• १२ असोज २०८१, शनिबार

खर्चिलो र झन्झटिलो अर्गानिक प्रमाणीकरण

चिया किसानलाई सहयोग गर्दै बोर्ड

blog

कोकिला ढकाल

इलाम, पुस ७ गते  । किसान र चिया उद्योगीका लागि निकै खर्चिलो र बाध्यात्मक रहेको चियाको अर्गानिक प्रमाणीकरणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सहयोग नीति अगाडि सारेको छ । अर्गानिक प्रमाणीकरण तथा बर्सेनि नवीकरण गर्ने चिया किसान र उद्योगलाई नवीकरणबापतको केही शुल्क सहयोग गर्न प्रक्रिया सुरु गरेको छ । 

बोर्डले यसअघि चियाको लोगो प्राप्त गर्ने उद्योग र सहकारीमा आबद्ध किसानलाई नवीकरण शुल्कको ७५ प्रतिशत नगदमै भुक्तान गर्ने गरी प्रक्रिया थालेको जनाइएको छ । त्यसका लागि बोर्डले किसान र उद्योगबाट निवेदन आह्वान गरेको थियो । इलामका लागि मात्र सुरु गरिएको यो योजनामा ११ उद्योग र सहकारी संस्थाले निवेदन दिएको र अन्य पनि निवेदन आउने प्रक्रिया रहेको बोर्डका गणेश रसाइलीले जानकारी दिनुभयो । 

रसाइलीका अनुसार अहिलेसम्ममा इलामका गोर्खा टी स्टेट, नेपाल ग्रिन एन्ड स्पेस्यालिटी, अर्गानिक नेपाल टी इन्ड्रस्टिज, ग्रिन हिल टी, साँखेजुङ हिल रेन्ज, ग्रिन भ्याली टी, कञ्चनजङ्घा अर्गानिक टी, मिस्टभ्याली, तीनजुरे सहकारी संस्था, हिमालयन साङ्ग्रिला र उच्च पहाडी चिया सहकारीले अर्गानिक प्रमाणीकरणको नवीकरणका लागि सहयोग माग गर्दै निवेदन दिएका छन् । प्राप्त निवदेनमाथि अध्ययनका लागि चिया तथा कफी विकास बोर्डको एक टोली खटिएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो । बोर्डले गएको वर्षदेखि चियाका लागि सञ्चालन गरिरहेको ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’अन्तर्गत किसान र उद्योगलाई सहयोग गर्नेछ । 

कोभिड–१९ सङ्क्रमण सुरु भएदेखि नै धेरै किसान र उद्योगले अर्गानिक प्रमाणीकरण नवीकरण गरेका छैनन् । तेस्रो मुलुकमा उच्च माग रहेको नेपाली चिया पठाउन ती देशमा अर्गानिक प्रमाणीकरण हुन अनिवार्यजस्तै छ ।  

वार्षिक छ लाख खर्च

नवीकरणका लागि वार्षिक छ लाख रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको इलाम माईपोखरीस्थित जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले बताउनुभयो । सुब्बाका अनुसार ग्रिन टी, गोल्डन टी, ह्वाइट टी, ओलङ टी गरी विभिन्न स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराए पनि उनीहरूको एउटै मात्र सर्त अर्गानिक चियाको मापदण्ड पुग्नुपर्छ । “यो वर्ष पनि चिया माग आएको छ, कसरी पठाउने भन्ने समस्या छ । विदेशीको पहिलो सर्त नै अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र हुन्छ,” सुब्बाले भन्नुभयो । कम्तीमा तीन/चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहँदा खर्च धान्न भने निकै मुस्किल पर्ने गरेको किसान बताउँछन् । 

प्रमाणीकरणका लागि पनि सम्बन्धित संस्थामा निवेदन दिएपछि त्यस किसान र चियाको तीन वर्षसम्म निरन्तर अनुगमनको खर्च किसान आफैँले बेहोर्नुपर्छ तर राम्रो मूल्य पाउन र विदेश निर्यात गर्न अर्गानिकको विकल्प पनि नभएको तीनजुरे सहकारी संस्थाका व्यवस्थापक शरद शर्माले बताउनुभयो ।

एक दर्जनले पाए प्रमाणीकरण

साँखेजुङको उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेटअन्तर्गत सुन्दरपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणीकरण गरिसकेका छन् । साँखेजुङको ग्रिन हिल, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जितपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणीकरणका लागि युरोपियन अर्गानिक एजेन्सी सेरेस र आईओएमबाट अर्गानिक प्रमाणीकरण गराएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।