• १९ असोज २०८१, शनिबार

कांग्रेसका महामन्त्रीद्वयको एउटै स्वर

‘पार्टीले बोलाएन, पोखरा आयौँ’

blog

रमेश पौडेल 

पोखरा, पुस १२ गते । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीले आफूहरूलाई नबोलाएपछि पोखरा भ्रमणमा आएको बताएका छन्। 

आइतबार बिहानदेखि फोन आउँछ भनी बसेका थियौँ आएन, अन्ततः गठबन्धन टुट्यो, अब पछुताउनुबाहेक केही बाँकी नरहेको उहाँहरूले बताउनुभएको हो । “व्यक्तिगत रूपमा म नढाँटी भन्छु, बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिएँ। उहाँले ‘कल’ गर्नुभएन,” थापाले भन्नुभयो। 

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापा र शर्माले सो कुरा बताउनुभएको हो। “गठबन्धन एक पटक टुट्नै पथ्र्यो, समयमै टुटेको छ। अब गठबन्धनको धर्म निर्वाह गर्नुपर्ने बाध्यता हटेको छ। त्यसैले कांग्रेस दीर्घकालीन रणनीतिअनुरूप अघि बढ्नेछ। कांग्रेसलाई चुस्त, दुरुस्त र लोकप्रिय पार्टीका रूपमा अगाडि बढाउन हामी लाग्ने छौँ,” दुवै महामन्त्रीले एकै स्वरमा भन्नुभयो। 

गठबन्धन टुट्नु भनेको मतदातामाथि ठूलो बेइमानी र धोका भएको समेत उहाँहरूले बताउनुभयो। गठबन्धन पाँच वर्ष रहनुपर्ने थियो, मैले यस्तै हुन्छ भनेर निर्वाचनमा गठबन्धन होइन, निर्वाचन पछि गठबन्धन गर्नुपर्छ भनेको हो तर अहिले कांग्रेसमाथि बेइमानी भएको छ, महामन्त्री थापाले भन्नुभयो। 

उहाँले थप्नुभयो, “नेपाली कांग्रेसका कार्यकर्ताको हिसाबले हिजोका घटनाचाहिँ लुडोमा ९९ तिर पुगेर बाजी मार्ने बेलामा एउटा सर्पले एकैचोटि गोटीलाई तल झारेको जस्तो भएको छ।” तपाईं पोखरा हारेर आउनुभएको कि जितेर भन्ने प्रश्न गर्दा थापाले जवाफमा भन्नुभयो, “योभन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ। त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ। मलाई फिट हुने चाहिँ त्यो सेसन हो।” मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोमा भ¥याङ चढेर अलिकति माथि पुगेको, अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भ-याङ चढौँला भनेर सोचेको सर्पबाट एकैचोटि झरेर तल आएको जस्तो भएको छ, महामन्त्री थापाले भन्नुभयो। 

यसैगरी कांग्रेस गण्डकी प्रदेशमा आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले राजनीतिमा संस्कार नभएकाले अहिलेको अवस्था भोग्नुपरेको भन्दै पार्टीले बैठक अगाडि नै बोलाउनुपर्ने बताउनुभयो। 

महामन्त्री थापाले नयाँ जीवन दिएर पार्टीलाई अगाडि बढाउन देश दौडाहामा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो। अब कांग्रेसलाई आफ्नै तागत र बलमा अगाडि बढाउन कुनै पनि कार्यकर्तालाई थाक्ने छुट नभएको उहाँले बताउनुभयो।

अर्का महामन्त्री शर्माले अहिलेको राजनीतिक अवस्थाप्रति इङ्गित गर्दै कुनै कुनै चोट स्थायी नहुने बताउनुभयो। उहाँले पार्टीमा आत्मसमीक्षा गर्दै आम नागरिकमा पुग्नुपर्ने विचार राख्नुभयो। विश्वकपको उदाहरण दिँदै उहाँले अहिलेको नेपालको राजनीतिक अवस्था र घटनाक्रम हेर्दा एमबापेले गोल धेरै हाने पनि जित भने मेसीका कारण अर्जेन्टिनाले गरेजस्तो भएको बताउनुभयो।

महामन्त्री शर्माले भन्नुभयो, “धेरै कुरा परिवर्तन गर्नुपर्ने देखिन्छ। हाम्रो निर्वाचन प्रणाली पनि पुनर्विचार गर्नु आवश्यक छ। पाँच वर्षपछि हामी विजयका साथ अघि बढ्ने छौँ।” कार्यक्रममा पार्टी सभापति शुक्रराज शर्माले कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो।