• ९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि

blog

प्रधानमन्त्री शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर २९ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपाल तरुण दलका पूर्वमहासचिव एवम् काठमाडौं नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो ।

स्व चित्रकारको शव श्रद्धाञ्जलिका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो । प्रधानमन्त्री देउवाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनमा स्व चित्रकारले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो ।

स्व.चित्रकारप्रति कांग्रेस नेता प्रकाशमान सिंह, अर्जननरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीरअस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ः३० बजे निधन भएको थियो ।


स्व. चित्रकारको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । राजनीतिमा विद्यार्थीकालदेखि सक्रिय चित्रकारले राजनीतिक जीवनमा चार वर्ष जेल जीवन बिताउनुभएको थियो । विसं २०३८ मा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौं महानगरको प्रधानपञ्च बन्नुभएका चित्रकारले प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने ‘सब वे’ निर्माण गर्नुभएको थियो ।

काठमाडौंका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भिडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दुःख थाहा थियो । त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने गरी सबैभन्दा पहिला रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाएर काम गर्नुभएको थियो ।