• १९ वैशाख २०८१, बुधबार

तस्बिरमा मौलिकता र पहिचान

blog

परम्परागत पोशाकमा सजिएर बाँसको ढुङ्ग्रोमा कोदोको तङ्बा चाख्ने तयारी गर्दै सहभागी । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, पुस ९ गते। पाँचथर र तेह्रथुम जिल्लालाई सिमाना छुट्याएर बग्ने तमोर नदी किनारमा शनिबार एउटा बेग्लै मौलिकता र पहिचान देखियो। मौलिकता र पहिचान झल्किने कार्यक्रममा सहभागी पुरुष दौरा सुरुवाल, ढाकाटोपी र सिलामसाक्मामा सजिएका थिए भने महिला ढाकाको सारी, चोलो र सु पोत लगाएर गहनामा सजिएका थिए। पृष्ठभूमि पाःलाम गुन्जिरहेको सुनिन्थ्यो भने च्याब्रुङ बजाएर नाच्नेको ताँती पनि उत्तिकै मनमोहक लाग्थ्यो।

लोप हुनै लागेको भेषभुषा, संस्कृति, भाषा र मौलिकताको जगेर्नाका विभिन्न किसिमका अभियान सञ्चालन भइरहने पाँचथरमा वनभोजमा समेत संस्कृति पोसाकले फरक पहिचान दिएको हो। 

उक्त कार्यक्रममा जिल्लाका आठ मध्ये सात वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई अतिथि बनाइएको थियो।

कार्यक्रममा भेषभुषा र संस्कृतिसँगै खानेकुरा पनि प्रायः मौलिक थिए। जहाँ बाँस काटेर बनाइएको ढुङ्ग्रोको तोङबा, गुन्द्रुक, याङवेन (ढुंङगाको झ्याउ) राखिएको थियो।

विदेशी संस्कारमाथिको आकर्षणलाई रोक्न यस्तो कार्यक्रम आयोजना गरेको किराँत याक्थुङ चुम्लुङका पूर्व जिल्ला अध्यक्ष चन्द्रकुमार आङदेम्वेले बताउनुभयो।