• ३० वैशाख २०८२, मङ्गलबार

एक महिनामा सात सय क्विन्टलको व्यापार

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, माघ १४ गते । मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ ।

धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।” 

यस हिसाबले महिनामा आठ दिन अत्यधिक भीडभाडको धनुषाधाम मेला भर्न धनुषा, महोत्तरी, सर्लाही, रौतहट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने गरेको स्थानीय पसले श्याम साहले बताउनुभयो । नेपालबाहेक भारतको सीतामढी, भिट्टामोड, सुरसण्ड, मधुवनी, दरभङ्गा, पटना, अयोध्याबाट पनि श्रद्धालु भक्तजन आउने गरेका छन् ।

धनुषाधामको मेला भर्न आउने जोकोहीले यहाँबाट कस्तो कोसेली (सनेस) लिएर घर फर्किन्छन् भने सुन्दा आश्चर्य लाग्न सक्छ । यहाँको कोसेली सामान्य लागे पनि आफ्नै महत्व रहेको छ । धनुषा सबैलाका रामकुमार साहले पुस्तौँदेखि यो मेलाबाट कोसेलीमा तेजपात (पतरक) अनिवार्य लिएर घर फर्किने गरेको बताउनुभयो । 

मेला भर्न आएका सप्तरीका राजकुमार यादवले प्रत्येक वर्ष यस मेलाबाट वर्षभरि आवश्यक पर्ने तेजपात खरिद गरी लैजाने गरेको बताउनुभयो । आफूसँगै आउनुभएका सबैजसोले तेजपात किनेको उहाँले बताउनुभयो ।

तेजपात कोसेली 

मेलामा तेजपातका लागि छुट्टै बजार लाग्ने गरेको छ । त्यहाँ तीन जना तेजपातका मुख्य व्यापारीले छुट्टाछुट्टै व्यापार गर्दै आएका छन् । उदयपुर जिल्लाबाट तेजपात ट्रकमा ल्याएर भण्डारण गरी खुद्रा व्यापारीलाई बेच्ने गरेको थोक बिक्रेता रामजतन साहले जानकारी दिनुभयो । 

२५ वर्षदेखि धनुषाधाममा तेजपातको थोक व्यापार गर्दै आउनुभएको उहाँले भन्नुभयो, “मेला अवधिभर २४–२५ ट्रक तेजपात बिक्री हुन्छ । एक ट्रकमा औसतमा २५–३० क्विन्टल तेजपात ल्याउने गरेको छु । अन्य व्यापारीको समेत गरी मेलामा सात सय क्विन्टलभन्दा बढी तेजपात व्यापार हुने गरेको जानकारी दिनुभयो । 

वर्षमा यसै मेलामा तेजपातको व्यापार गरी घरपरिवार चलाउने गरेको अर्का थोक व्यापारी बलराम साहको कथन छ । अन्य बाहिरको बजारभन्दा यसै मेलामा सबभन्दा बढी तेजपातको व्यापार हुने गरेको जानकारी दिँदै व्यवसायी भरत साहले भन्नुभयो, “मेलाको केही समयअघि देखि तेजपात ल्याएर भण्डारण गर्छौं । मेला अवधिभरि यही बास बस्ने, खाना पकाएर खाएर व्यापार गर्छौं ।” 

थोक व्यापारीबाट प्रतिकिलो ४५–५० रुपियाँमा खरिद गरी खुद्रामा प्रतिकिलो ६० रुपियाँमा बिक्री गरिरहेको खुद्रा व्यापारी बताउँछन् । नेपालमा पाइने प्रजातिको तेजपात बास्नायुक्त सदावहार वनस्पति भएको हुँदा भारतीय पर्यटक, श्रद्धालुभक्तजन धेरै मात्रामा किन्ने गरेको उहाँले बताउनुभयो । 

तेजपातको प्रयोग र फाइदा

तेजपातको रुखको पात तेजपात र बोक्रा दालचिनीका रूपमा बिक्री हुने गरेको छ । यसमा औषधीय गुण हुन्छ भने स्वादिलो खानाका लागि मसलाको रूपमा प्रयोग गरिन्छ । 

राति सुत्नुअघि कोठामा तेजपातको धुवाँ फैलाइयो भने तनाव हट्नुका साथै सास तथा छालासम्बन्धी समस्या पनि समाधान हुने गरेको आयुर्वेदका चिकित्सक शिवशङ्कर यादवले बताउनुभयो । “यसको धुवाँ तथा गन्धले मस्तिष्कलाई शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धुवाँले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो पार्ने गर्छ,” यादवको दाबी छ । तेजपात घरमा बालेर राखिदिँदा साङ्ला मार्न वा भगाउन अपनाइने अन्य रासायनिक उपायभन्दा प्रभावकारी एवं स्वस्थ हुने गरेको उहाँले बताउनुभयो ।