• १२ असोज २०८१, शनिबार

तस्करी रोक्न सहयोग माग

blog

रङ्गेली समाचारदाता

विराटनगर, मङ्सिर २७ गते । विराटनगर भन्सार कार्यालयले अवैध चोरी पैठारी नियन्त्रणमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरेको छ । विराटनगर महानगरपालिकाका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि भन्सार कार्यालयले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सहयोग मागेको हो । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति प्रयोग हुने गरिएका छन् । 

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार आइतबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सीमा क्षेत्रसँग जोडिएका विराटनगर महानगरपालिका वडा नं. १५, १६, १७ र १८ का वडाध्यक्षसँग सुझाव र राय माग्दै सहयोग खोजिएको हो । 

एक जना आरोपित पक्राउ

शुक्रबार साँझ विराटनगर–१५ स्थित भन्सारको ३ नं. गेटमा तस्करले भन्सार कर्मचारीलाई हुलहुज्जत गरेको थियो । सो घटनाको छानबिन गर्न समिति बनेको छ । 

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोमबार भन्सार कार्यालयमा बुझाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगर–१७ का मोहमद सदाम मियाँलाई तस्करीको सामान लोड गरेको गाडीसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेका मियाँलाई भन्सार कार्यालय विराटनगरको मुद्दा शाखाले अनुसन्धान सुरु गरेको छ ।  

भन्सार क्षेत्रमा रहेको रानी प्रहरी चौकी नजिकै भन्सार कर्मचारीमाथि भएको हुलहुज्जतमा प्रहरीले असहयोग गरेको आरोपपछि प्रहरी कर्मचारीमाथि समेत छानबिन सुरु गरिएको छ ।