• १३ साउन २०८१, आइतबार

एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो

blog

एक औलाले हल्लाउन सकिने बडेमाको हल्लिने ढुङ्गो । तस्बिर : गोरखापत्र

बाबुराम शर्मा  

दोलखा, पुस १३ गते । झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाउँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ ।  

यसलाई बूढापुराना गाउँले दैविक शक्ति मान्छन् भने अहिलेका प्राकृतिकको कमाल मान्दछन् । तलबाट पनि बडेमाको ढुङ्गो छ । त्यसमाथि यो अडिएको छ । तल्लो माटोको भागमा गाडिएको छ भने यो त्यसमाथि अडिएको मात्र देखिन्छ । तल्लोको चुचो माथिल्लोको करिब डेढ फुट खोपुवामा मिलेर बसेको छ । त्यसकारण यो मज्जाले हल्लिन्छ तर खोपुवा भएकाले यताउति हुँदैन । सन्तुलन रहेकाले आफ्नै घाटमा चलिरहन्छ । 

यो सरकारी जग्गामा छ । यसका नजिक कोइरालाबोट, गैरा टोल बस्ती छन् । गाउँको बुद्धचोकबाट १५/२० मिनेटमा पैदलबाट पुगिन्छ । गाउँपालिका प्रमुख हीरा थोकरले अचम्मको र मनोन्जनात्मक हल्लिने ढुङ्गा प्रचार प्रसारको कमीले छायाँमा परेको बताउनुभयो । सिंहदरबारको अधिकार अब गाउँमा आएको छ । यसलाई सदुपयोग गर्दै यसलाई नेपाल मात्र होइन विश्व सामु पु–याउने गाउँपालिकाको सोच बनेको छ, उहाँले भन्नुभयो । 

 ‘‘प्रथमत: विकासको पूर्वाधार मानिने सडक सञ्जाल त्यहाँ पु–याएका छौँ  उहाँले भन्नुभयो, ‘‘संरक्षण कोष खडागरी यसको संरक्षण संवर्द्धन गर्दै आयआम्दानीको स्रोत पनि बनाउनेछौँ ।’’ मनमोहक सैलुङडाँडालाई पर्यटक मैत्री बनाएलगत्तै यसको पनि महत्व बढ्ने अपेक्षा राखिएको छ ।