कावासोती समाचारदाता
कावासोती, पुस ११ गते । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कार्यले तीव्रता पाएको छ । नवलपुरको गैडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड (क) र दाउन्ने बुटवलसम्मको ४८.५८ किलोमिटरलाई खण्ड (ख) अन्तर्गत राखिएको छ ।
विस्तार भइरहेको सडकको कूल लम्बाई ११३ किलोमिटर छ । सडक निर्माणका क्रममा नवलपुरको ५७ किलोमिटर खानेपानी पाइपलाइन प्रभावित भएको छ । गैँडाकोटदेखी दुम्किबाससम्म ५७ किलोमिटर पाइपलाइन प्रभावित भएको जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।
नवलपुर क्षेत्रका १९ वटा खानेपानी उपभोक्ता संस्थाहरु, मुख्य सडकसँग जोडिएका करिब पाँच हजार घरको पाइप, राजमार्ग बाहेकका अन्य क्षेत्रका २५ हजार घर प्रभावित भएको उहाँले बताउनुभयो ।
सडकसँगैका कल्भर्ट, पुल निर्माणका क्रममा खानेपानीको पाइपमा क्षति पुगेको हो । पाइपलाईन विस्तार र यसमा आउने विभिन्न समस्या समाधानका लागि करिब १० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
पहिले विछ्याइएका पाइप ६३ मिलिमिटरका पाइपहरु रहेको बताउँदै उहाँले दिगो रुपमा हुनेगरी ११० मिलिमिटरका पाइपलाइन विस्तारको प्रयास भइरहेको समेत उहाँले बताउनुभयो । सुरुमा ‘इआईए’ गर्दा ११३ किलोमिटर क्षेत्रभित्र पर्ने नौ हजार दुई सय रुख कटान गरिने उल्लेख भए पनि सो सङ्ख्या बढेर ४९ हजार ८६० पुगेको इन्जिनियर डीपी जैसीले बताउनुभयो ।
सडक आयोजनाको अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको छ । सो सडकको दुई तिर रहेका चार हजार ८३९ विद्युत पोल, एक हजार २५ वटा टेलिफोनको पोल र २०२ सोलार पोलसमेत सार्ने कार्य भइरहेको छ ।
यस सडकमा ४३ वटा ठूला, ३९ वटा साना र ४६२ वटा कल्भर्ट पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १२ स्थानमा पुल निर्माणको काम भइरहेकोे छ । २२ साना पुलमध्ये १३ स्थानमा काम सकिएको छ भने अन्यमा काम भइरहेको छ ।