शालिग्राम नेपाल
चितवन, मङ्सिर २९ गते । पश्चिम चितवनको मेघौली विमानस्थलमा विमान अवतरण गर्ने स्थल नजिकै बनाउँदै गरिएको निजी विद्यालय प्रज्ञा एकेडेमीको भवन निर्माणको काम रोक्न निर्देशन दिइएको छ। अग्ला भवन बन्दा विमान अवतरणमा समस्या उत्पन्न हुने भन्दै नागरिक उड्डयन कार्यालय भरतपुरले काम रोक्न निर्देशन दिएको हो।
भरतपुरपछि वैकल्पिक विमानस्थलका रूपमा हेरिएको मेघौली विमानस्थलमा अवतरण गर्ने मुख्य क्षेत्रनजिकै छ तले भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि वडा कार्यालयबाट स्वीकृति नलिएको भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिनुभयो।
चार्टर विमान सञ्चालन भइराखेको स्थानमा नागरिक उड्डयन कार्यालयलाई जानकारी नदिई भवन निर्माण गर्नु कानुनसम्मत नभएको नागरिक उड्डयन कार्यालय भरतपुरका निमित्त प्रमुख दीपक विकले बताउनुभयो। ‘‘भवन बन्दै गरेको भन्ने हामीले जानकारी पाएपछि तत्काल अनुगमन गरेका थियौँ,” उहाँले भन्नुभयो “विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा नै नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना भवन बनाएको पाइयो।”
विमानस्थलको सिमानाबाट जम्मा सात सय मिटर नजिकै छ तले भवन निर्माणाधीन थियो। अहिले चार तला बनिसकेको छ। “हामीलाई भवन बनाएको जानकारी नै थिएन, उहाँहरूले हामीसँग अनुमति लिनुभएको पनि छैन,” भरतपुर नागरिक उड्डयन कार्यालयका निमित्त प्रमुख विकले भन्नुभयो, “नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली आएर यसको अवस्थाका बारेमा प्रतिवेदन नदिएसम्म भवनको काम रोक्न भनेका छौँ, अहिले निर्माण कार्य बन्द छ।” एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थल कार्यालयलाई महानगरले जानकारी पनि नगराएको विमानस्थल कार्यालयका प्रमुख विकले बताउनुभयो ।
प्रज्ञा एकेडेमीले वडाबाट कुनै कागजात र सिफारिससमेत नलिएको भन्दै वडाध्यक्ष भण्डारीले विमानस्थलमा विमान अवतरण गर्ने लाइनमा नै अग्लो भवन बन्दै गरेको थाहा पाएपछि दुवै पक्षसँग छलफल गरी आवश्यक परेमा भत्काउनसमेत तयार भएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो।
मेघौलीका तीनवटा निजी विद्यालय तारामाउन्ट, ब्राइट फ्युचर र अलमाइटीलाई गाभेर प्रज्ञा एकेडेमी नाम दिएर विद्यालय सञ्चालन गर्न लागिएको हो। करिब ४० करोड रुपियाँको लगानीमा विद्यालय भवन बन्न लागेको हो। भरतपुर नागरिक उड्डयन कार्यालयमातहत मेघौली विमानस्थल कार्यालय रहेको छ। भरतपुर विमानस्थलमा चाप धेरै बढेको र यहाँको विमानस्थल क्षेत्र साँघुरो भएकाले मेघौलीमा विमानस्थल सार्ने र त्यसलाई विस्तार गरेर ठूलो बनाउने तयारी भइरहेको जनाइएको छ।