• १३ साउन २०८१, आइतबार

अन्तर्राष्ट्रिय गतिविधि

पेरुमा पहिलो महिला राष्ट्रपति

blog

पेरुमा उपराष्ट्रपति डिना बोलुआर्ते राष्ट्रपति बनिन्। एक दिनको राजनीतिक घटनाक्रमले उनलाई राष्ट्रपति बन्ने सौभाग्य मिल्यो। राष्ट्रपति पेड्रो क्यास्टिओलाई संसद्ले महाभियोग लगाएर पदमुक्त गरेसँगै बोलुआर्ते पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी हुन्।  राष्ट्रपति क्यास्टिओले डिसेम्बर ७ मा संसद् भङ्ग गर्न लागेको सूचना पाएपछि आपत्कालीन संसद् बैठक बोलाइएको थियो । संसद्ले उनीविरुद्ध महाभियोग लगाएर पदमुक्त गरेपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ।

६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताएकी छन्। शपथ ग्रहण गरेपछि उनले अहिलेको सङ्कट निवारणका लागि राजनीतिक शान्ति सम्झौता आवश्यक रहेकोमा जोड दिएकी छन्। उनले भनिन्, “यो देशलाई बचाउन मलाई थोरै समय चाहिन्छ।” सन् १९६२ को मे ३१ मा पेरुको चाल्हुआन्कामा जन्मेकी बोलुआर्तेले लामो समय कानुन व्यवसायीका रूपमा काम गरिन्। कानुनमा एलएलबी गरेकी उनी फ्रि पेरु पार्टीमा आबद्ध भई राजनीतिलाई पनि सँगसँगै अघि बढाइन् । उनी सन् २०२१ मा उपराष्ट्रपति बनिन्। 

डिसेम्बर ७ मा पेरुमा एकाएक नाटकीय रूपमा राजनीतिक घटनाक्रम विकास भयो। राष्ट्रपति पदबाट मुक्त हुनुअघि क्यास्टिओले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै मुलुकमा सङ्कटकाल घोषणा गरे। उनले विपक्षी दलको बहुमत रहेको संसद् भङ्ग गरे। त्यसपछि सरकारका धेरै मन्त्रीले त्यसको विरोध गर्दै राजीनामा दिए।

त्यसलगत्तै विपक्षी पार्टीहरूले संसद्को विशेष अधिवेशन बोलाए। राष्ट्रपति क्यास्टिओविरुद्ध महाभियोग लगाइयो। महाभियोगको पक्ष–विपक्षमा मतदान भयो। महाभियोगको पक्षमा १०१ र विपक्षमा छ जना सांसद रहे। १० जना सांसदले भने मतदानमा भाग लिएनन्। राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव पारित भएपछि क्यास्टिओलाई प्रहरीले नियन्त्रणमा लियो । उनी सन् २०२१ मा राष्ट्रपति निर्वाचित भएका थिए। 

पेरु राजनीतिक घटनाक्रमले बेलाबेलामा चर्चामा आइरहने मुलुक हो। महाभियोग लगाएर हटाइएका राष्ट्रपति कास्टिओले सत्ता सम्हालेकै वर्ष त्यहाँका क्रान्तिकारी कम्युनिस्ट नेता गोन्जालोको मृत्यु भयो। उनको मृत्युसँगै त्यहाँ एउटा क्रान्तिको अध्याय समाप्त भयो। त्यहाँको विद्रोही कम्युनिस्ट पार्टी अर्थात् साइनिङ पाथले गरेको क्रान्ति असफल भयो। साइनिङ पाथले सशस्त्र विद्रोहमार्फत मुलुकको ८० प्रतिशतभन्दा बढी भूभाग कब्जा गरेको थियो। केन्द्रीय सत्ता र राजधानी लिमा मात्र कब्जा गर्न बाँकी रहेका बेला संस्थापक नेता गोन्जालोसहित छ सयभन्दा बढी नेता पक्राउ परेपछि विद्रोह तहसनहस भयो।  गोन्जालोलाई तत्कालीन अल्वर्टो फुजिमोरी सरकारले आजीवन काराबासको सजाय दियो। अन्य नेताले सरकारसमक्ष आत्मसमर्पण गरे। गोन्जालोको २०२१ सेप्टेम्बर ११ मा ८६ वर्षको उमेरमा कारागारमै मृत्यु भयो। 

अविमायल गुज्मन रेनोसो थियो गोन्जालोको पूरा नाम। तर उनी गोन्जालो उपनामले चर्चित भए। दर्शनशास्त्रका प्राध्यापक उनले सन् १९९२ देखि कठोर आजीवन कारावासको सजाय भोगे। पेरुमा सन् १९८१ देखि गोन्जालोको नेतृत्वमा चलेको एक दशकभन्दा लामो सशस्त्र द्वन्द्वका क्रममा झन्डै ७० हजार मानिसको ज्यान गयो। 

गोन्जालो गरिब थिएनन् तर उनलाई गरिबी मुलुकको सबैभन्दा ठूलो समस्या हो भन्ने थाहा थियो। धनी परिवारमा पेरुको दक्षिणी किनार नजिकैको मोलेन्डो सहरमा सन् १९३४ डिसेम्बर ३ मा गोन्जालोको जन्म भएको थियो। सानै छँदा उनले आमा गुमाए। बाबु धनाढ्य व्यापारी थिए। उनले नै गोन्जालोको पालनपोषण गरे। बाल्यकालमा गोन्जालोले अभाव महसुस गर्नु परेन । उनले एक निजी क्याथोलिन माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पाएपछि अरेक्किपा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरे। त्यहाँ उनले जर्मन दार्शनिक इम्मानुयल कान्टबारे थेसिस गरेका थिए। विश्वविद्यालयको पढाइकै क्रममा उनी माक्र्सवादप्रति आकर्षित भए। सन् १९६२ मा उनी सान क्रिस्ट्रोल अफ हुवामान्गा राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक भए। सन् १९६५ मा चीन भ्रमण गरेपछि उनी माओत्सेतुङबाट प्रभावित भए। पेरु फर्किएपछि उनी कम्युनिस्ट विचार राख्नेहरूसँग नजिक भए। सन् १९६९ मा गोन्जालोसहित ११ जनाले साइनिङ पाथ नामको कम्युनिस्ट पार्टी खोले। गोन्जालो आफू गरिब नभए पनि मुलुकमा व्याप्त गरिबी र असमानता देखेर उनले त्यसलाई अन्त्य गर्न सशस्त्र जनवादी क्रान्ति गरी कम्युनिस्ट सत्ता स्थापना गर्नुपर्ने निष्कर्षमा पुगे। 

गोन्जालोको पार्टीले सन् १९८१ देखि सशस्त्र विद्रोह सुरु ग¥यो। पार्टीमा झन्डै १० हजार सदस्य लडाकु बने। विद्रोह उत्कर्षमा पुगेका बेला सन् १९९२ मा गोन्जालो र उनकी प्रेमिका इलेना इपरागुइरे पक्राउ परे। उनीहरूलाई सैनिक अदालतले आजीवन कारावासको सजाय तोक्यो।  पेरुको सैनिक सरकारले सन् १९८० मा चुनाव घोषणा गरेपछि गोन्जालोमाथि दबाब बढ्यो । साइनिङ पाथले यो निर्वाचन बहिस्कार गर्ने मात्र होइन, हिंसात्मक गतिविधि ग¥यो। हिंसाले उग्र रूप लियो। सरकार घुँडा टेक्ने अवस्थामा पुग्यो। सरकारले सङ्कटकाल लगाएर व्यापक दमनचक्र चलायो। 

सन् १९९२ को सेप्टेम्बरमा गोन्जालोसहितका नेताहरू पक्राउ परे। तीन दिनसम्म सुनुवाइ चलेपछि गोन्जालोमाथि आजीवन जेल सजाय तोकियो। तत्कालीन राष्ट्रपति अल्बर्टो फुजिमोरीको सरकारले कानुन संशोधन गरेर कडा बनाएको थियो। गोन्जालोलाई सान लोरेन्जो टापुस्थित जलसेनाको अखडामा लगेर थुनियो। सन् १९९३ अक्टोबरमा छ सयभन्दा नेता र कार्यकर्ताले सरकारसमक्ष आत्मसमर्पण गरेसँगै उनको पार्टी टुक्रा–टुक्रा भयो। तर पनि सन् १९९९ सम्म साइनिङ पाथका नाममा ससाना हिंसात्मक घटना भए। त्यसपछि भने साइनिङ पाथ विघटन भयो। 

सन् २००४ मा गोन्जालोमाथि अर्को लामो सुनुवाइ सुरु भयो। सन् २००६ मा उनीमाथि आतङ्कवाद र हत्याको आरोप लगाई फेरि आजीवन कारावासको सजाय सुनाइयो। उनले बाँकी जीवन इल काल्लाओस्थित सैनिक जेलको साँघुरो कोठामा बिताए।  तत्कालीन सोभियत सङ्घमा कम्युनिस्ट सत्ता कमजोर भएका बेला पेरुमा सञ्चालित कम्युनिस्ट विद्रोह केन्द्रीय सत्ता कब्जा गर्ने तहसम्म विकास भयो। राजधानी लिमा कब्जा गर्न चारैतिरबाट घेराबन्दी गर्नेसम्मको विकास गरिसकेर यो युद्ध केन्द्रीय सत्ता कब्जाको नजिक पुगिसकेको थियो। गोन्जालोसहितका उच्च नेता एकाएक पक्राउ परेसँगै सरकारले देशव्यापी रूपमा भीषण दमनचक्र चलायो। नेतृत्वविहीन भएपछि विद्रोह तहसनहस भयो। 

गोन्जालोको गिरफ्तारीले पेरुमा सम्भावित नयाँ जनवादी क्रान्ति विफल भयो। नेतृत्वको सुरक्षा गर्न नसक्नु साइनिङ पाथको कमजोरी रह्यो। त्यहाँ पार्टीभित्र वैचारिक विचलन पनि पैदा भयो। पुरानै तरिकाले सशस्त्र जनयुद्ध सञ्चालन जारी राख्ने कि शान्ति प्रक्रियामा पुगेर शान्तिपूर्ण जनसङ्घर्ष सञ्चालन गरेर क्रान्तिका लागि शक्ति सञ्चय गर्ने भन्ने विषयमा दुई लाइन सङ्घर्ष भयो। पार्टीको यो विवाद मिलाउन नसक्दा उत्कर्षमा पुगेको आन्दोलन एकएक समाप्त भयो। 

संसारभर सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्ने विषय कमजोर हुँदै गएको समयमा गोन्जालोले माओ र चे ग्वेभरा दुवैको विद्रोहलाई संयोजन गरेर विद्रोह गरेका थिए। उनको विद्रोह हिंसामा परिणत भयो। विद्रोहका क्रममा बम विस्फोट गराउनेदेखि व्यक्ति हत्यासमेत भयो। त्यहाँ सशस्त्र विद्रोह उत्कर्षतर्फ जाँदै गर्दा विश्वका अन्य देशमा भने परिवर्तन हुन सुरु गरिसकेको थियो । कम्युनिस्ट शासन रहेका प्रमुख देशहरू तत्कालीन सोभियत सङ्घ र चीनमा ठूलो परिवर्तन भयो। चीनले आर्थिक उदारीकरणको बाटो लियो। रुसमा मिखाइल गोर्वाचोभको नेतृत्वमा पेरेस्त्रोइका (सुधार) र ग्लात्स्नोस्क (खुलापन) नीति अगाडि सारियो। अन्ततः सन् १९८९ मा सोभियत सङ्घ नै विघटन भयो। 

सन् १९८१ देखि सुरु भएको पेरुको सशस्त्र विद्रोहले सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरी जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य लिएको थियो। सशस्त्र विद्रोहबीचमा असफल भयो। सन् १९९९ सम्म छिटपुट विद्रोहका घटना भए। विद्रोह हाँक्ने नेतृत्व नभएपछि आन्दोलन समाप्त भयो। सशस्त्र विद्रोहबाट सत्ता कब्जा गरी जनवादी क्रान्ति गर्ने गोन्जालोको सपनाबीचमै चकनाचुर भयो । पेरुको क्रान्ति ढलेयता विश्वमा कहीँकतै पनि सशस्त्र विद्रोहमार्फत कम्युनिस्ट सत्ता स्थापना भएन।  लामो समयसम्म स्पेनको उपनिवेश बनेको पेरु स्वतन्त्र भएयता पनि पटक पटकको सैनिक सत्ता, सशस्त्र विद्रोह र राजनीतिक अस्थिरताको सिकार बन्दै आएको छ। सशस्त्र कम्युनिस्ट विद्रोह समाप्त भइसकेपछि पनि पेरुवासीका समस्या समाधान हुन सकेका छैनन्। 

सन् २०२१ मा पेरुवासीले गरिब परिवारमा जन्मेका क्यास्टियोलाई राष्ट्रपति निर्वाचित गरे। उनले गरिब र पिछडिएका देशवासीका लागि नयाँ काम गरेर सबैलाई न्याय र अवसर दिने बताए। “अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, निष्पक्ष र स्वतन्त्र पेरु बनाउने बेला आएकोले त्यसअनुरूप काम गर्नेछु। गरिबी, असमानता र भ्रष्टाचार पेरुका ठूला समस्या हुन् । जनतालाई विद्रोह गर्ने अवस्था आउन नदिन समावेशी लोकतन्त्रको मूल्य र मान्यतालाई व्यवहारमा लागू गर्न जरुरी छ,” राष्ट्रपति निर्वाचित भएपछि क्यास्टिओको सन्देश थियो। 

उनमा देश र जनताका लागि नयाँ काम गरेर मुलुकलाई गरिबीमुक्त गर्ने सोच थियो। तर विपक्षीको बहुमत रहेको संसद्ले उनलाई काम गर्न दिएन। आफूलाई राष्ट्रपतिबाट हटाउने सूचना पाएपछि सङ्कटकाल घोषणा गरी संसद् भङ्ग गरेका उनका लागि यो कदम अन्ततः आत्मघाती साबित भयो। महाभियोगबाट सत्ताच्युत भएका क्यास्टिओपछि राष्ट्रपति बनेकी बोलुआर्तेले सबैलाई मिलाएर मुलुकलाई निकास दिन आवश्यक छ। 

अब त्यहाँ हतियार उठाएर विद्रोह गर्ने अवस्था आउन नदिन लोकतान्त्रिक विधिअनुसार मुलुक चलाउन जरुरी छ। जनतालाई अधिकारसम्पन्न र गरिबीमुक्त गर्ने हो भने विद्रोह गर्नुपर्ने अवस्था नआउन सक्छ।