बीएन जोशी
जीवनमा पहिलो पटक ट्रान्जिट भएर कनेक्टिङ बसको पर्खाइमा छौँ– भाइ अजय र म । दस मिनेटमा अर्को बस आइपुग्छ भनेर पहिलो बसले दोबाटोमा उतारेर गयो । समयको सुईले राति ९ बजेको सङ्केत दिँदैछ । सन् २०२० जनवरीको पछिल्लो लहर, चिसोले ठिहि-याएको छ । मोबाइलको मुहारमा दुई डिग्री झुल्किएको देखिन्छ । सडक पेटीमा ठडिएको ल्याम्प पोस्टको धूमिल प्रकाशमा पूर्वी दिशातर्फ एकनासे घरहरू लामबद्ध रूपमा सुस्ताएको आकृति देखिन्छ । त्यसको विपरीत पश्चिमपट्टि भने विशाल तलाउ निमग्न छ । एकाध मोटर बेलाबखत बत्तिएर हुइँकिन्छन् । त्यसबाहेक चरोमुसो देखिँदैन ।
पोल्टाल्लोक स्ट्रिटको जक्सनमा अलपत्र छौँ दुई भाइ । यो स्कटल्यान्डको सुदूरपश्चिम द्वीपमध्येको एउटा क्षेत्र हो । क्याम्पबेल द्वीपको समुद्री दरारदेखि उत्तरी भेगमा रहेको पर्यटकीय गन्तव्य ओवनको खातिर बाटो तय गर्दै गर्दा सिर्जना भएको समस्या हो यो । अञ्जान सफरमा सधैँ सोचेजस्तो कहाँ हुन्छ र ! प्रविधिमैत्री जमानामा बिघ्नबाधाको सामना गर्न तयार हुनुपर्छ । शरीरलाई तताउन सडकमा यताउति भौँतारिरह्यौँ ।
हातेझोलाभित्र सीमित मात्रामा रहेका केकका केही टुक्रा खाइसकियो तर पनि बस आएको सङ्केत कतैबाट देखिँदैन । सानो चिर्कटोमा रहेको बस कम्पनीको नाम मोबाइलबाट गुगल सर्च गर्दै जाँदा बल्लतल्ल फोन नम्बर भेटियो । त्यो नम्बरमा फोन गर्दा अर्कै विभागमा परेछ । तैपनि उनीहरूले उक्त कम्पनीको प्रतिनिधिसँग सम्पर्क गराइदिए । सभ्य मुलुकमा महसुस गरेको सहयोगी भावनाको यो एउटा नमुना थियो । मौसम दिउँसै ठुस्किने ठाउँमा, रातमा त झन् निस्लोट दृश्यविहीन । पछि उतैबाट फलोअपका लागि फोन आउन थाल्यो, “मौसमको खराबी र बाटो अवरोधले गर्दा आउनुपर्ने बस समयमा आइपुगेन । माफ गर्नुहोला । अर्को आउँछ । धैर्य गर्नुहोला ।” हामी केही ढुक्क भयौँ । कम्तीमा सम्पर्क आदानप्रदान भयो र आश्वासन त पाइयो । सन्नाटायुक्त अञ्जान स्थान अनि रातको प्रहर यसै पनि भयानक लाग्छ । करिब एक घण्टाको तनावलाई निखार्दै तीखो ज्योतिको साथमा बल्ल एउटा बस झुल्कियो ।
बसको सिटमा बसेर झ्यालबाट बाहिर नियाल्दै गर्दा जङ्गल र झाडी मात्र देखिन्थे । किलमार्टिन, क्राओभ हेभन हिल हुँदै बस अगाडि बढ्यो । डेढ घण्टापछि बल्ल एकाध घर देखिन थाले । बिस्तारै झिलिमिलीको माहोल थपिँदै गयो । त्यो ओवन आइपुगेको स्पष्ट सङ्केत थियो । ओवन ससाना द्वीपमा जाने प्रमुख द्वार रहेछ । यो हेलेन्सबर्ग र फोर्ट विलियमको बीचमा अवस्थित छ । यहाँको वास्तविक जनसङ्ख्या साढे आठ हजार मात्र रहेको छ ।
झन्डै मध्यरातमा पुगेकाले होला, ओवन पूरै ओसाएको छ । सिवाय सडक बत्तीको झिलिमिली । सायद सम्मुखमा रहेको समुद्रसँगै सुस्ताएको हुँदो हो । मोबाइल एप्सको पछि लाग्दै सुनसान उकालो सडक हुँदै उच्च स्थानमा रहेको एउटा घरमा पुग्यौँ । पुरानो महलजस्तो देखिने घर पूरै बेखबर छ । कतै बत्तीसमेत बलेको देखिँदैन । यदाकता मनमा भयको चिसो नपसेको पनि कहाँ हो र !
केही बेर अलमलियौँ । मोबाइल म्यासेजमार्फत सम्पर्क भएपछि बल्ल एक जना मानिस करेसाको मोडबाट फुत्त निस्किए । पुरुष हुन् कि महिला, मैले ठम्याउन सकिनँ । भिन्न आवाज कानमा गुन्जियो । सायद तेस्रो वर्गका थिए । खैर त्यो चासोको विषय रहेन, थकान र निदको भुमरीमा । हामीलाई माथिल्लो तलाको एउटा कोठा देखाइदिएर उनी तल ओर्लिए बुट बजार्दै । समय बेलगाम कुदिरहेको छ, सँगसँगै चल्नका लागि हम्मेहम्मे परिरहेको छ । निमेषभरमै रातले कोल्टे फेरिसकेछ । हतारमा ज्यान पखाली नमाझिइसकेको बिहानीसँगै दुई भाइ फुत्त बाहिर निस्कियौँ । तब न असली ओवन ओइरियो । उच्च भागदेखि ओरालो ओर्लिंदै गर्दा दूरदराजको प्राकृतिक सौन्दर्य अवर्णनीय देखियो । सौम्य तवरले समुद्रमा कुदिरहेका नाउहरू । बीचबीचमा थुम्का; जसको प्रतिरक्षामा एकालाप पहरा दिइरहेजस्तो लाग्ने तटीय क्षेत्रका घर । यी सब असलमा प्राकृतिक र मानवनिर्मित एक जादुमयी सङ्गम थियो ।
सन् १८१४ मा नै चर्चित स्कटिस इतिहासकार तथा साहित्यकार सर वाल्टर स्कटले यहाँको भ्रमण गरेका रहेछन् । सोही वर्ष उनको ‘द लर्ड अफ द आइल्स’ कवितासङ्ग्रह प्रकाशित भएको थियो । उनका अरू पनि धेरै चर्चित कृति छन् । बहुविधामा कलम चलाउने स्कट एक नामी वकिल पनि थिए । उनको भ्रमणपछि ओवनको प्रचार प्रसारले थप व्यापकता पायो ।
यस ठाउँमा कहिलेकाहीँ त दैनिक हजारौँ मानिस आवतजावत गर्छन् रे ! चिसो समयमा शान्त रहने ओवन ग्रीष्म ऋतुमा छुट्टी मनाउन आउने पर्यटकको चापले थेगिनसक्नु हुने रहेछ । समुद्रको गोलाकार दरारलाई घेरेर बसेको सानो ओवन बजार सौन्दर्यले सम्पन्न लाग्छ ।
भौगोलिक रूपमा ओवन सानो क्षेत्र हो तर यहाँ पर्यटकका लागि मन बहलाउने पर्याप्त स्थान रहेछन् । ओवनले उच्च स्तरको व्यवस्थापन गरेको देखियो । साना ठूला होटल, भाडाका अपार्टमेन्ट अनि रेस्टुरेन्ट व्यवस्थित थिए । बजारदेखि सिधै १४४ खुड्किलो पार गरेर पुग्न सकिने सहरको शिरमा मुकुट पहिरिएजस्तो देखिने म्याक केग टावर स्थानीय बैङ्कर जोन स्टुवार्ट एमसी केइगको योजनामा सन् १८९७ मा बनेको रहेछ । ग्रिक पुरातन शैलीमा यसको भित्ता र स्तम्भ तयार भएको पाइन्छ । ब्याट्री हुलिया लाग्ने यसको गोलाकारको दूरी दुई सय मिटरको छ । १५ फिट अग्लो पर्खालका खण्डित झ्याल सुकिला देखिन्छन् । भित्रपट्टिको खोक्रो स्थानमा सुन्दर बगैँचाले सजाइएको छ । रातको समयमा यसका भित्तामा अदलीबदली गरी चम्किने रङ्गीचङ्गी बत्तीले ओवनको मुहारलाई मोहक बनाइदिन्छ । स्थानीय कानुनअनुसार यस परिसरभित्र नशालु पदार्थ सेवन गर्न सख्त मनाही छ । सूचना यथेष्ट छ । बाहिरको बार्दलीबाट पूर्वोत्तर नियाल्दा ओवन बजार, केरेना द्वीप, लिसमोर र मूल द्वीपलगायतका भव्य दृश्य अवलोकन गर्न पाइन्छ; जसले काल्पनिक स्वर्गको स्थानान्तरण ओवन क्षेत्रमा गराएको अनुभूति हुन्छ ।
यो स्मारक बन्नुको रोचक कथा रहेछ । कसैलाई पनि यकिन छैन कि यो कुन उद्देश्यका लागि बनाइयो ? यो एउटा अधुरो रित्तो महल हो । बैङ्कर केइगको सन् १९०२ मै मृत्यु भयो । केइगले जुन उद्देश्यका लागि स्मारक बनाएको भए पनि अहिले ओवनका लागि यो एउटा बहुमूल्य गहना बनेको छ । प्रकृति र मानवनिर्मित सुन्दर गहनामा मात्र सीमित छैन ओवन । बौद्धिक पक्षमा पनि नाम चलेका साहित्यकारले ओवन क्षेत्रको भ्रमण गरेर मुग्ध बनी प्रशंसा गरेको पाइन्छ । सन् १८१४ मा नै चर्चित स्कटिस इतिहासकार तथा साहित्यकार सर वाल्टर स्कटले यहाँको भ्रमण गरेका रहेछन् । सोही वर्ष उनको ‘द लर्ड अफ द आइल्स’ कवितासङ्ग्रह प्रकाशित भएको थियो । उनका अरू पनि धेरै चर्चित कृति छन् । बहुविधामा कलम चलाउने स्कट एक नामी वकिल पनि थिए । उनको भ्रमणपछि ओवनको प्रचार प्रसारले थप व्यापकता पायो । दोस्रो विश्वयुद्धका दौरान ब्रिटिस नौसेना र व्यापारिक प्रयोजनका पानीजहाजले पनि ओवनलाई आफ्नो आधार क्षेत्र बनाएका थिए । सामरिक हिसाबले पनि यो स्थान महìवपूर्ण रहेको पाइन्छ । बहुक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सफल ओवनले १९औँ शताब्दीमा आएर कालम्याक नौकामार्फत व्यावसायिक रूपमा नियमित पर्यटक भिœयाएको देखिन्छ ।
समयको चालसँगै थप नयाँ गन्तव्यलाई पाइलाले पछ्याउनुपर्ने थियो । पुनः यस्तो सुन्दर ठाउँमा आउने सामथ्र्य नरहन पनि सक्छ । त्यसैले भोक, प्यास, थकान र निद्रालाई थाती राखेर पनि प्रकृतिको सक्दो सौन्दर्यपान गर्नु थियो । सडक किनारामा रहेको रेस्टुरेन्टबाट ल्याएको कागजको कपमा तातो कफी बोकेर हात सेकाउँदै, बिस्कुट चोपल्दै पेटीमा उभियौँ । निर्धारित समयमा आउने बसले हामीलाई उठाएर लैजान्छ भन्ने आशा थियो । भयो पनि उस्तै । सिरसिरे सिरेटोबाट मुक्ति मिल्यो ।
सुविधायुक्त बसको झ्यालबाट देखिने दृश्यले मनमस्तिष्क र नयनलाई रत्तिभर रोक्न दिएको हैन । नीलो हैन, हरियो देखिने ताललाई बसले घरी दायाँ त घरी बायाँ पारेको छ । नागबेली सफाचट सडकको छेउछाउ रङ्गीचङ्गी लहरे फूलका बोटले झुकेर समस्त बटुवालाई स्वागत गरेजस्तो लाग्छ । बाटोमास्तिर हरियो जङ्गलले ढाकेको पहाड अनि शिरमा सेताम्मे हिँउले ढाकेको शिरफुल । यो वास्तवमै अद्भुत क्षेत्र रहेछ । कैयौँ मुलुक र नेपालका विभिन्न भूभागको भ्रमण गर्दासमेत म प्राकृतिक सौन्दर्यदेखि यति मोहित बनेको थिइनँ । यस क्षेत्रको सेरोफेरो मेरो मस्तिष्कका लागि अमिट छाप बनेर रह्यो ।
फोर्ट विलियमदेखि ग्लास्गोसम्मको तीन घण्टाको बस यात्रामा देखिने सुन्दर दृश्यले मन त्यसै आह्लादित बन्छ । यिनै दृश्यले मलाई बालसाहित्यकी प्रसिद्ध लेखिका हेलेन बिटरिक्स पोर्टरको अटोबायोग्राफीमा बनेको सिनेमा ‘मिस पोर्टर’को बेजोड याद दिलायो ।
करिब डेढ घण्टाको पूर्वोत्तर बस यात्राले मगजको मेमोरी सदाका लागि भरिदियो । केन्नेवेक नदीको तटीय क्षेत्रमा अवस्थित ऐतिहासिक स्थल फोर्ट विलियममा पुगेर बसले बल्ल विश्राम लियो । पोर्टल्यान्डको क्षेत्रभित्र पर्ने यो स्थानलाई कुनै बेला हार्बर डिफेन्स अफ पोर्टल्यान्ड भनिँदो रहेछ । सन् १९५० मा अमेरिकी सेनाले आफ्नो प्रयोजन बन्द गरेपछि नै यस ठाउँको नाम फोर्ट विलियम रहन गयो । अमेरिकी सैनिक अधिकारी सेथ विलियमको नेतृत्वमा सन् १८९८ देखि १९६२ सम्म यस स्थानलाई प्रयोग गरियो; जुन प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र शीत युद्धकाल पर्छन् । करिब ९० एकड जमिनमा फैलिएको फोर्ट विलियममा ऐतिहासिक महìवका केप ऐलिजाबेथ मेन र पोर्टल्यान्ड हेडलाइट हाउस पर्छ ।
अत्याधुनिक हतियारको भण्डार, अन्डर ग्राउण्न्ड बङ्करहरू यहाँ धेरै देखिए । सन् १९०० देखि १९११ सम्म ब्यारेक, अस्पताल, व्यायामशाला, मण्डप, अग्नि नियन्त्रक, रग्बीको रङ्गशालाजस्ता आधारभूत भवन यहाँ निर्माण भएको देखिन्छ । यस क्षेत्रमा पनि अरू टापूमा जस्तै सानो र व्यवस्थित बजार रहेछ । बजारको मास्तिर तालुखुइले पहाड देखिन्छ । फोर्ट विलियमलाई एक लाइने बजार पनि भन्न सकिन्छ । किनकि मूल मार्गको विपरीततर्फ ठूलो तलाउ रहेको छ । कलात्मक बजारको बीचमा ढुङ्गा बिछ्याइएका छन् । जहाँ सवारीसाधन चलाउन निषेध गरिएको छ । भाला आकारका सुरिला गिर्जाघरबाट निस्कँदै गरेका पास्तरको लर्को पनि हेर्नलायकको देखिन्छ । सडक वरपर हरिया चउरका पार्कमा सहादत प्राप्त सैनिकका प्रतिमा, सन् १८९६÷९७ तिर बनेका पुराना तीव्र गतिका तोपलगायत हतियारको सजावट देख्दा विलियमले खुला सङ्ग्रहालयको यथेष्ट झल्को दिन्छ ।
यस्तो लाग्छ, संसारको एउटा अनकन्टार कुनोमा छौँ । फरक परिवेश र माहोलका बीचसमेत मानिस अति सभ्य लाग्छन् । विकासको दृष्टिमा सुविधासम्पन्न छँदै छ । विशाल पर्वतलाई उधिनेर ल्याइएको रेलले ग्लास्गो र एडिनबर्ग सहरसँग नजिकको नाता जोडिदिएको छ । म मेरो देशलाई मिस गर्छु । आखिर उस्तै भूगोल हुँदाहुँदै पनि हाम्रो देश विकासको मामलामा किन यति धेरै पछाडि परेको होला ?
सारा युरोपमा कासलको महत्व र विशेषताको कथा फरक छन् । विभिन्न खालका कासल देख्न सकिन्छ । ऐतिहासिक फोर्ट विलियममा कासलको कमी हुने कुरै भएन । त्यसो त हेर्न छुटाउने कुरो पनि भएन । मुख्य बजारभन्दा पूर्वी दिशामा मात्र एक किलोमिटरको दूरीमा रहेछ सन् १२८० मा बनेको इन्भरलोची कासल । महल के भनौँ, अहिलेका लागि एउटा भग्नावशेष, अस्थिपञ्जर । स्थानीय राजा जोन कमेनको पालामा दक्षिणी भेगको रणनीतिक योजनाका लागि बनाइएको । यो शान्त रूपमा सुस्ताउँदै लर्केको लोची नदीको छेवैमा पर्छ । स्वछन्द वातावरणमा सेतो ढुङ्गाबाट बनेको एउटा प्रभावशाली महल र किल्ला पनि हो । सुरक्षाका खातिर चारैतिर नौ मिटर अग्लो ढुङ्गाको पर्खालले घेरेको छ । सन् १३०६ मा जोन कमेनलाई मारेपछि अर्का बादसाह रोबर्ट द ब्रुसले यस कासललाई केही फेरबदल गरेको इतिहासमा उल्लेख छ ।
स्कटल्यान्डमा पनि नेपालमा जस्तै बाइसे चौबीसे राज्यको कुनै बेला जगजगी रहेछ । भिन्न राज्यमा गएर कब्जा गर्ने र आजाद गर्ने प्रक्रिया निरन्तर चल्थ्यो । फोर्ट विलियमभन्दा उत्तरतिर सय किलोमिटरको दूरीमा इन्भरलोची गाउँ पर्ने रहेछ । यो ग्रेट गेलेनको सिधा बाटोमा पर्छ; जुन प्राकृतिक यात्रा गर्न लोकप्रिय हाइल्यान्ड मार्ग र साइक्लिङ पथ हो । यसको ऐतिहासिक र सांस्कृतिक रूपमा निकै महìव रहेछ । घर्किंदो समयले मन नहँुदा नहुँदै पनि बाध्यतावश वासस्थानतिर धकेलिदिन्छ । भोलि त फेरि अर्को गन्तव्यमा जानु नै छ । दिनभर घुमाइको रिललाई रातको प्रहरले मगजमा दही सरी जमाएर राखिदिन्छ ।
फोर्ट विलियमदेखि ग्लास्गोसम्मको तीन घण्टाको बस यात्रामा देखिने सुन्दर दृश्यले मन त्यसै आह्लादित बन्छ । यिनै दृश्यले मलाई बालसाहित्यकी प्रसिद्ध लेखिका हेलेन बिटरिक्स पोर्टरको अटोबायोग्राफीमा बनेको सिनेमा ‘मिस पोर्टर’को बेजोड याद दिलायो । सन् २००६ मा क्रिस नुननको निर्देशनमा बनेको उक्त फिल्म पनि यही देशको उत्तर–पश्चिम क्षेत्रको सेरोफेरो लेक डिस्ट्रिकमा छायाङ्कन गरिएको थियो । दायाँबायाँ देखिने तालतलैया, चरण र बुट्यानका दृश्य दुरुस्तै देखिन्थे । उनी जीव र वनस्पतिलाई नजिकबाट नियालेर सचित्र उतार्ने, परिदृश्यलाई माया गर्ने चर्चित व्याख्याता थिइन् । उनका २३ बच्चाको कथा, खरायोको कथा, द टेल अफ पिटर ¥याबिटजस्ता पुस्तक धेरै बिक्री हुनेमा पर्छन् ।
संयोग नै मान्नुपर्छ, सयरमा कहिलेकाहीँ ऐतिहासिक र महìवपूर्ण स्थानमा पुगिन्छ । केही दिन समुच्च स्कटल्यान्डसँगको साक्षात्कार सकेर जब हामी लन्डन फर्किएर केही रात बास बस्यौँ, त्यस ठाउँको नाम वेस्ट ब्रोम्पटन थियो; जुन स्थान उनै चर्चित लेखिकाको जन्मटोल पो परेछ । समयको खेल, एउटा अर्को भावनात्मक मेल ।