• ९ मंसिर २०८१, आइतबार

म्याग्दीको गुर्जाबाट गर्भवतीको उद्धार

blog

तस्बिर सौजन्य : गुर्जा स्वास्थ्य चौकी

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस ११ गते । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका १ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्धार गरी पोखरा पुर्याइएको छ । 

गर्भवती व्यथा लागेकी ३० वर्षीय अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको समन्वयमा हेलिकप्टरबाट उद्धार गरेर पोखरा मणिपाल शिक्षण अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ । पोखरा पुर्याइएकी छन्त्यालले अस्पतालमा छोरीलाई जन्म दिनुभएको छ । 

शनिवार बिहान ७ बजेदेखि सुत्केरी व्यथा लागे पनि आइतबार दिउसोसम्म बच्चा जन्माउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । अस्पतालमा चिकित्सकको निगरानीमा छन्त्यालबाट साँझ साढे ६ बजेतिर छोरी जन्मिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आमा र बच्चाको स्वास्थ्य राम्रो छ । 

लामो समयसम्म सुत्केरी व्यथा लागेको देखिएपछि गुर्जा स्वास्थ्य चौकका अनमी रोशनी सुनार र चोलमाया छन्त्यालले गाउँपालि,वडा र स्वास्थ्य कार्यालय म्याग्दीसँग समन्वय गरेर हेलिकप्टरबाट पोखरा पुर्याइएको थियो । गुर्जामा अझै सडक सुविधा पुगेको छैन ।