• १३ साउन २०८१, आइतबार

रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकको भ्रमण

blog

गौरीशङकर हिमाल । तस्बिर : गोरखापत्र

बाबुराम शर्मा 

दोलखा, पुस ६ गते । दोलखा स्थितको रोल्वालिङ हिमशृङखला क्षेत्रमा ४१६ विदेशी नागरिकले भ्रमण गरेका छन् । पर्यटन सिजनमा ३९ देशका ४१६ विदेशी नागरिकले गौरीशङकर संरक्षण क्षेत्रको पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका गौरीशङकर संरक्षण क्षेत्रका प्रमुख मधु क्षत्रीले जानकारी दिनुभयो । 

संरक्षण क्षेत्रको तथ्याङक अनुसार सबैभन्दा धेरै ७१ जना फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । अमेरिकाबाट ४८, जर्मनबाट ४२, बेलायतबाट ३१, स्पेनबाट २८, अष्ट्रेलिया २२ स्वीट्जरल्यान्डबाट १७, क्यानडाबाट १४, जापनबाट नौ जनालगायत रहेका छन् ।


यहाँ पाँच हजारभन्दा माथिका थुप्रै हिमालहरु रहे पनि सात हजार १३४ मिटर उचाइको नेपालको समय मापनको विन्दु मानिएको र धार्मिक परम्परानुसार गौरीशङकर हिमालको आरोहणको अनुमति रहेको छैन । संघीय राजधानी काठमाडौंबाट दोलखा नजिकै भए पनि पर्यटकीय गतिविधि खासै गर्न सकिएको छैन ।

धार्मिक तथा प्राकृतिक रुपमा सम्पन्न दोलखा आफैमा पर्यटकीय गन्तव्य हो । दोलखामा पर्यटक ल्याउने गुरु योजनाहरु भने अझै अलमल देखिएको सरोकारवालाहरु बताउँछन् । गौरीशङकर हिमाललाई समेटेका यस संरक्षण क्षेत्रभित्र माथिल्लो तामाकोशी, भोटेकोशी, खिम्ती, सुनकोशी आदि नदीहरू पर्दछन् । विश्व प्रख्यात च्छोरोल्पा हिमताल, दूध पोखरी, पाँच पोखरी, जटा पोखरी, भैरव कुण्ड र बहुला पोखरीजस्ता प्रख्यात क्षेत्र पनि यसैभित्र पर्दछन् ।

नेपाल सरकारले २०६६ पुष २७ गते राजपत्रमा सूचना प्रकाशित गरी विधिवत घोषणा गरेको गौरीशङकर संरक्षण क्षेत्रको पूर्वमा सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । यस क्षेत्रको व्यवस्थापन सरकारले २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सुम्पिएको छ ।