• १३ साउन २०८१, आइतबार

सरकारमा कांग्रेसको प्राधिकार

blog

सङ्घ र प्रदेशमा केही भूगोलको निर्वाचन बाँकी हुँदै, मतपरिणाम नआउँदै आफू जितेको ‘घमण्ड’ अनि माओवादी अध्यक्षले भूगोल फेरेर चुनाव जितेको ‘बहाना’मा नेकपा एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर बधाई दिनुभयो। भन्नुभयो होला, “एक पटक फेरि ‘ठोस’ समीक्षा गरौँ, आन्तरिक तयारीसहित योजना बनाऔँ, मिलेर केही गरौँ।”

अपेक्षित निर्वाचन परिणाम नआएको केपी ओलीको मनमा पसेकै थियो। उहाँलाई चिन्ने एमाले र समाजवादीका नेताहरूको कथन छ कि, “ओली यस्ता नेता हुन्, सक्दो पेल्छन् र नसकेपछि भावनामा खेल्छन्।” पार्टी विभाजनअघि कैयौँ पटक माधवकुमार नेपालसहितका नेतालाई कार्यकर्ताले ओली एक्लै पेलेर गए, तपाईंहरूविरुद्ध अरू प्रयोग गरेर खेलेर गए भन्दा पत्याउँथेनन्। नेताहरूको जवाफ हुन्थ्यो, “उनी सकभर पेल्छन्, नसकेपछि मैले के नै गरेको छु र, ल भई त गयो, अब तपाईंहरूले भनेको मान्छु, के गर्ने भन्नुहोला भन्छन्।” ओलीले यसो भन्छन् भनेर कुर्दाकुर्दै एक दशकमा नेकपा (एमाले) नेकपा, पछि एमाले र माओवादी अनि फुटेर तेस्रो पार्टी समाजवादी बन्यो तर ओलीले मैले कमजोरी गरेँ, मिलौँ भनेको सुनिएन। यस पटक पनि माओवादी अध्यक्षलाई फोन गरेर ‘मिलौँ’ भनिएको हो, “कमजोरी भयो” भनिएन। 

यो त चुनावताकाको कुरा भयो। चुनावअघिको कुरा सम्झौँ, त्यतिखेर माओवादीका केही शीर्ष नेता एमालेसँग चुनावमा सहकार्य मात्रै होइन, एकताकै पक्षमा थिए। खासगरी अध्यक्ष मात्रै निर्वाचित हुने माओवादी प्रणालीमा पार्टीमा पदाधिकारीका आकाङ्क्षीसँगै आफ्नालाई जनसङ्गठनका पदाधिकारीमा पनि व्यवस्थापन गर्न दबाब परेका बेला कांग्रेससँग भन्दा एमालेसँग सम्बन्ध ‘स्वस्थकर’ हुने उनीहरूको निष्कर्ष थियो। एमालेलाई पछार्न बनेको सत्ता गठबन्धन भत्काउन एमालेले खेलेको दुष्चरित्रगामी भूमिकालाई कांग्रेसले बाहेक कसैले पनि गहिरोसँग समवेदित हुन जानेनन्। एमालेले निर्वाचनताका नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी र नेपाली कांग्रेसमा बरोबर खेलेको थियो। कांग्रेसमा नेता डा. शेखर कोइराला पक्षलाई मागेजति सिट दिन तयार भनेर एमालेले खेलेकै थियो। माओवादीका त शीर्ष नेताहरू नै कांग्रेसभन्दा एमाले उत्तम भन्दै सिट सुरक्षित गर्न लागेकै थिए। समाजवादीका पनि केही नेता उठेका ठाउँमा एमालेले उम्मेदवार नबनाउने भनेर चर्चा गरेको यति चाँडै कसैले बिर्सनु हुन्न। 

जनता समाजवादी पार्टी त गठबन्धन छाडेर गएन मात्र, एमाले अध्यक्ष ओलीले नै नेपाली राजनीतिमा सुरक्षित अवतरण गराइदिएका चन्द्रकान्त (सीके) राउतसँग पार्टी अध्यक्ष उपेन्द्र यादव पराजित हुनु भएपछि एमालेको दाउपेचबाट सायद जानकार हुनुभयो होला। रत्नपार्कमा सरकारविरुद्ध आन्दोलन गर्दागर्दै त्यही सरकारमा मन्त्री हुन जानेलाई ओलीजस्ता चतुर खेलाडीले मैदानबाहिरै कसरी धुलो चटाउन सक्ने सामथ्र्य राख्छन्, कठोर सङ्घर्षबाट उत्पादन भएको यादवजस्ता तराई मधेशका नेताले बुझ्न नसक्नु राजनीतिको कालो पाटो हो। र, एमालेले सबैतिर खेलेको थियो भन्ने सबैभन्दा ठूलो प्रमाण कांग्रेसका युवा नेता डा. स्वर्णिम वाग्ले हुनुहुन्छ। उहाँले भन्नुभएको थियो, “मलाई उम्मेदवार बन्न एमालेले प्रस्ताव गरेकै हो, अस्वीकार गरिदिएँ।” 

यतिखेर माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी एकता हुन लागेको विषयलाई प्रमुख मुद्दा बनाइएको छ। नेकपा (एकीकृत समाजवादी)का केही शीर्ष नेता यो एकतामा बाधक देखिएका छन्, उनीहरूको माग छ, “एमालेबाहेकको कम्युनिस्ट शक्ति निर्माणमा सहमति छैन।” उता एमाले अध्यक्षले फोन गरेर माओवादी अध्यक्षलाई भावनात्मक रूपमा दबाब पारिरहेका छन् कि कम्युनिस्ट शक्तिहरू एक हुनुपर्छ। यो सरकार बन्न नदिने खेल हो, किनभने कतैबाट पनि कम्युनिस्ट शक्तिहरू बहुमत अर्थात् सरकार बनाउन चाहिने १३८ सिटमा पुग्दैनन्। त्यसमा खेल्न सकियो भने गठबन्धनको सरकार नबन्ने र एमालेले चाहेबमोजिम हुने एमाले अध्यक्षको चातुर्यता माओवादी नेतृत्वमा घुस्न नसक्नु राजनीतिको अर्को कमजोरी हो। पटकपटक धोका खाँदा पनि एमालेसँग निकटता के का लागि भनेर एजेन्डा बन्न जरुरी छ। 

जो–जोसँग ‘गुण–स्वभाव’ मिल्दैन, उसँग सहकार्य र जोसँग ‘खुनपसिना’ पनि मिल्छ, उसँग स्पर्धा। राजनीतिमा यस्तै कठोर र क्रूर अभ्यास सहनेहरू इस्पात हुन्छन्। सहरमा नरुचाइएका माओवादी र पार्टी खोलेर जनतामा मसिनोसँग पुग्न नपाउँदै एक वर्षमा तीनवटा मूल चुनावमा सहभागी बनेको समाजवादीसँगको गठबन्धनमा कांग्रेसभित्रै पनि पेचिलो उतारचढाव थियो तर पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी, माओवादी र समाजवादीलाई मागेजति सिट दिएर एमालेले खेल्न खोजेको षड्यन्त्र विफल पारिदिएको कुरा वामपन्थी समूहले भुल्नु हुँदैन, त्यो पनि निर्वाचनको अन्तिम मतपरिणाम नआउँदै। बरु एमालेले हात मिलाएका शक्तिलाई गठबन्धनमा सौदा र सम्झौताको ‘गिफ्ट ह्याम्पर’ देखाएर एमालेको स्वार्थको तानाबानाको पोका बेलुन फुटेझैँ फुटाइनुपर्छ। 

कांग्रेसले मागेजति सिट पाउँदा पनि जित हात पार्न सकेन, समीक्षा कांग्रेसले गर्नुपर्छ। नयाँ पुस्तालाई पार्टीमा ‘स्पेस’ दिन सकिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘चौका’ हान्न सक्छन् भन्ने बुझ्नुपर्छ। यस्तै माओवादीले शीर्ष नेताको व्यवस्थापनको मात्रै चिन्ता लिएर बस्ने हो भने त्यहाँभित्र हुर्किएका नयाँ पुस्ता कहाँ जाने ? संसदीय अभ्यासमा उनीहरूलाई ‘प्रवेश निषेध’ राष्ट्रिय स्वतन्त्र पार्टीहरू उत्पादन हुनु हो भन्ने बुझ्न जरुरी छ। २०६४ मै ‘नयाँ’ हेर्ने रहर गरेका जनतालाई अब त्यही अनुहारहरू ‘नयाँ’ हुन्नन् भन्ने बुझाउन सक्नुपर्छ। 

समाजवादी पार्टी कमजोर नै थियो, कमजोर नै पारिन्छन्, त्यसैले कठिन सङ्घर्ष गरेर टोलसम्म पार्टी बनाउन सकिएन भने प्रत्यक्षमा मत आए पनि समानुपातिकमा आउँदैन भन्ने यही चुनावले सिकाएकै छ। यस्तो समीक्षासहित सत्ता गठबन्धनको सहमतिको बाजा बजाउनुपर्नेमा माओवादी कतै एमालेको फोनमा तरङ्गित हुने त कतै माधवकुमार नेपालको पार्टीसँग एकताको बिन बजाउने काममा लागेपछि स्वतः नेपाली राजनीति छचल्किने नै भयो। समाजवादीका नेताहरू प्रभावित हुने नै भए, माओवादीका लागि यो सहज विषय हुनै सक्दैन। एमालेले खेल्न चाहिरहेका बेला मैदान र मादल बन्ने काम माओवादीबाट हुनै मिल्दैन।

यतिखेरको मूल मुद्दा सरकार निर्माणको हो। नेपाली कांग्रेसले ठूलो दलको हैसियतले सरकार निर्माणको प्राधिकार राख्दछ। त्यसमा राजनीतिक बजारमा दोस्रो शक्ति बलियो प्रतिपक्षी बन्नु उसको धर्म हो र तेस्रो शक्ति शक्तिशाली बनेर पहिलो या दोस्रोलाई साझेदारी गरेर आफ्नो बलियो उपस्थिति जनाउनु हो। जुन माओवादीका लागि जुरेको छ यो निर्वाचनमा। उसले अरू साना शक्तिहरूलाई साथमा लिएर सरकार निर्माणको बाटो तय गर्नु नै प्रमुख दायित्व हो। कम्युनिस्ट शक्तिहरू १३८ सिटमा पुग्दैनन् र पुग्न नदिइएको पनि समीक्षा गरिनुपर्छ। यसैले यतिखेर सत्ता गठबन्धनलाई निरन्तरता दिइँदा चुनावको केही तिक्तता भने पक्कै मेटिनुपर्छ। अरू दलभन्दा बहुमत राखेर कांग्रेसलाई साथ दिँदा पनि मत वामपन्थीलाई नहालिनु र धेरै सिट हार्नुमा कम्युनिस्ट शक्तिहरूलाई ‘कमजोर’ बनाउँदा कम्युनिस्टको वैशाखी नै कांग्रेसका लागि बलियो वैशाखी हो भन्ने बुझाउन माओवादी लाग्नुपर्छ।

सङ्घ सरकार, राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश सरकार, प्रदेश प्रमुखलगायतका पेचिला विषय पहिलो मुद्दा हो र अहिले प्राथमिकतामै नपरेको विषय हो समाजवादीसँग एकता। समाजवादीले त भदौमै माओवादीसँग एकता प्रक्रियाका लागि समिति गठन गरेर चुनावमा एमालेसँग मिल्ने केही माओवादी नेताको रहरमा ‘पर्खाल’ लगाइदिएको थियो। समाजवादीको सुझबुझपूर्ण निर्णयले गठबन्धनले दिएको सिटमा सबैभन्दा बढी फाइदा लिएको छ भलै सानो सङ्ख्यामा होस्। राजनीतिमा इमानदारिता महत्वपूर्ण विषय हो। यतिखेर गठबन्धन अनि मात्र पार्टी एकता या पुनर्गठन। कम्युनिस्ट शक्तिहरूले बुझ्नुपर्ने विषय हो।  यतिखेर माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी एकता हुन लागेको विषयलाई प्रमुख मुद्दा बनाइएको छ। नेकपा (एकीकृत समाजवादी)का केही शीर्ष नेता यो एकतामा बाधक देखिएका छन्, उनीहरूको माग छ, “एमालेबाहेकको कम्युनिस्ट शक्ति निर्माणमा सहमति छैन।”

लेखक नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय प्रचार विभाग सदस्य हुनुहुन्छ।