृषि शाखा प्रमुुख सागर पौडेलले बताउनुभयो । त्यस्तै मेहनती कृषि सहकारी संस्थाका ५५ किसानले ३८ बिघामा तोरी खेती गरेका छन् । 

कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले किसानले उत्पादन गरेको तोरी ब्रान्डिङ गर्न यो वर्ष गाउँपालिकाले किसानलाई सात हजार बोरा निःशुल्क वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । 

“कानेपोखरीका किसानले उत्पादन गरेको तोरी जहाँ पुगे पनि हाम्रो गाउँपालिकाको स्टिकर लागेकोे बोरामा पुगोस् भन्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले गाउँपालिकाले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेका जानकारी दिनुभयो । 

“हामीले कृषि उत्पादन, दूध र पशुपालन कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ । ससर्त अनुदानको १२ लाख रुपियाँले तोरी खेती विस्तार र उत्पादनमा वृद्धि भएको छ । अब तोरी र मकैको जोन घोषणा गरी उत्पादन बढाउने कार्यक्रम अघि बढाउँछौँ,” उहाँले भन्नभयो ।