• ६ जेठ २०८१, आइतबार

नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक (फोटो फिचर)

blog

काठमाडौंको टुँडिखेलमा माघे सङ्क्रान्ति पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउँदै । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, पुस ३० गते । मगर समुदायले नयाँ वर्ष मनाउने क्रम सुरु भएको छ । काठमाडौंको टुँडिखेलमा माघे सङ्क्रान्ति पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन सुरु गरेका हुन् ।

मगर समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउने परम्परा रहेको छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा उनीहरूले मिठामिठा परिकारहरू बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् ।


शुक्रबारबाट उनीहरूले आफ्ना–आफ्ना सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिरहेका छन् । टुँडिखेलमा उनीहरूले मगर समुदायका मानिसहरू एक ठाउँमा जम्मा भएर सामूहिक रूपमा नाचगान गरिरहेका छन् ।

औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोसाक लगाएर नयाँ वर्ष मनाउने गर्छन् । नेपालको सबै जिल्लामा मगर जातिको बसोबास रहेपनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ ।


मौलिक संस्कृतिको रूपमा मगरले माघे सङ्क्रान्ति भूम्यापूजा, वैशाख पूर्णिमा, साउने सङ्क्रान्ति आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम/पाङ) र मगर काइके बोल्ने गर्दछन् ।

मौलिक कला–संस्कृतिका हिसाबले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे सङ्क्रान्ति चाड विशेषतः चेली तिहारको रूपमा मनाइन्छ । नयाँ यामको सुरुवात माघे सङ्क्रान्तिका दिनदेखि उभौँली सुरु भई साउने सङ्क्रान्तिमा समापन हुने र सोही दिनदेखि उँधौली सुरु हुने प्रचलन छ ।


यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।