• १३ साउन २०८१, आइतबार

महेन्द्रको जाग्राम, बीपीको अनिँदो

blog

वि.सं २०१७ पुस १ गते राजा महेन्द्रले व्यवस्थामाथि नै ‘कु’ गरेर आफूलाई नजरबन्दमै राख्ने आँट गर्छन् भन्ने विश्वास बीपी कोइरालालाई थिएन। राजाले केही न केही कदम चाल्दैछन् भन्ने जानकारी र अनुमान त बीपीमा नहुने कुरै थिएन। 

राजनीतिक ‘कु’को दुई दिनअघि आफू र राजासित बिदा मागेर सुवर्णशमशेर राणा कलकत्ता निस्केपछि भने बीपीलाई नराम्रो झस्का पसेको थियो तर बीपी विचलित हुनुभएको थिएन। बीपीसित सुवर्णशमशेरले राजाले ‘कु’ त गर्छन् तर अहिले गर्दैनन् भनेर विश्वास दिलाउनुभएको थियो । बीपीले सुवर्णशमशेरले दरबारिया भाषा बोलेको भन्नुभएको छ। तत्काल बेलायती महारानीको नेपाल भ्रमणको रहेकाले राजाले राजनीतिक ‘कु’ गर्दैनन् भन्ने सुवर्णको विश्वास थियो। यसपछि भने परिस्थितिलाई केही गरी मिलाउनुपर्छ भन्ने भनाइ सुवर्णशमशेरको रहेछ। 

बीपीलाई साथ छोड्न पनि नसक्ने अनि राजनीतिक ‘कु’को नाममा सुवर्णशमशेरलाई बन्दी जीवनमासमेत उचित नहुने निचोड निकाल्दै महेन्द्रले तेस्रो विकल्पका रूपमा उनलाई विदेश जाने उपाय सुझाएका रहेछन्। महेन्द्रलाई डा. तुलसी गिरीले नै यो उपाय सुझाएको विश्लेषण गरिन्छ । राजासित बिदाइ भएर बीपीकहाँ पुगेका सुवर्णशमशेरलाई बीपी र गणेशमान सिंहले विमानस्थलमा पुगेर बिदाइ गर्नुभएको थियो। सुवर्णशमशेर विदेश जानु, उनी विदेश गएकै दिन राजा र बीपीका बीचमा दरबारमा भनाभन हुनु अनि राजाले विश्वेश्वर बाबु कि तपाईं छोडिदिनुस् म चलाउँछु कि म चलाउँछु तपाईं छोडिदिनुस् भन्नेसम्मको कुरा भएपछि राजनीतिलाई नजिकबाट नियालिरहेका बीपीले राजनीतिक ‘कु’को पूर्वानुमान नगर्ने कुरै थिएन। फेरि बीपीलाई गणेशमान, रामनारायण मिश्र, भरत शमशेरलगायतले बीपीलाई राजनीतिक ‘कु’को बारेमा जिज्ञासा मात्र होइन सजगसमेत गराएका थिए। 

बीपीले सबै नेताहरूलाई जिम्मेवारी छोड्न नमिल्ने र यो चरण पार गर्नैपर्ने जवाफ दिनुभएको थियो। खासमा बीपीविरुद्ध एक खालको राजनीतिक घेराबन्दी नै भइसकेको थियो। भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू स्वयं बीपीको पक्षमा थिएनन् भने आफ्नै सहकर्मी तुलसी गिरी, विश्बबन्धु थापा मात्र होइन सूर्यप्रसाद उपाध्यायको समेत आफूले साथ नपाएको अनुभव बीपीले गर्नुभएको थियो। राजनीतिक ‘कु’को अघिल्लो दिन मात्रै धर्मपत्नी सुशीला कोइराला विराटनगरतिर हिँडेपछि अघिल्लो रात बीपी झन्डै अनिँदो नै हुनुभएको रहेछ। ‘कु’ हुनुअघिको भेटमा बीपी निकै आत्तिएको आफूले पाएको डायमनशमशेरले आफ्नो स्मरणमा उल्लेख गर्नुभएको छ। बीपीले डायमनजी हल्ला त धेरै नराम्रो सुनिन्छ कुरा के हो भन्ने जिज्ञासा राख्नुभएको रहेछ। बीपी र डायमन शमशेरबीच यो संवाद हुँदा राजनीतिक ‘कु’को घटनाक्रम निकै अघि बढिसकेको रहेछ। घटनाक्रमका बारेमा जानकार भए पनि त्यसलाई प्रतिरोध गर्नेतर्फ भने बीपीले कुनै तयारी पनि नगर्नुभएको देखिन्छ। 

सावधानीपूर्वक अघि बढ्दै महेन्द्र 

राजनीतिक ‘कु’को निर्णयको बेला राजा महेन्द्र स्वदेश र विदेशी दुवै पक्षसित निकै डराएका थिए र सावधानीपूर्वक अघि बढेका थिए। खासगरी स्वेदशमा राजनीतिक ‘कु’को बारेमा जनताको धारणा के हुन्छ भन्ने चासो र अर्कोतिर विदेशी शक्तिले यसलाई कसरी लिने हुन् भन्नेमा पनि महेन्द्रको चिन्ता देखिन्छ। महेन्द्रले यस विषयमा नेहरूसित छलफल गरेका थिए। डायमनशमशेरका अनुसार, राजा महेन्द्रले नेहरूसित एक दुई वर्ष म चलाउँछु, रहर पनि छ, त्यसपछि म फिर्ता गर्छु तपाईं (नेहरू) ले भनेझै गर्छु भनी नेहरूलाई भनेका रहेछन्। तर त्यो एक दुई वर्ष कहिल्यै आएन। नेहरूसित महेन्द्रको जे परामर्श भए पनि भारतले नेपालको राजनीतिक घटनाक्रमको भने कडा शब्दमा विरोध गरेको थियो। यस विषयमा नेहरूले भारतको संसद्मा नै बोलेका थिए। 

चतुर राजा महेन्द्रलाई बीपी प्रधानमन्त्री भएको सुरुबाटै चित्त बुझेको थिएन। भारतका प्रधानमन्त्री नेहरू त बीपीको बढ्दो राजनीतिक उचाइका कारण खुसी हुन नसकेका बेला बीपी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री भएको कुरा महेन्द्रलाई चित्त बुझ्ने कुरै थिएन। खासमा बीपी र महेन्द्रबीच व्यक्तिगत टकराव थियो। राजा हुँ भन्ने उन्माद महेन्द्रमा थियो, बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री अनि फिँजारिएको व्यक्तित्व। २०१७ सालको राष्ट्रसङ्घको महासभामा नेपाली प्रमण्डलको नेतृत्व गर्दै बीपी अमेरिका जानुभएको थियो। 

भारतका प्रधानमन्त्री पण्डित नेहरू, रुसका प्रधानमन्त्री निकिता खुश्चेभ, नेपालका प्रधानमन्त्री बीपी महाधिवेशनका प्रखर वक्ता हुनुहुन्थ्यो। बीपीको भाषणले सम्मेलनमा हलचल नै भएको थियो। बीपीको व्यक्तित्वको विश्वमा नै चर्चा र महìवपूर्ण कद बनेको थियो र सानो देश नेपालले ठूलो सम्मान पाएको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा बीपीको व्यक्तित्व उच्च कोटीको देखेर राजा महेन्द्रले सैन्य बलबाट सरकारलाई हटाउन खोजका थिए। झन् त्यसमाथि १५ वर्ष शासन गर्ने बीपीको महìवाकाङ्क्षा सुनेपछि त महेन्द्र झनै विचलित नै भएका थिए। यसपछि त जसरी हुन्छ शासन व्यवस्था मात्र होइन बीपीलाई पनि नियन्त्रणमा लिने र सक्रिय शासन व्यवस्था सञ्चालन गर्ने निर्णयमा महेन्द्र पुगे। महेन्द्रले सैनिक ‘कु’को बलमा शासन लिने योजना बनाए पनि यसको सुइँको कसैले पाएको थिएन। राजाले सैनिक ‘कु’ गर्छन् भन्ने अनुमान उनका राजनीतिक सहयोगीले गरे पनि कुन दिन के हुन्छ भन्ने अनुमानचाहिँ कसैले गर्न सकेको रहेनछ। 

महेन्द्र पनि जाग्राम

सम्भावित राजनीतिक ‘कु’बाट बीपी र कांग्रेसका नेता जति त्रसित थिए राजा महेन्द्र पनि बेचैन रहेछन्। महेन्द्रको तयारी हेर्दा पुस १ को घटनाको जानकारी उनले कसैलाई दिएका थिएनन्। आकलन मात्रै धेरैले गरेका थिए। सेना पुलिस कसैसित पनि राजाको विश्वास थिएन। पत्रकार जगत नेपालले बीपी महेन्द्र टकराव पुस्तकमा उल्लेख गरेअनुसार महेन्द्रले तत्कालीन सेनापति र प्रहरी प्रमुखलाई पुस १ गते बिहान मात्रै बोलाएर आफूले लिन लागेको निर्णयका बारेमा जानकारी गराएका थिए। तर सेनापतिले राजाको कदमको पक्षमा उभिन नसकेपछि दरबारभित्रका जनरल समरबहादुर कुँवरको नेतृत्वमा तरुण दलको अधिवेशनमा सहभागी बीपीलगायतका पार्टीका मुख्य नेतालाई नियन्त्रणमा लिन खटाएका थिए। यतिसम्म गोपनीयता राखेका थिए महेन्द्रले। निर्वाचित सरकारलाई अपदस्थ गर्न सेनाले साथ दिने हो कि होइन भन्ने त्रासमा रहेछन् महेन्द्र। पुस १ को अघिल्ला साँझ महेन्द्रसित दरबारमा भेटेका पूर्वसेनापति रुकमादङ्ग कटुवालले पनि राजा महेन्द्र त्यो रात जाग्रामजस्तै रहेको आफ्नो स्मरणमा उल्लेख गर्नुभएको छ। अन्ततः लामो तयारीपछि राजाले बीपीलगायतका सबै नेतालाई नियन्त्रणमा लिएर राजनीतिक ‘कु’को योजनालाई पूरा गरे। 

राजाले बीपीलाई नियन्त्रणमा लिँदा दिनको १२/१ को हाराहारीको भएको बीपीले आत्मवृतान्तमा उल्लेख गर्नुभएको छ। यसरी २०१५ सालको आमनिर्वाचनपछि दुईतिहाइ जनमतको समर्थनमा सिंहदरबारको यात्रा तय गरेका बीपी झन्डै १८ महिनाको शासन सञ्चालन गरेपछि राजाका सेनाको नियन्त्रणमा परेर पुस १ गते दिउँसो फेरि सिंहदबारमा नै पुग्नुभयो। सेनाले बीपीलाई नियन्त्रणमा लिएपछि सिंहदबारको बिलियर्ड रुममा लगेर राखेको थियो। बीपीले राजाले राजनीतिक ‘कु’को पूर्वजानकारी कसैलाई नदिएको र आफ्नै छातीभित्र मात्रै राखेको उल्लेख गरेबाट महेन्द्रले कति हदसम्म गोपयनीयता काम गरेका थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ। नियन्त्रणमा लिएका नेताहरूलाई कसरी कहाँ राख्ने, खानपिनलगायतको व्यवस्था मिलाउने भन्ने खालको कुनै तयारी नगरी राजाले नियन्त्रणमा लिने मात्र योजना बनाएको र बाँकी सबै तयारी पछि मात्र गरेको उल्लेख गर्नुभएको छ। सबै नेतालाई नियन्त्रणमा लिएपछि राजाले तीन बजे मात्र रेडियोबाट यसको घोषणा गरेका थिए। 

पुस २ को भ्रमण अधुरै रह्यो 

बीपीलाई बन्दी बनाइएपछि बीपीका धेरै योजना भ्रमण अधुरै रहे। यस्तै घटना हो सिन्धुपाल्चोकको। २०१७ साल मङ्सिर तेस्रो साता बीपीले तत्कालीन क्षेत्र नं. ७ चौतारा पूर्व उत्तरबाट विजयी पार्टीका सांसद चन्द्रलाल श्रेष्ठलाई मलाई सिन्धुपाल्चोक जाने इच्छा छ, तिम्रो जिल्लामा के कस्ता समस्या छन्, सबै बुझ्छु अनि राजधानी फर्किएर आवश्यक बजेटको तर्जुमा गरौँला भन्नुभएछ। चन्द्रलालले बीपी जिल्लामा जाने हो भने आफू पूर्वनिर्धारित अमेरिका भ्रमणमा नजाने निर्णय लिनुभयो। अमेरिका जान त्यस्तै १०/१२ दिन बाँकी थियो। पार्टीका नेता विश्वबन्धु थापा समेत सहभागी राष्ट्रसङ्घको बैठकमा अमेरिका जाने उहाँको पूर्वनिर्धारित कार्यक्रम थियो। बीपीको प्रस्तावपछि त्यो भ्रमण रोकियो। बीपीसँगको सल्लाहबमोजिम चन्द्रलालले प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि जिल्ला फर्कनुभयो। बीपीको पुस २ गते चौतारा जाने निधो भयो। बीपीको पुस १ गते पूर्वनिर्धारित तरुण दलको प्रथम अधिवेशन सकेर २ गते पार्टी भञ्ज्याङ आउँछु तिमी त्यही आउनु भन्ने निर्देशन बीपीले दिएपछि चन्द्रलाल जिल्लाका समस्याका सम्बन्धमा साथीभाइसित सल्लाह गर्न जिल्लामा जानुभयो। पुस १ गते सांसद श्रेष्ठ घोडा चढेर दलबलसहितको टोली तामाराङ गएर बस्यो। भोलिपल्ट २ गते बिहान प्रधानमन्त्री लिन चन्द्रलाल पार्टी भन्ञ्याङ पुगे बिहानको १० बजे। प्रधानमन्त्रीको सवारी चलाउन गएका तत्कालीन बडाहाकिम कुलविक्रम राणा र उनीसँगै भएका सुरक्षाकर्मी घोडा चढेर फर्के। बडाहाकिमले चन्द्रलाललाई नमस्ते पनि गरेनन्। अघिपछि त नमस्ते गर्थे आज किन गरेनन् भन्ने चन्द्रमानलाई अचम्म लाग्यो। बडाहाकिम राणाले हामी त गयौँ भनेर हिँडे। बीपी आउने बेलामा बडाहाकिम फर्केको देख्दा चन्द्रलाललाई अचम्म लागेछ। 

सिपाही पनि हाँस्दै फर्र्केछन्। चन्द्रलाललाई आफू अपमानित भएको महसुस भएछ र उहाँले स्थानीय जनतासित सोधपुछ गर्नुभएछ। बीपी गणेशमानजी लगायतका नेतालाई पुस १ गते सैनिकले नियन्त्रणमा लिदा दिउँसोको १ बजेको थियो। त्यसदिन बीपीले त बिहानको खाना पनि खानुभएको थिएन। कार्यक्रम सकिएपछि खाना खाने योजना रहेको बीपीको। सबै नेतालाई नियन्त्रणमा लिएपछि राजाले दिनको ३ बजे रेडियो नेपालबाट त्यसको घोषणा गरेका थिए। सांसदले चन्द्रमान श्रेष्ठले बीपीको भ्रमणको तयारीमा व्यस्त रहेका कारण रेडियोको त्यो खबर सुन्नु भएनछ। राजनीतिक ‘कु’ को कुरा पुस २ गते १ बजे रेडियो नेपाल सुनेर चन्द्रमानलाई अचम्म लागेछ। त्यसपछि उनी चौतारा हुँदै राजधानी फर्किए। यसरी पुस १ गतेको राजनीतिक ‘कु’ पछि बीपीको सिन्धुपाल्चोक जाने रहर पूरा भएन। 

महेन्द्रको शासन आफैँले सञ्चालन गर्ने हठले गर्दा मुलुकमा २०१५ सालदेखि नै निर्वाचित सरकारले काम गर्ने वातावरण बन्न सकेन। राजनीतिक ‘कु’पछि बीपी र कांग्रेसका नेताहरूमा मात्र नजरबन्दमा परेनन् तीस वर्षसम्म प्रजातन्त्र नै नजरबन्दमा प¥यो। विकास र समृद्धिको बीपीको सपना पूरा हुन नसक्दा मुलुकले पनि आशातीत फड्को मार्न सकेन। महेन्द्रमा त्यतिबेला राजनीतिक ‘कु’को उन्माद नजागेको भए नेपालको लोकतान्त्रिक यात्रा त परिपक्व दिशामा अघि बढ्ने थियो नै विकासले पनि पक्कै छलाङ मार्ने थियो।