• १२ असोज २०८१, शनिबार

अवैध उत्खनन हुन थालेपछि स्थानीय तहद्वारा कारबाही सुरु

blog

विष्णुप्रसाद पोखरेल
दमक, माघ १३ गते ।
झापामा अवैध उत्खनन हुन थालेपछि यसलाई नियन्त्रणका लागि स्थानीय तहले अनुगमन तथा कारबाही सुरु गरेका छन् । खोलामा अवैध उत्खनन र खोलाजन्य सामग्री ओसारपसार रोक्नका लागि स्थानीय तहले प्रहरी तथा प्रशासनसँग माग गर्दै आएका छन् ।

दमक नगरपालिकामा रतुवा र मावा खोलाको निषेधित क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन भइरहेको पाएपछि यसलाई रोक्नका लागि सरोकारवालाहरुबीच दमकमा बारम्बार छलफल पनि भएको छ । दमक नगर प्रमुख रामकुमार थापाका अनुसार अवैध रुपमा हुने उत्खनन रोक्न स्थानीय प्रहरीलाई बारम्बार भनिएको छ ।

मावा खोलामा पर्ने मदन भण्डारी राजमार्गअन्तर्गतको पुलबाट उत्तर पाँच सय मिटर र दक्षिण हजार मिटर क्षेत्रभित्र नदिजन्य पदार्थ उत्खनन नगर्न बारम्बार चेतावनी दिइएको नगरपालिकाले जनाएको छ । यो क्षेत्रमा उत्खनन नरोकिएपछि यस्तो चेतावनी दिइएको बताइएको छ ।

दमक नगरपालिकाको विपद् व्यवस्थापन तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर अनन्त सेनेहाङका अनुसार निषेधित क्षेत्रबाट पनि उत्खनन भइरहेको पाएपछि त्यहाँ अनुगमन गरेर आइन्दा यस्तो कार्य रोक्न सबैलाई भनिएको छ ।

पुल तथा जोखिम क्षेत्रमा उत्खनन गर्न नपाइने भएकाले यस विषयमा जानकारीसहितको सचेतना बोर्ड राखिएको सेनेहाङले जानकारी दिनुभयो । खोलाजन्य सामग्री उत्खनन तोकिएभन्दा बाहिरबाट गर्न नमिल्ने भए पनि यसलाई अटेर गर्दा जोखिम बढिरहेको बताइने गरेको छ ।

यसैगरी, झापाको मेचीनगर नगरपालिकामा पनि अवैध खोला उत्खनन गर्ने कार्य भइरहेपछि यसलाई रोक्न प्रयास भएको छ । यहाँका मेची, निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी कारबाही सुरु गरिएको मेचीनगर कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक चित्रकुमार धिमालले बताउनुभएको छ ।

अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी ओसारपसार गर्ने सवारी साधानलाई नियन्त्रणमा लिई दुई लाख ६५ हजार जरिवाना गराइएको नगरपालिकाले जनाएको छ । अवैध रुपमा हुने उत्खननले वर्षाको समयमा खेतीयोग्य जमिन कटान गर्ने र बस्तीमा खोला पस्ने गरेको छ ।