साधन घर्ती
म्याग्दी (दरबाङ), पुस ११ गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका टीकाप्रसाद पुन अहिले ७९ वर्षको हुनुभयो । उहाँको क्रियाशीलता र सक्रियता भने युवाको भन्दा कम छैन । आठ वर्षको उमेरदेखि भेडीगोठ बस्न थाल्नुभएका टीकाप्रसाद आजभोलि पनि अनकन्टार भीर ,पहरा र जङ्गलको बाटो हुँदै लेक र औल गर्नुहुन्छ ।
उहाँले सानै उमेरदेखि बुबाको परम्परागत भेडापालन पेसालाई सम्हाल्दै आउनुभएको छ । उतिखेर गाउँमा विद्यालय नहुँदा टीकाप्रसादले पढ्न पाउनुभएन । ६ महिना औल र ६ महिना लेकका विभिन्न ठाउँमा चरनका लागि भेडीगोठ सार्नुहुन्छ । कात्तिकको दोस्रो साता औल झर्ने उहाँ बर्खा सुरु भएसँगै लेक उक्लनुहुन्छ । एकै ठाउँमा स्थायी बसोबास नहुने भएकाले उहाँको जीवनशैली घुमन्ते छ । लेक जाँदा होओस् या औला झर्दा खाने, बस्ने बन्दोबस्तका सामान साथमै बोकेर गोठसँगै सार्ने गर्नुहुन्छ ।
चरनका लागि एक ठाउँमा दशदेखि पन्ध्र दिनको हाराहारीमा गोठ बस्छ । मान्द्रोले छाएको गोठमा भेडाको ऊनले बुनेको काम्लो र हडौला ओडेर रात कटाउनुपर्छ । कहिलेकाहीँ भेडाको बथानको बीचमा सुत्नुपर्छ । कहिले बाटोमा नै रात कटाउनुपर्ने उहाँ अनुभव सुनाउनुहुन्छ । पुनले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन र आयआर्जन गरिरहनुभएको छ । “मेरा दाजुभाइ र साथीहरू सबै लाहुरे भए, मलाई खै किन हो लाहुर जान मनै लागेन”उहाँले भन्नुभयो । चरनका लागि भेडाको बथान रुकुमको चालुके र बागलुङको बुकी ६ महिना र बाँकी महिना म्याग्दी र बागलुङको सिमाना सोले, म्याग्दीको रानी बासा, रसपुर, घोवाङखोला क्षेत्रको जङ्गलमा लैजानुहुन्छ ।
पुनले पुर्ख्यौली पेसाबाट जीविकोपार्जन र आयआर्जन गरिरहनुभएको छ । पुनसँग अहिले करिब दुई सय बढी भेडा रहेका छन् । उहाँ १४ वर्षको हुँदा चार वर्षको भेडाको साँढलाई बिस रुपियाँ मूल्य पर्दथ्यो भने अहिले त्यत्ति नै उमेरको साँढलाई २८ हजार रुपियाँ पर्छ । वर्षमा खर्च कटाएर करिब दुई लाख रुपियाँ भन्दा बढी आम्दानी हुन्छ ।
भेडा बिक्री गर्न बजारको समस्या छैन । वर्षमा दुई पटक झिकिने भेडाको ऊनबाट काम्लो, हडौला लगायत बुनिन्छ । लेकमा परिवार र गाउँलेसँग प्रत्यक्ष भेटघाट र सम्पर्क नभए पनि फोनमा कुराकानी गर्नुहुन्छ । उहाँलाई श्रीमती र कान्छा छोराले पनि भेडा पालनमा सघाउँदै आउनुभएको छ ।
यो पेसामा चितुवा, बाघ र भालु लगायत जङ्गली जनावरको आक्रमणबाट भेडालाई जोगाउनु अर्को चुनौती हो । हिउँदको समयमा घाँस नपाइने हुँदा भेडालाई चराउन टाढा टाढासम्म पुग्नुपर्ने बाध्यता हुन्छ । सामुदायिक वनमा चराउँदा दस्तुर तिर्नुपर्छ । उहाँले सहयोगी र सुरक्षाको रूपमा गोठमा चार वटा कुकुरसमेत पाल्नुभएको छ । कुकुरले गोठको रक्षा गर्न र जङ्गली जनावर देखेमा भुकेर सङ्केत गर्छन् । बाघ,भालु र स्याल सबैबाट कुकुरले बचाउँछन् पनि ।
भालुसँग जब जम्काभेट
२०६७ कात्तिक १५ गते घटेको घटना टीकाप्रसादका लागि अविस्मरणीय छ । वडा नम्बर ४ कै उपल्लो डल्लाको दुन्दुर भन्ने खर्कमा भेडी गोठ राखिएको थियो । खर्कको नजिकै जङ्गलमा भेडा चराउँदै जाँदा करिब तीन बजेको समयमा भालुसँग उहाँको जम्काभेट भयो । भालुले उहाँ माथि आक्रमण गर्यो । आफूले पनि लौरो र हँसियाले प्रतिकार गर्न खोज्नुभयो ।
भालुले लौरो चपाउन खोज्दा उहाँको दाहिने हातका बुढी र माइली औँला खायो । निधार र टाउकोमा समेत चोट लाग्यो । भालु र टीकाप्रसाद एक अर्काको ढाडमा समाएर लड्दालड्दै उहाँलाई भालुले भुइँमा पछार्यो । करिब ३० मिनेट लडेपछि भालु र टीकाप्रसाद केही तल खसे । हारगुहार गर्दै भालुसँग भिड्नुभएका टीकाप्रसाद केही तल खसेर रुखको घोयलको फेदमा अड्किनुभयो । हारगुहार गरेपछि केही टाढा रहेका साथीहरू आए । घोयलको रुखमा पछारिएपछि भने भालु र आफू छुट्टिएको उहाँले बताउनुभयो ।
साथीहरूले गोठमा बोकेर ल्याएर गाउँमा खबर गरे । कान्छा छोरा,नातिनी,गाउँका स्वास्थ्यकर्मी ,छिमेकी राती नै गोठमा पुगे । गाउँले र आफन्तको सहयोगमा अस्पतालमा उपचार पछि निको भएका थिए ।