• १३ साउन २०८१, आइतबार

बुटवलमा फागुन २ देखि कृषि मेला आयोजना हुँदै

blog

छविलाल पाण्डे 

बुटवल, माघ २९ गते । बुटवलमा फागुनको २ देखि ६ गतेसम्म सञ्चालन हुन गइरहेको  ११ औँ संस्करणको कृषि मेलामा विशेष आकर्षणको रूपमा पोर्क फेस्टिवल हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गर्न लागिएको कृषि मेलामा पोर्क फेस्टिवललाई प्राथमिकता दिइएको हो । 

मेलाबारेमा जानकारी गराउन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कृषि मेला मूल समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले गैर नाफामूलक मेलामा ५० वटा स्टल रहने तथा करिब २५ हजारले अवलोकन गर्ने लक्ष्य लिइएको बताउनुभयो । 

कृषि बस्तुको प्रवर्धन तथा विविधीकरण गर्ने माध्यमको रूपमा खाद्य परिकारको प्रवर्धन पनि एउटा माध्यम भएकाले कृषि मेलामा पोर्क (बङ्गुर) का परिकारसहितको फेस्टिवल आयोजना गरिएको उहाँले बताउनुभयो । त्यसबाहेक च्याउ, दुग्ध, कोदो तथा माछाका परिकार पनि मेलामा राखिने छ ।

खाने प्रवृत्तिको विकासले स्थानीय कृषिबस्तुको प्रवर्द्धन गर्नुको साथै पोषणमा सुधार र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मेलामा १३ वटा स्टल पोर्क फेस्टिवलको लागि छुट्याइएको छ । जसमा ९ प्रकारका चाइनिजसहित बङ्गुरको मासुबाट बनेका २१ परिकार पस्किने बङ्गुर व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष लिलाबहादुर सुर्यवंसीले जानकारी गराउनुभयो । 

त्यस्तै कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ ।