• २० असोज २०८१, आइतबार

जनताको सेवामा तल्लीन मुस्ताङका मुखिया

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस १३ गते । हिमालपारिको जिल्ला मुस्ताङका आफैँमा एक प्रयोगशाला हो । मुस्ताङ फरक रहनसहन मात्रै नभएर फरकपनको अध्ययनका लागि पनि प्रख्यात छ । यस्तै फरक प्रथा हो मुस्ताङको मुखिया प्रथा । जिल्लाका हरेक गाउँमा मुखिया रहन्छन् । बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका –१ का वडा सदस्य एवम् मुक्तिनाथ रानीपौवाको पुराङ गाउँका पूर्व मुखिया पेम्बा छिरिङ गुरुङका अनुसार गाउँमा हुने गाउँलेका काम गर्नु मुखियाको मुख्य जिम्मेवारी हो, पुराङ गाउँका मुखियाको कार्यकाल एक वर्षको हुन्छ ।

मुखिया भएपछि मुखियाले गाउँमा बसेर जनताको काम गर्नु गराउनुमै व्यस्त हुनुपर्ने हुन्छ । मुखिया जनताका सेवामै तल्लीन हुनुपर्ने उहाँको भनाइ छ । गाउँको पुरानो दस्ताबेजअनुसार मुखियाको तीनवर्षे कार्यकाल हुन्थ्यो । पहिला तीन पटक हुन पाउँथे । तर अहिले त्यस्तो चलन छैन । थासाङ गाउँपालिका कोबाङ गाउँका मुखिया ज्वार भट्टचनले बताउनुभयो । ८४ वर्षीय मिर मुखिया भट्टचनका अनुसार गाउँलेहरुको भेलाले मुखिया छनौट गरिन्छ, मुखियाको कुनै पनि पारिश्रमिक हुँदैन निःस्वार्थ समाजसेवा एवम् राज्यको कानुनको सहयोगी भूमिका हो । 

भट्टचन मुखिया भएको १४ वर्ष भयो भने पछिल्लो ४ वर्षदेखि मिर मुखियाको जिम्मेवारीमा समेत हुनुहुन्छ । थाकखोला क्षेत्रमा थकाली समुदायको उत्पत्तिदेखि नै मुखिया प्रथा कायम रहेको बताउने भट्टचनका अनुसार मुखियाले अन्य कुनै पनि सुविधा पाउँदैन । मुस्ताङ क्षेत्रमा पछिल्लो चार सय वर्षदेखि मुखिया रहेको भट्टचनको भनाइ छ । 

माथिल्लो भेकमा एकवर्षे कार्यकाल रहे पनि थासाङ क्षेत्रमा भने पछिल्लो समय मुखियाका लागि कुनै पनि समय बन्देज छैन । थासाङ गाउँपालिका–२ लेतेका ७४ वर्षीय मुखिया रवीन्द्र तुलाचन पछिल्लो १५ वर्षदेखि मुखियामा कायम हुनुहुन्छ । रबिन्द्रले भन्नुभयो, “गाउँलेहरुले मला नै चुनेका छन्, मुस्ताङको थासाङ क्षेत्रका १३ गाउँमा मुखिया हुन्छन् र यहाँ पनि मुखियामध्ये पनि हेड मिर मुखियामा ज्वार भट्टचन हुनुहुन्छ ।”

राज्यको नियमअनुसार वडा अध्यक्षमाथि भए पनि गाउँमा मुखिया र वडा अध्यक्षको समन्वयमा काम हुनेगरेको छ । व्यवहारिक रुपमा हेर्दा वडा अध्यक्षभन्दा मुखियालाई नै गाउँलेहरुले बढी विश्वास गर्नेगरेको रवीन्द्रकाे भनाइ छ ।

मुखियाले राज्यको कानुन कार्यान्वयनका लागि सहयोगीको भूमिका निर्वाह गर्नुभएको शर्माको भनाइ थियो । फौजदारी प्रकृतिका मुद्दामा मुखियाले केही गर्नुहुदैन तर अन्य गाउँघरमा हुने विवादहरु समाधानका लागि उहाँहरुले भूमिका खेल्ने हुँदा गाउँलेको समय र पैसाको बचत भएको छ । 

प्रहरी तथा अदालत वा प्रशासनसम्म पुग्नुपर्ने हो भने नागरिकको समय र पैसाको खर्च हुन्थ्यो तर मुखियाले गाउँमै मिलाउने गर्दा जनताको समय तथा पैसा बचत भएको प्रजिअ शर्माको भनाइ छ ।

बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका –२, छ्युङ्गरका पूर्व मुखिया गमबहादुर गुरुङले हामी तान्त्रिक लामाको सन्तान हौं, मुखिया फेर्नु पहिला लामाले पूजा गरेर मात्रै अर्को मुखियालाई जिम्मेवारी हस्तान्तरण गरिन्छ । गाउँमा बसोबास गर्ने सबै परिवारको सहमतिमै मुखिया चयन गरिन्छ । साथै मुखियाको कार्यकाल एक वर्षको मात्रै हुने हुनाले धेरै जनाको पालो पनि पुग्नेजस्तो देखिए पनि गाउँले जनताले रुचाएका व्यक्तिहरु नै एक वर्षका लागि मुखिया बन्ने गर्छन् ।

मुस्ताङको मुक्तीनाथ क्षेत्रमा छ गाउँ छन् । पुराङ गाउँ, खिङ्गा, झारकोट मुक्तीनाथबाट बग्ने खोलाभन्दा एकापट्टी पर्छन् भने अर्को पट्टी छ्याङ्गुर, झोङ, पुटाक छन् । आफ्नो गाउँका कुनै पनि झैझगडा आफ्नै स्थानमा मिलाउन नसकेको खण्डमा छिमेकी गाउँका मुखियाको सहयोग लिएर गाउँका समस्या समाधान गरिने पेमा छिरिङ गुरुङको भनाइ छ । 

आफ्नो क्षेत्रको समस्या मिलाउन नसकेमा पुराङ गाउँ, खिङ्गा र झारकोटका मुखियाको समेत सहयोग लिएर समस्या समाधानको प्रयास गर्ने गर्छन् भने अर्को पट्टिको गाउँकाले पनि त्यही विधि अपनाउने गरेका छन् ।