काठमाडौँ, पुस ३ गते । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बाँडफाँट गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँट गरिएको हो ।
कम्पनीले प्रति शेयर रु. १०० अङ्कित दरका कुल पाँच लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कुल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख ५१ हजार आठ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
निष्कासित शेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिएका थिए ।
बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।