• १९ असोज २०८१, शनिबार

सुन्तला नबिकेपछि जुस तयार

blog

सुन्तला व्यवसायीलाई जुस बनाउन तालिम दिइँदै । तस्बिर: जयमान बुढा मगर

जयमान बुढा मगर

रुकुमपूर्व, पुस १२ गते । जिल्लाको सिस्ने गाउँपालिका–७ र ८ मा उत्पादन भएको सुन्तलाले बजार नपाएपछि किसानहरुले खेर जान नदिएर जुस तयार गरेका छन् । यस वर्ष यहाँ सुन्तला उत्पादनमा वृद्धि भए पनि पर्याप्त बजार पाउन नसकेको जनाएको छ । 

सुन्तलाको भण्डारण र चिस्यान केन्द्र नहुँदा तथा समयमै उचित बजार पाउन नसक्दा सुन्तला खेर जाने गरेको छ । हरेक वर्ष बिक्री नभएर सुन्तला खेर गइरहेको थियो । यस वर्ष भने जिल्लामै पहिलो पटक सुन्तलालाई खेर जान नदिन जुस बनाउन लागिएको छ । 


जिल्लाको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको प्राविधिक सहयोगमा सिस्ने–७ र ८ का उत्पादित सुन्तलाको जुस बनाइने भएको हो । बिक्री नभएका सुन्तला खेर जान नदिन जुस उत्पादन गर्नका लागि आइतबारदेखि मङ्गलवार सम्म उक्त वडाका  व्यावसायिक सुन्तला कृषकलाई तीन दिने तालिम आयोजना गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पीताम्बर बस्नेतले बताउनुभयो । तालिम पश्चात् बिक्री हुन नसकेका सुन्तलाको जुस उत्पादन गर्ने कार्यतर्फ लागिने बस्नेतले जानकारी दिनुभयो । 



तालिमबाट जुस उत्पादनदेखि प्याकेजिङ र बजारीकरण सम्म कार्यको लागि वडामै समिति गठन गरिने बताइएको छ । “उक्त समितिलाई नै जुस उत्पादनका लागि मेसिन हस्तान्तरण गर्नेछौँ” प्रमुख बस्नेतले भन्नुभयो –“अब सुन्तला जुसमा परिणत भई बजार पाउनेछ ।” जुस उत्पादन कार्यले आगामी दिनमा सुन्तला व्यवसायी कृषक लघु उद्यमीतर्फ आकर्षित हुने उहाँको भनाइ छ । 

सिस्ने–७ र ८ गरी ७५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको छ । यस वर्ष दुई वडामा गरी आठ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।