• १३ असोज २०८१, आइतबार

ओखलढुङ्गाबाटै अब सवारीचालक अनुमतीपत्र

blog

शेरबहादुर राई

ओखलढुङ्गा, माघ २९ गते । पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाबाटै अब सवारीचालक अनुमतिपत्र वितरण हुनेभएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका –४ रुम्जाटारमा स्थापना गरिएको रुम्जाटार यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न लागिएको हो । 

दुई वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाबाट सवारी चालक अनुमतिपत्र वितरणका लागि अनलाइन फारम खुला गरिएको कार्यालय प्रमुख गोपाल दाहालले बताउनुभयो । सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरणको सबै तयारी पूरा भएको यातायात व्यवस्था विभागले रुम्जाटारबाट लाइसेन्स जारी गर्नेगरी अनलाइन फारम खुला गरेको प्रमुख दाहालको भनाइ छ । 

दुई वर्षदेखि कार्यालयले ड्राइभिङ लाइसेन्स जारी गर्ने बाहेक, सवारी दर्ता, नवीकरण, नामसारी, रुट परमिट जारीलगायतको काम गर्दैआएको थियो । ओखलढुङ्गा र आसपासका जिल्लाका नागरिकलाई लक्षित गरेर ओखलढुङ्गाको रुम्जाटारमा प्रदेश १ का पूर्व भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङको पहलमा यातायात कार्यालय स्थापना भएको थियो । 

यातायातसम्बन्धी कामका लागि यसअघि ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङलगायतका आसपासका नागरिकहरू मधेश प्रदेश र बागमती प्रदेश धाउनुपर्ने बाध्यताको अन्त्य भएको पूर्वमन्त्री गुरुङले बताउनुभयो । ओखलढुङ्गाबाट सवारी लाइसेन्स जारीसहित यातायातका सम्पूर्ण काममा नागरिकलाई सहज बनाउने आफ्नो सपना पूरा भएको उहाँको भनाइ छ । २०७७ फागुन १४ गतेबाट रुम्जाटारमा स्थापना भएको यातायात कार्यालयले नागरिकलाई सेवा दिन थालेको थियो ।