• १२ असोज २०८१, शनिबार

अफ्रिकन भाइरसबाट चार हजारभन्दा बढी बङ्गुर मरे

blog

चितवन समाचारदाता

चितवन, मङ्सिर १८ गते । गत असारबाट अफ्रिकन स्वाइन फिभर भाइरस फैलिएपछि अहिलेसम्म चितवनमा चार हजार ४९० वटा बङ्गुर मरेका छन्। 

उपचारको कुनै उपाय नभएको यो रोगबाट चितवनको भरतपुर महानगरपालिका–६ मा यो रोग देखा परेको थियो। पछिल्लो विवरणअनुसार अहिलेसम्म चार हजार ४९० वटा बङ्गुर मरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिनुभयो। 

पशुसेवा विज्ञ केन्द्रका अनुसार हालसम्म चितवनका चारवटा फार्ममा अफ्रिकन स्वाइन फिभर भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। यसबाट कम्तीमा पाँच करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ। 

मरेका बङ्गुरको सङ्ख्याका आधारमा मात्रै मूल्य निर्धारण गर्दा चितवनस्थित गोपी र पाथीभरा गरी दुईवटा फार्ममा मात्रै करिब तीन करोड ७२ लाख रुपियाँ क्षति भएको पशुसेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले बताउनुभयो। बङ्गुर मरे पनि यस रोगको रोकथाम र नियन्त्रणमा कुनै उपाय नहुँदा किसानलाई कुनै पनि राहतका कार्यक्रम गर्न नसकिएको विज्ञ केन्द्रका प्रमुख केसीले जानकारी दिनुभयो। 

उहाँका अनुसार किसानबाट विज्ञ केन्द्रमा आएका निवेदनका आधारमा प्रदेश सरकारले कार्यविधि बनाउने गृहकार्य थाले पनि निर्णय आइसकेको छैन। 

“प्रदेशले यसका लागि कार्यविधि बनाउने गृहकार्य गरिरहेको छ,” उहाँले भन्नुभयो, “राहत दिने भन्ने उल्लेख गरिएको छ तर के कति भन्ने प्रस्ट जानकारी आएको छैन।”

उहाँका अनुसार एक पटक सङ्क्रमण देखिएको खोरमा कम्तीमा पनि छ महिनासम्म यो सङ्क्रमण रहन्छ तर भाइरसलाई उचित वातावरण भइरहे तीन वर्षसम्म पनि यसको प्रभाव रहन सक्ने बताइएको छ। 

बङ्गुरबाहेक अन्य पशुमा अफ्रिकन स्वाइन फिभर भाइरस सङ्क्रमण नहुने हुँदा अरू पशुपालन भने गर्न सकिने बताइएको छ। सबैभन्दा ठूलो क्षति बेहोरेका बङ्गुरपालक किसान नरेन्द्रकुमार कन्दङ्वा लिम्बूले बङ्गुरको सट्टा भैँसी या अन्य पशुपालन गर्ने कि भन्ने योजना बनाएको बताउनुभयो। 

सङ्क्रमणकै कारण साउन महिनाभरमा भरतपुर–६ मा रहेको पाथीभरा पशुपालन तथा दाना उद्योग प्रालिमा रहेका एक हजार २३० र इच्छाकामना–७, पीपलटारमा रहेको गोपी पशुपन्छी फार्ममा रहेका ४७६ वटा बङ्गुर मरिसकेका छन्।

नेपालकै सबैभन्दा ठूलो फार्मभित्र पर्ने लिम्बूको फार्ममा गत साउन महिनामै खोर रित्तिएपछि हालसम्म खोर खाली छ। उहाँका अनुसार मरेका बङ्गुरको मात्रै हिसाब गर्दा तीन करोड दुई लाख रुपियाँभन्दा बढी क्षति भएको छ। त्यसबाहेक मरेका बङ्गुर व्यवस्थापन गर्ने र कर्मचारीको अन्य खर्च जोड्दा कम्तीमा पनि चार करोड रुपियाँ नोक्सान भएको कन्दङ्वाले दुखेसा पोख्नुभयो। 

कार्यालयका अनुसार खैरहनीमा न्यु कर्माचार्य बङ्गुर फार्म र गौशाला कृषि तथा पशु फार्ममा पनि अफ्रिकन स्वाइन फिभर भाइरस सङ्क्रमणबाट बङ्गुर मरेका छन्।