• १३ साउन २०८१, आइतबार

चुनावमा हारजितको मनोविज्ञान

blog

चुनाव निरन्तर चलिरहने प्रक्रिया हो । एउटा चुनाव सकिन्छ फेरि चुनाव आउँछ । अहिलेको चुनावको प्रक्रिया लगभग सकिएको छ । कसलाई कसले भोट दियो, आफूले मतदान गरेको उम्मेदवारले जिते या हारेभन्दा पनि चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ र नेपालीको चाहना पूरा भएको छ । प्रजातन्त्रमा निष्पक्ष चुनाव सम्पन्न हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । चुनावको नतिजा कसैको दृष्टिकोणमा केही अप्रत्याशितजस्तो हुन सक्छ र विजयको अपेक्षा गरिएको उम्मेदवारले पराजय भोगेको हुन सक्छ तर देशलाई समृद्धितर्फ बढाउनका लागि हार्ने–जित्ने सबैले आआफ्नो भूमिका निर्वाह गर्न जरुरी छ ।

सर्सती हेर्दा विजेताले आधिकारिक जिम्मेवारी पाएकोजस्तो देखिए पनि पराजितको सहयोगले मात्र हरेक परिस्थितिमा देशलाई सर्वश्रेष्ठ बनाउन सकिन्छ । उम्मेदवार र दलका प्रतिनिधिहरू चुनावको परिणामपछि थकित भएझैँ आरामको बाटो रोज्न पुग्छन् तर पराजितले अर्को चुनावका लागि तयारी नतिजा सार्वजनिक भएको दिनदेखि नै सुरु गर्नुपर्छ । महìवपूर्ण के हो भने चुनावको परिणामपछि प्राप्त भएको जनादेशको आधारमा आफ्नो नयाँ अभियान सञ्चालन गर्न थाल्नुपर्छ । चुनावपछिको आफ्नो पहिलो काम के हुन सक्छ, भर्खरै समाप्त भएको चुनावी अभियानको इमानदार र सम्पूर्ण रूपले मूल्याङ्कन गरियो भने आफ्नो तागत र कमजोरीको स्पष्ट पहिचान गर्न सक्षम भइन्छ ।

विजेताले विपक्षीको रणनीति र निगरानी नजिकबाट गरेका हुन्छन्; जो प्रायः पराजित भएका मानिसले देख्नै सकेका हुँदैनन् । त्यसकारण पराजितले विजयी उम्मेदवारको सफलता पहिचान गर्ने प्रयास गर्नुपर्छ । यसका साथै हरेक समयमा केही मानिसले लोकप्रिय साथसाथ प्रभावकारी छवि बनाएका हुन्छन् । चार÷पाँच पटक एउटै निर्वाचन क्षेत्रबाट विजयी हुनु सामान्य कुरा हुन सक्दैन । यसलाई सामान्य ठान्ने गल्ती धेरै पराजित उम्मेदवारले गरेको देखिन्छ । 

सफल मानिसले आफ्नो मतदातासँग अत्यन्त घनिष्ठ सम्बन्ध बनाएका हुन्छन् । आफ्ना मतदाताको विचार र मूल्यलाई उनीहरूले आफ्ना हरेक क्रियाकलापमा दर्शाएका हुन्छन् र पहिलो स्थान मतदातालाई दिएका हुन्छन् । उनीहरूको लोकप्रियता र सत्तामा बस्दा मतदातालाई दिएको सुविधा र प्राथमिकताका कारण त्यस्ता प्रभावशाली मानिसलाई हराउन सहज हुँदैन । यसकारण डडेलधुरा, गोरखा–२ र झापा–५ जस्तो क्षेत्रको निर्वाचनमा भएको जितलाई विश्लेषण गरिरहन आवश्यकता रहँदैन । प्रभावशाली उम्मेदवारलाई वृद्ध, घुस्याहाजस्ता व्यक्तिगत चरित्रमाथि लाञ्छना गरेर पराजित गर्न सकिँदैन । लोकप्रिय र प्रभावशाली मानिसलाई हराउन विशिष्ट व्यक्तिको आवश्यकता हुन्छ र विशिष्टता हासिल गरेका मानिसले मात्र उनीहरूलाई पराजित गर्न सक्छन् । 

विश्व राजनीतिमा कहिलेकाहीँ उत्तराधिकारी बनेर आफ्नो राजनीतिक सफलता प्राप्त गरेको देखिन्छ । बेलायतका जोन मेजरले मात्र हाइस्कुलको अध्ययन गरेका भए पनि तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरको घनिष्ठ सहयोगी भएका कारणले बेलायतको प्रधानमन्त्री बन्न सफल भए । यसकारण समयको प्रतीक्षा गरेर प्रभावशाली अवलम्बीहरूको सहयोगी बनेर पनि चुनावमा सफलता पाउन सकिन्छ । नेपालमा दलको सुरक्षित क्षेत्रमा उम्मेदवारी पाउन, समानुपातिक कोटामा मनोनयन हुनु पनि प्रभावशालीको सहयोगी बनेर प्राप्त गर्न सकिन्छ भन्ने घटनाक्रमले देखाएको छ । फेरि यसलाई चाकडी मात्र सम्झन हुँदैन, कुनै त्याग र प्रतिभा नभई राजनीतिमा कोही पनि सफल भएका हुँदैनन् । शीर्ष स्थानमा पुग्नुअघि उनीहरूको त्याग र बलिदान कति सम्झनलायक छ, त्यो बुझ्न आवश्यक छ र त्यहीअनुरूप काम गर्न जान्नु पनि राजनीतिमा सफलता पाउने अर्को गतिलो आधार हो । 

चुनावमा प्रतिस्पर्धीलाई हराउन मतदाताका अगाडि प्रतिस्पर्धीहरू देशको र आफ्नो ठाउँमा कस्तो विकास चाहिन्छ या के आवश्यक छ भन्ने कुराका बारेमा अनभिज्ञ छन् र आफूलाई चाहिँ समस्या बुझेको मानिस भनेर प्रस्तुत गर्न सक्नुपर्छ । चुनावमा विजयका लागि आवश्यक भनेकै आपूm विषयको विज्ञ र सुसूचित छ भनेर देखाउन सक्नु नै विजयको सुरुवात हो । नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाललाई हराउन चाहनेले उनीहरूको उमेर, उनीहरूले आफ्नो क्षेत्रमा यो ग¥यो या त्यो गरेनन् भन्ने होइन । किनभने राज्यको साधनस्रोतलाई प्रयोग गरेर मतदातालाई परिचालन गरेर नै सबैले काम गर्ने हो । यसकारण विकास निर्माणमा फलानाले यो काम गरेन भन्नुको मतलब आफूले पनि काम नगरेको भन्ने ठहर्छ ।

विकास नहुनुको मुख्य अवस्था विकासका बारेमा प्रतिस्पर्धीहरू अनभिज्ञ हो भनेर प्रमाणित गर्न सक्नुपर्छ । विगतमा निर्वाचन जितेकाले विकास नबुझेको हो भन्न सकियो र त्यसलाई जनतामा पु¥याउन सकियो भने मात्र उनीहरू पराजित हुन्छन् । उमेर, सुविधा र व्यक्तिगत कुरा गरेर उनीहरू पराजित हुँदैनन् । नेपालको प्रधानमन्त्रीले सामान्य मार्सी चामलको भात खान नहुने या सुविधासम्पन्न गाडी चढन हुँदैन भनेर अब कोही पनि प्रभावित हँुदैनन् । विकास र ठाउँको वस्तुस्थितिका बारेमा प्रतिस्पर्र्धीले केही जान्दैन भनेर प्रमाणित गर्न सकियो भने चुनाव जित्न सहज हुन्छ । 

पराजित हुँदैमा पिरलो मान्नुभन्दा आफ्नो दल र आफूलाई नयाँ वास्तविकताको अनुकूल बनाउन जरुरी छ । चुनाव विजय हुनका लागि नै हो, यसकारण मलाई हराउन फलानोले यसो ग¥यो भन्नुको अर्थ छैन । चुनावको परिणाम जस्तोसुकै भएको होस्, नयाँ राजनीतिक वास्तविकतामा म काम गर्दै छु यसकारण मैले कसैलाई गाली गरेर बखडा झिक्नुभन्दा नयाँ यथार्थसँग परिचित हुन जरुरी छ भन्ने हेक्का राख्नुपर्छ । जिम्मेवार, प्रतिबद्ध नागरिकले जस्तै आफ्नो हार–जित या यथास्थितिको सामना गर्न सक्नुपर्छ । 

चुनावमा पराजित हुनुको मुख्य कारण प्रभावकारी आन्तरिक सञ्चार र निर्णय लिने प्रक्रियामा भएको त्रुटि नै हो । चुनाव हार्नेको निर्णय प्रक्रियामा गल्ती हुन्छ, ससाना गल्ती त अनगिन्ती हुन्छन् भने विजय हुनेको निर्णय प्रक्रिया अत्यन्त कठोर हुन्छ । यति मात्र होइन, चुनावपछि पराजित या विजयी सबै उम्मेदवारको वास्तविकता बदलिएको हुन्छ । जब जब राजनीतिक परिदृश्य बदलिन्छ, राजनीतिक कारबाही र प्रतिक्रिया पनि बदलिन जरुरी छ । उदाहरणका लागि एउटा दल जो चुनावपहिले समान राजनीतिक दृष्टिकोणका साथ काम गर्न सुरु गर्छ, विशेष रूपले राजनीतिक परिवर्तनपछि राजनीतिक रूपमा अप्रासङ्गिक हुन सक्छ । चुनाव राजनीतिक परिवर्तन नै हो । चुनावमा मिलेका दलबीच पनि कार्यगत एकता नभएपछि अलग भएका घटना नेपाली राजनीतिमा धेरै छन् । यसकारण सबै राजनीतिक दलले आफ्नो दलको मूल सिद्धान्तलाई आत्मसात् गरी राजनीतिक तहमा एउटा नयाँ सन्तुलन खोज्न आवश्यक छ । 

अब अर्को चुनाव आउन धेरै समय बाँकी छ । अर्को चुनावमा अझै राम्रो परिणामको अपेक्षा गर्ने हो भने अहिलेदेखि नै योजना बुन्न सुरु गर्नुपर्छ । विशेष गरेर नयाँ सदस्यलाई प्रोत्साहन गर्ने, प्रशिक्षित र आफ्नो आन्तरिक तथा बाह्य सञ्चार बलियो बनाउन र आर्थिक अवस्था सुधार गर्न समयको उपयोग गर्न सकिन्छ । चुनाव लडेको मानिसले पराजय के हो महसुस गरेको हुन्छ । यसकारण योजना बनाउनका लागि रणनीतिक सिद्धान्त के हो, उपयोग कसरी गर्नुपर्छ भन्ने कुरा बुझेको अपेक्षा गर्न सकिन्छ । चुनाव जित्न अहिले युद्धको सिद्धान्तलाई प्रयोग गरिन्छ; जसअनुसार आफ्नो तागतलाई एकाग्र गरेर प्रत्यक्ष विपक्षीलाई परास्त गर्ने हो । आफ्नो तागतलाई एकाग्र गरेर प्रतिद्वन्द्वीको कमजोरीलाई प्रहार गर्न सक्नुपर्छ । एक अभियानका रूपमा उद्देश्यलाई ध्यानमा राख्न जरुरी हुन्छ, जब कि यो रणनीतिलाई कसै कसैले राजनीतिमा दुर्भाग्य पक्ष भन्छन् तर रणनीति प्रतिद्वन्द्वीलाई तल गिराउन नै हुनुपर्छ । चुनावको उद्देश्य जित्नु नै हो र हुनुपर्छ । यसैले प्रतिद्वन्द्वीको क्रियाकलाप र उसले गरेको काम तारिफ गर्ने होइन, उसको कामको तारिफ गर्दा ऊ मुस्कुराउँछ र धन्यवाद दिन्छ होला । राजनीतिमा विपक्षीलाई देखेर मुस्कुराउने र झुकेर उसको तारिफ गर्ने प्रचलन छ । व्यक्तिगत रूपमा अति तारिफ गर्ने तर उसको नीतिको गम्भीर आलोचना गर्ने परिपाटी सामान्य हुन्छ । यसलाई बुझ्न जरुरी छ ।