• १९ असोज २०८१, शनिबार

नाबालिका बलात्कार घटनामा वृद्धि

blog

बागलुङ समाचारदाता

बागलुङ, पुस १२ गते ।  बागलुङमा मानव अघिकार उल्लङ्घनका घटनामध्ये सबैभन्दा बढी नाबालिका बलात्कृतका घटना सार्वजनिक भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि तयार गरेको घटना विवरणमा सो तथ्य उल्लेख गरिएको छ। 

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार पछिल्लो छ महिनामा बालबालिकामाथि भएको मानव अधिकार उल्लङ्घनका २२ वटा  घटनामध्ये १८ वटा नाबालिका बलात्कारका घटना छन्। 

बाल अधिकार क्षेत्रमा समावेश मुद्दाअन्तर्गत १८ नाबालिका बलात्कार, अप्राकृतिक मैथुन, बालविवाह, अपहरण तथा शरीर बन्धक र विद्यालयमा कुटपिट रहेको इन्सेक प्रतिनिधि पन्तको भनाइ छ। इन्सेनले हरेक वर्ष मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ। 

बागलुङमा सन् २०२२ जनवरीदेखि सन् २०२२ डिसेम्बर १५ सम्म ७० वटा मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक भएका छन्। एक वर्षको अवधिमा मानव अधिकारसँग सम्बन्धित राजनीतिक अधिकार हननका तीन, पत्रकारलाई मार्ने धम्की एक, बाल अधिकार उल्लङ्घन २२, महिला अधिकार उल्लङ्घन ४४ (हत्या, हत्या प्रयास, बलात्कार, बलात्कार प्रयास, बहुविवाह, आत्महत्या दुरुत्साहन र घरेलु हिंसा) समावेश गरिएको छ। सबैभन्दा बढी घरेलु हिंसाका २३ वटा घटना सार्वजनिक भएका छन्।  

वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले समाजमा दिन प्रतिदिन आपराधिक मानसिकताको विकास बढ्दै गएको टिप्पणी गर्नुभयो। “सानै उमेरमा आपराधिक क्रियाकलाप भइरहेको छ,” उहाँले भन्नुभयो, “कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनालाई विकास गर्नु आवश्यक छ।”