वर्तमान निर्वाचनमा सङ्घीय संसद्को परिणामले विभिन्न दललाई परस्पर मिलेर सरकार बनाउन निर्देश गरेको देखिन्छ । त्यसमा पनि सत्ता गठबन्धनलाई अरू दललाई पनि साथमा लिएर सहमति र सहकार्यको संस्कृतिअनुरूप मन्त्रिपरिषद् गठन गरी देशको बागडोर हाँक्न भनेको छ । यद्यपि गठबन्धनलाई साधारण बहुमत पनि पुगेको छैन । हुन त जति धेरै दललाई समेट्न खोजिने छ, उति नै अस्थिरता र अराजकता सिर्जना भई ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुन सक्छ । यस्तो प्रवृत्तिले शक्ति बाँडफाँटमा पनि स–सानालाई पनि ठूलै भाउ दिनुपर्ने बाध्यता आइलाग्छ हरहमेसा । यसअघिको सरकारमा पनि एक÷दुई पात्रका यस्ता हर्कत नदेखिएको होइन । त्यस्ता व्यक्तिबाट गलत व्यवहार हुँदासम्म पनि प्रधानमन्त्रीसहित गठबन्धनका दल मौन साँध्न विवश हुनुपरेको थियो ।
सत्ता साझेदार दल, अझ त्यसमा पनि प्रधानमन्त्री रहेको दललाई र अझ प्रधानमन्त्रीलाई विशेष रूपमा सरकार ढल्छ भन्ने भयवादले काम गरिरहेको हुन्छ हरपल । यसर्थ जस्तोसुकै हर्कत गरे पनि प्रधानमन्त्रीसँग उसलाई सरकारबाट बेदखल गर्ने हिम्मत हुँदैन त्यसबेला । दुर्बल प्रधानमन्त्रीले सुशासन दिन, राष्ट्रिय पुँजी निर्माण र भौतिक विकासका काम गर्ने हिम्मत जुटाउन पनि कठिन हुनसक्छ । यसर्थ आगामी पाँच वर्ष सरकार अर्थात् देश अस्थिर र अराजकताकै भुमरीबाट रुमल्लिने हो कि भन्ने आशङ्का पैदा भएको छ ।
कांग्रेस–एमाले सहकार्य
यद्यपि प्रत्यक्षतर्पm कांग्रेसलाई ११ देखि १२ सिट बढी सङ्ख्यामा जित हात लागे पनि समानुपातिकतर्फको मत परिणाम हेर्ने हो भने पार्टीगत दृष्टिले एमालेलाई सर्वाधिक अभिमत प्राप्त भएको छ । समानुपातिकतर्फ केही सिट एमालेको बढ्ने स्थिति छ । यति भइरहँदा दुवै दलले एकअर्कालाई शत्रुवत् नभई मित्रवत् व्यवहार गर्न जनमत दिएका छन् । यी दुई स्थायी र जिम्मेवार दलहरू जुन राणाकालीन शासनदेखि पञ्चायती र शाही शासनका विरुद्ध सँगै जनआन्दोलन र अभियान सञ्चालन गर्दै वर्षौंसम्म सहयात्रा गरेका दल परस्पर मिलेर देश निर्माणमा हातेमालो गर्दै अघि बढेको हेर्न चाहन्छन् ।
यी दुईले मन, वचन र कर्मले चाहेमा मुलुकलाई सही दिशामा हिँडाउन र विकास निर्माणको महाअभियानमा हिँडे मुलुकले छिट्टै त्राण पाउन सक्नेछ । मुलुक पनि स्थिरता र विकासको लयतिर फर्कन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । आफ्नो शक्ति र आकृतिअनुसार नै सत्ता साझेदारी गर्न सहज पनि हुने र मुलुकले सही गति पनि लिने अवस्था आउने थियो ।
वाम गठबन्धन
जहाँसम्म वामपन्थी एक भएर शासनभार ग्रहण गर्नुपर्ने राय आइरहेको छ । त्यो पनि अहिलेलाई अतिरञ्जनायुक्त छ । गठबन्धन एकातिर गर्ने र चुनावमा जित हासिल गर्ने अनि सरकार बनाउने बेलामा चाहिँ अर्को पार्टीसँग गठजोर गर्ने कार्य पनि नैतिक हिसाबले त्यति शोभादायी हुँदैन । अर्को कुरा भर्खरै फुटेको र चिरिएको घाउ आलै छ र त्यो कार्यकर्ता हुँदै जनतासम्मै पुगेर विभाजित भइसकेको स्थितिमा छ । तसर्थ यी चारतिर फर्किएका वाम घटकबीचको एकता र सत्ता बनाउने सन्दर्भमा गठजोड गर्ने कार्य आफैँमा फलामको चिउरा चपाउनुसरह देखिन्छ ।
अर्को कुरा परस्पर मिलेर शासनभार लिए पनि देशी–विदेशी शक्तिको चलखेलदेखि कम्युनिस्टको अहङ्कारमय व्यवहारका कारण असफलता नै हात लागेको विगतले देखाएको छ । त्यसो त लोकतान्त्रिक दलका रूपमा चिनिएको नेपाली कांग्रेसको एकमना सरकारले पनि सुसंस्कृति र शुभसन्देश दिन नसकेको इतिहास छ । नेतृत्वमा लोकतान्त्रिक संस्कृति र संस्कारको विकास नहुँदासम्म देशले सुशासनको प्रत्याभूति गर्न पाउने अवस्था आउने देखिन्न ।
एमाले, ससाना दल र स्वतन्त्र
यद्यपि नेकपा (एमाले)ले सत्ता गठबन्धनको अवस्था र निर्णयलाई कुर्ने भनेको छ । तापनि कतिपय कोणबाट एमालेको नेतृत्वमा गठबन्धनबाहेकका राप्रपा, राजपा, लोसपा, रास्वपा, नाउपा र स्वतन्त्र मिलेर सरकार बनाउने सन्दर्भ उठेको छ । यसमा झन् उत्पादकभन्दा प्रत्युत्पादक बन्ने सम्भावना अधिक छ । व्यक्तिदेखि ससाना समूह र साना दललाई मिलाएर शासन सत्ता चलाउने कार्य आपैmँमा चुनौतीपूर्ण देखिन्छ । एउटै पार्टीको बहुमत प्राप्त दल त परस्पर मिल्न नसक्दा सरकार ढल्यो भने यस्ता ससाना घटकयुक्त दल र व्यक्तिगत लोभलालच तथा प्रवृत्तिलाई प्राथकिता दिनेसँग सरकार चलाउने कार्य भएमा पनि बढी अस्थिर र भयवादबाट ग्रसित हुनुपर्ने अवस्था आउन सक्छ ।
अस्थिर सरकार प्रत्युत्पादक
अस्थिरतामा चलिरहेको सरकारले दिने शान्ति, सुरक्षा र सेवा प्रदानमा विभेद हुन्छ । त्यसले समाज खल्बल्याउन सघाउँछ । बहुमतप्राप्त सरकारलाई देशी–विदेशी शक्तिले परिचालन गर्ने सम्भावना कम रहन्छ भने विभिन्न घटक मिलेर बनेको सरकारमाथि विभिन्न स्वार्थ समूहसमेत हाबी हुने सम्भावना ज्यादा रहन्छ । त्यसै पनि शक्तिराष्ट्र नेपालमा स्थिरभन्दा अस्थिर शासन रहेको हेर्न चाहन्छन् । उनीहरू यस देशलाई युद्धभूमि बनाउने रणनीतिमा छन् । मिचिएका भूमि फिर्ता गर्ने कार्य परै जाओस्, अभैm मिच्दै त्यसलाई वैध सिर्जना गर्ने कार्यमा उद्यत रहन्छन् । अस्थिर सरकारले यसलाई जोडतोडका साथ राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दा बनाउने कार्य त परै जाओस्, विरुद्धमा बोल्न सक्ने अवस्था रहँदैन ।
यसर्थ उनीहरू अस्थिर र कमजोर सरकार बनोस् भन्ने ध्याउन्नमा रहन्छन् । नेतृत्वले उनीहरूका स्वार्थपूर्ण चाहनालाई पन्छाएर आफ्नो देश र जनताको अधिकतम स्वार्थलाई हेर्नु बुद्धिमानी हुन्छ । यसका निम्ति ससाना दल मिलाएर सरकार बनाउनुभन्दा कांग्रेस र एमाले दुई घटक मिलेर सत्ताको सहयात्रा गर्नु सर्वाधिक उपयुक्त विकल्प हुन सक्छ ।
निष्कर्ष
गठबन्धनले साझा उम्मेदवार बनाएर निर्वाचनमा होमिएको हुँदा पुगेसम्म यिनै दलबीच र नपुगेमा पुग्ने सङ्ख्या रहेको कुनै एक दललाई सहभागी गराउनु अर्को उत्तम विकल्प हुन सक्छ । विचार मिल्दो, चिन्तन मिल्दो र आदर्श पनि मिल्दो भएमा उपयुक्त हुन सक्छ । यसका लागि लोसपा वा राजपा पनि हुन सक्छ । कांग्रेस र एमाले मिलेर बनाउँदा देश र जनताका लागि सुखद हुन सक्छ । वाम घटकबीच वा एमालेको नेतृत्वमा अरू मिलाउने कार्य पनि प्रत्युत्पादक बन्ने देखिन्छ । नयाँ दलका रूपमा उदाएका रास्वपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमत पार्टीलाई अहिले हतारिएर सरकारमा जाने र लैजाने गर्नु स्वयं दलका लागि पनि हितकर देखिन्न । उसले सत्ताबाहिर रहेर सरकारले गरेका कामको खबरदारी गर्नुपर्छ । राप्रपा पुरानै पार्टी भए पनि उसलाई पनि सरकारमा जाने गरी अभिमत प्राप्त भएको छैन । यसर्थ जनमतको कदर गर्दै सरकारलाई जनमुखी कार्य गर्नका निम्ति सदैव प्रेरित गर्नुपर्छ । राम्रा कार्यका निम्ति स्यावासी र गलत कार्यका निम्ति भण्डाफोर गरी सही लिकमा ल्याउन अग्रसर रहनुपर्छ ।