• १३ असोज २०८१, आइतबार

एक जना कर्मचारीले धानेको विकास बोर्ड कार्यालय

blog

धनकुटाको हिलेस्थित राष्ट्रिय चिया तथा कफीको बिकास बोर्डको कार्यलय । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, माघ २९ गते । राष्ट्रिय चिया तथा कफीको विकास बोर्डको हिलेस्थित कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले कार्यालय लेखा प्रमुखले मात्र चलाउनु भएको छ । अन्य कुनै कर्मचारी उपस्थित हुनुहुन्न । लामो समयदेखि कार्यालय प्रमुखविहीन छ । लेखा प्रमुख वसन्तराज भण्डारीलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । 

चिया तथा कफीको बिस्तार र विकास गर्ने उद्देश्यले धनकुटाको हिलेमा २०४१ सालमा चिया तथा कफी विकास बोर्ड अन्तर्गतको कार्यालय स्थापना गरिएको थियो । केही समय राम्रैसँग सेवा प्रवाह भयो तर पछिल्लो समय दरबन्दीअनुसारको कर्मचारी नहुँदा तथा भएका कर्मचारी समेत काजमा अन्यत्र जाँदा कार्यालयले प्रवाह गर्ने सेवा प्रवाह त छोडौँ दैनिक कार्यालय खोल्न समेत समस्या हुनेगरेको स्थानीयको बुझाइ छ । 

दुई जना कृषि प्राविधिकको दरबन्दी रहेको कार्यालयमा एक जनाको पद खाली छ । अर्को कृषि प्राविधिक रेनु कैला काजमा प्युठानमा हुनुहुन्छ । त्यस्तै फिल्ड सहायक पदका कर्मचारी अवकाशपछि अर्को कर्मचारी समेत कार्यालयले पाएको छैन । कार्यालय सहयोगी पदका दिनेशप्रसाद बर्मा पनि काजमा काठमाडौँमा रहनुभएको छ । 

तेह्रथुम कार्यालयका लेखापाल रामकुमार आङ्गदेम्बेलाई हिले र तेह्रथुमस्थित कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ । “मलाई दुई जिल्ला हेर्नेगरी जिम्मेवारी दिइएको छ । आधा यता रहन्छु, आधा उता रहन्छु” आङ्गदेम्बेले भन्नुभयो । दोहोरो जिम्मेवारी पाएका आङ्गदेम्बे तेह्रथुममा हुने तथा कार्यालयका निमित्त प्रमुख वसन्तकुमार राजभण्डारी बढी समय फिल्डमै रहने हुँदा कार्यालय प्राय बन्द रहने गरेको छ । 

कर्मचारी नहुनु तथा अझ प्राविधिक नहुँदा चिया तथा कफीको बारेमा जानकारी लिन नपाएको जिल्ला कफी व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष युवराज दर्नालको भनाइ छ ।  “कफिको क्षेत्र बर्सेनि बढिरहेको छ कृषकलाई विभिन्न प्राविधिक सेवा सल्लाह चाहिन्छ तर सल्लाह र सेवा दिने कार्यालयमा न त प्राविधिक छन्, त कर्मचारी नै छन्” दर्नालले भन्नुभयो । 

हिलेमा चिया विकास तथा बिस्तारका लागि कार्यालय स्थापना भए पनि आफूहरूका लागि कुनै काम नै नगरेको धनकुटा पाख्रिवासका चिया कृषक तारा कार्कीले गुनासो गर्नुभयो ।  “कार्यालयमा प्राविधिक छैनन् जानकारी कोसँग लिने अलिअलि आएका कार्यक्रम पनि पुरानै खाकाका छन्, नबिनतम केही हुँदैन” कार्कीले भन्नुभयो ।