• १३ साउन २०८१, आइतबार

पर्यटकको रोजाइमा करबाकेली इको ट्रेक

blog

करबाकेली भ्रमणमा पुगेका पर्यटकहरू धौलागिरि हिमालको दृश्यावलोकन गर्दै । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २६ गते । करबाकेली इको ट्रेक पर्यटकको रोजाइमा पर्न थालेको छ । चार वर्ष अघि अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीको पहल र सक्रियतामा सञ्चालनमा ल्याइएको करबाकेली इको ट्रेकमा पदयात्रका लागि आउने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो । 

ग्रामीण रहनसहन, जातीय भेष भूषा, कला संस्कृति, जङ्गल सफारी र हिमशृङ्खलाको दृश्यावलोकन पदयात्राका मुख्य आकर्षण हुन । करबाकेलीबाट गुर्जा हिमालदेखि धौलागिरि हुँदै अन्नपूर्ण हिमशृङ्खला सम्मको अवलोकन गर्न पाइने भएकाले घोडे पानी र पुन हिलको भ्रमणमा आएका पर्यटकहरू करबाकेली पुग्ने गर्दछन् । कास्कीको वीरे ठाँटी, तीखेढुंगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानीबाट पुलहीन, फूलबारी,महरेडाँडा हुँदै करबाकेलीथान भएर बेनी बजार निस्कने पदमार्ग करबाकेली इको ट्रेकमा पर्दछ ।

जङ्गल सफारीका लागि यो पदमार्ग आकर्षक छ । प्राकृतिक सुन्दरताको अवलोकनका साथै स्थानीयवासीको न्यानो स्वागतले पदयात्रामा आउने पर्यटकलाई थप आकर्षित बनाउँछ । प्रसिद्ध पर्यटकीय स्थल घोडे पानी र  पुन हिलमा पुगेका पर्यटकलाई आकर्षित गर्न स्थानीयहरूले चार बर्सअघि करबाकेली इको ट्रेक सञ्चालनमा ल्याएको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । स्थानीयहरूको सक्रियता घोडे पानी, पुन हिलबाट सूर्योदयको अवलोकन गरेपछि फूलबारी र महरेडाँडा हुँदै जङ्गल सफारी गरी करबाकेली आउने पदमार्गलाई व्यवस्थित बनाउने काम भइरहेको करबाकेली इको ट्रेक पर्यटन व्यवस्थापन समितिका सचिव रबी पुनले बताउनुभयो । 

सडकले पदमार्ग विस्थापित भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई यस पदमार्गमा आकर्षित गर्न सकिने प्रशस्तै आधार रहेको पुनले जानकारी दिनुभयो  । पुनका अनुसार विश्वकै उत्कृष्ट गन्तव्य घोरे पानी, पुन हिल हुँदै घना जङ्गलबाट आउने पदमार्गलाई व्यवस्थित बनाइएको छ । घनाजंगलको बिचबाट विस्तार गरिएको पदमार्गमै पर्ने फूलबारीमा सामुदायिक लजसमेत रहेको छ ।  

करबाकेलीबाट गुर्जा, चुरेन, धौलागिरि अन्नपूर्ण, माछापुच्छ्रे लगायत आधा दर्जन हिमालसहित प्राकृतिक दृष्य, मगर जातिको भेषभूषामा सजिएका स्थानीय, जनजातिको कला र संस्कृतिलाई समेत अवलोकन गर्न पाइन्छ । शान्त, सुन्दर, सजिलो, छोटो र सस्तो पदयात्राका लागि यो मार्ग उपयुक्त रहेको करबाकेली इको ट्रेक पर्यटन व्यवस्थापन समितिका सचिव रबी पुनले बताउनुभयो । कोरोना महामारीका कारण दुई वर्ष पर्यटक आगमन कम भए पनि यो वर्ष देखि पर्यटक आउन थालेको उहाँले बताउनुभयो । 

काफल डाँडामा रहेको करबाकेलीमा पर्यटन पूर्वाधार निर्माणका लागि यहाँका स्थानीयले चन्दा सहयोग जुटाएर करिब दुई करोड रुपियाँ लगानीमा पूर्वाधार निर्माण गरेका छन् । 

पुन समुदायको कुल देवता करबाकेली बाबाको अवसान भएको स्थान मानिने करबाकेलीमा थान, पूजा स्थल,सङ्ग्रहालय, पदमार्ग, सडकलगायतका पूर्वाधार निर्माण गरिएको करबाकेली इको ट्रेक पर्यटन व्यवस्थापन समितिका सचिव पुनले बताउनुभयो । उहाँका अनुसार भ्रमणमा आउने पाहुनाको सुविधाका लागि ५० जना क्षमताको २२ कोठे सामुदायिक लज सञ्चालनमा छ ।