• १३ साउन २०८१, आइतबार

खाने तरकारी कि विषादी ?

blog

बढ्दो जलवायु परिवर्तनको विश्वव्यापी असर अब हरेकका भान्छामा पनि पर्न थालेको छ। जलवायु परिवर्तनका कारण तरकारी तथा खाद्यान्नमा विभिन्न रोगका कीरा देखिन थालेकाले किसानले त्यसलाई नियन्त्रण गर्न अन्धाधुन्ध रूपमा विषादी प्रयोग गर्न थालेका छन्। कीरा वा शत्रुजीव व्यवस्थापन गर्न अन्य कुनै विकल्प नखोजी कडाभन्दा कडा विषादी प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न पुगेको छ। 

किसानमा जनचेतनाको कमीका कारण र वैकल्पिक उपाय नखोज्दा आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ। संविधानको धारा ४४ ले सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि आमउपभोक्ताले त्यो अधिकार प्रयोग गर्न पाएका छैनन्। उल्टै बाध्य भएर विषादीयुक्त तरकारी खान विवश छन्। नचाहँदा नचाहँदै पनि हरेकको भान्छामा दिनहुँ विषालु तरकारी पाकिरहेका छन्। जसले गर्दा ढुक्कसँग तरकारी खान सक्ने वातावरण पनि छैन। 

हरियो तरकारीमा विषादी प्रयोग बढेका कारण मानिसमा गम्भीर खालका रोग लाग्ने गरेको पाइन्छ। कालीमाटी तरकारी तथा फलफूल बजारस्थित प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार विभिन्न तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ। रिपोर्टमा जनाइएअनुसार सिमी, काउली र गोलभेँडामा अत्यधिक विषादीको अवशेष पाइएको छ। जसका कारण ती तरकारीमा बढी मात्रामा विषादी प्रयोग भएको स्वतः देखिन्छ।

विगतको तुलनामा चालू आर्थिक वर्षमा कालीमाटी बजारमा भित्रिने हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ। आर्थिक वर्ष २०७४/७५ मा एक हजार ८५० नमुनामा विषादी जाँच गर्दा तीनवटा नमुनामा मात्र विषादी पाइएको थियो। यसैगरी आर्थिक वर्ष २०७५/७६ मा तीन हजार १२४ नमुनामा दुईवटामा विषादी पाइएको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७६/७७ को २० माघसम्म एक हजार ४०२ वटा नमुनामध्ये १२ वटामा अत्यधिक विषादी पाइएको छ। चितवनबाट ल्याइएको काउलीमा परीक्षणपश्चात् बढी विषादी भएको पाइएको छ। चालू आर्थिक वर्षमा विषादी प्रयोगशालामा एक हजार ४०२ नमुना जाँच गर्दा १२ वटामा खान नमिल्ने रातो रङ देखाइएको थियो भने तीनवटामा केही दिन पर्खेर खान मिल्ने वा पहेँलो रङ र एक हजार ३८७ नमुनामा खान मिल्ने पाइएको थियो। जब कि हरियो तरकारीमा विषादीको मात्रा ३५ प्रतिशत हुँदा खान मिल्छ। ३५ देखि ४५ प्रतिशतसम्म हुँदा केही दिन पर्खेर खान मिल्छ भने ४५ प्रतिशतभन्दा बढी हुँदा उक्त तरकारी खान मिल्दैन। 

नेपालमा बर्सेनि थुप्रै रकम विषादीमा खर्च हुन्छ। जुन रकम सहजै विदेश जान्छ। यदि जैविक विषादी प्रयोग गर्ने हो वा शत्रुजीवको व्यवस्थापन गरी खेती गर्ने हो भने पक्कै पनि हानिकारक विषादीबाट आमउपभोक्ता पीडित हुनु पर्दैन। 

त्यसो त नेपालमा विषादी प्रयोग भयावह रूपमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। 

बाली संरक्षण तथा वितरण केन्द्रका अनुसार नेपालमा पञ्जीकृत भएका ११६ वटा विषादी छन्। जसमध्ये ५२ वटा सामान्य कीटनाशक, ४० किसिमका भुसुनानाशक, दुई मुसानाशक र दुई किसिमका झारपातनाशक छन्। द्रुत विषादी अवशेष विश्लेषण एकाइ स्थापनापछि कालीमाटीमा २०७१ असार ५ देखि तरकारीको नमुना परीक्षण थालिएको थियो। एकाइअन्तर्गतको प्रयोगशालाले तरकारीमा रासायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको तथ्य सार्वजनिक गरेको थियो।

विषादीको प्रयोग १० देखि १५ प्रतिशतसम्म हुनुलाई सामान्य मान्न सकिन्छ। त्यो जति बढ्दै गयो त्यति हानिकारक हुन्छ। प्रारम्भका दैनिक २०/२२ वटा तरकारीका नमुना सङ्कलन गरी परीक्षण गर्ने गरेकोमा अहिले मुस्किलले दैनिक तीन–चारवटा मात्रै नमुना परीक्षण गरिन्छ। सरकारले अन्य प्रदेशमा पनि तरकारी वा फलफूल परीक्षण गर्ने व्यवस्था मिलाएको छ, त्यसको हालत पनि उही कालीमाटीकै जस्तो छ। 

त्यसो त अन्तर्राष्ट्रिय रूपमा रासायनिक विषादीविरुद्ध अभियान सञ्चालन गर्दै आएको संस्था पानको प्रतिवेदनअनुसार विश्वमा हरेक वर्ष चार करोड मानिसमा विषादीले असर गरेको पाइएको छ। विश्वमा विषादीकै कारण हरेक वर्ष तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ। जसमा सबैभन्दा बढी बालबालिका र महिला छन्। प्रतिवेदनमा उल्लेख भएअनुसार प्रतिदिन सात सय जनाको विषादीयुक्त खानाका कारण मृत्यु भएको देखिन्छ। 

विश्वमा विषादी सेवन गरी आत्महत्या गर्ने मानिसको सङ्ख्या ३१ प्रतिशत रहेको छ। कृषिवस्तु उत्पादन र उत्पादकत्व वृद्धिका लागि त्यसको प्रयोग महìवपूर्ण मानिए पनि त्यसको सुरक्षित प्रयोग, भण्डारण, प्रयोग गर्ने तरिका र ज्ञानको अभावका साथै त्यसको विसर्जन नगरिँदा जनस्वास्थ्य र वातावरणमा गम्भीर असर परेको देखिन्छ। कुनै विषादीको प्रयोग तत्कालै देखिन्छ भने कुनैले दीर्घकालसम्म असर पार्न सक्छ। 

नेपालमा सर्वप्रथम विषादीको प्रयोग सन् १९५२ मा औलो रोग नियन्त्रण गर्न डीडीटी आयात गरिएपछि सुरु भएको हो। जुन प्रयोजनका लागि पुनः १९५५ मा डीडीटी आयात गरियो। त्यस्तै नेपालमा विषादी उत्पादन गर्नका लागि सन् १९७७ मा कपिलवस्तुको बहादुरगञ्जमा कारखाना नै स्थापना गरिएको थियो। नेपालमा कृषि उत्पादनमा प्रयोग हुने विषादी ज्यादै कम मात्रामा रहेको छ।

विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले नेपालमा प्रतिहेक्टर ३९६ ग्राम मात्रै विषादी प्रयोग हुने गरेको छ, जुन विश्वका अन्य मुलुकको तुलनामा कम हो। जब कि माल्टामा प्रतिहेक्टर १६ केजी ७७ ग्राम रासायनिक विषादी प्रयोग हुने गर्छ। कोरियामा प्रतिहेक्टर १४ किलो ७४ ग्राम, जापानमा १४ किलो १८ ग्राम, चीनमा १० किलो ४५ ग्राम, अमेरिकामा तीन केजी ८८६ ग्राम रहेको छ भने भारतमा प्रतिहेक्टर २६१ ग्राम विषादी प्रयोग भइरहेको छ। 

नेपालमा प्रत्येक वर्ष भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ। विश्वमा प्रतिवर्ष करिब २० लाख मेट्रिक टन विषादी प्रयोग हुने गरेको पाइन्छ। त्यसमा ४७ दशमलव ५५ प्रतिशत झारनाशक, २९ दशमलव ५५ प्रतिशत कीटनाशक, १७ दशमलव ५५ प्रतिशत ढुसीनाशक, पाँच दशमलव ५५ प्रतिशत अन्य पर्छन्। विश्वमा करिब दुई करोड ६० लाख मानिसमा बर्सेनि विषादीको असर परेको देखिन्छ भने करिब २२ लाख मानिसको मृत्यु यसको प्रयोगबाट हुने गरेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको अध्ययनले देखाएको छ।