संयुक्त परिवारमा अभ्यस्त नेपाली समाज भौतिकवाद र पुँजीवादको उत्कर्षका रूपमा रहेको एकाङ्गी जीवनशैली पछ्याउँदै छिन्नभिन्न भइरहेको छ । अब न छोराछोरी आफूसँग बसून् भन्ने चाहना हुन्छ न त बाबुआमालाई आफूसँग राखौँ वा आफू बाबुआमासँग बसौँ भन्ने सोच हुन्छ । यो पुस्तामा देखा परेको द्रव्य मोह र विलासी जीवनशैलीको चाहनाले न छोराछोरीप्रतिको जिम्मेवारी प्राकृतिक रूपमा निर्वाह गर्न रुचाउँछन्, न त बाबुआमाप्रतिको दायित्व निर्वाहलाई नै पछ्याउँछन् ।
छोराछोरीमाथिको दायित्व भनेको उनीहरूलाई भौतिक सुविधा दिनु मात्र हो भन्ने ठानेर कलिलै उमेरमा अरूको जिम्मा लगाउने प्रवृत्तिले व्यापकता पाइरहँदा यसले भविष्यमा पर्न सक्ने असरको ख्याल गरिएको छैन । त्यस्तै बाबुआमा बोझ ठानेर वृद्धाश्रम लैजाने प्रवृत्तिले भोलि आफ्ना सन्तानलाई पनि त्यही सिकाइरहेका छौँ भन्ने बुझ्दैनन् । पश्चिमा सभ्यता र संस्कृतिलाई पछ्याएर संयुक्त परिवारको महìवलाई वास्तै नगरी आफ्नै मात्र तत्कालको सुख–सयललाई ध्यान दिँदा मानिसमा जिम्मेवारीबोध हराउँदै गएको छ ।
समाजमा भित्रिँदै गएको यस्तो गलत अभ्यासले आजभोलि शिशु स्याहार गर्ने र बूढाबूढीको हेरचाह गर्ने नाममा राम्रो व्यापार फस्टाएको छ । आजभोलि नेपालमा शिशु स्याहार केन्द्र र वृद्धवृद्धा हेरचाह केन्द्र निकै खुल्दै गएका छन् । महँगो शुल्क लिने यस्ता केन्द्र नेपाली समाजको बनोट, परम्परा अनि सनातन संस्कृतिभन्दा भिन्न रहेको छ । शिशु आफ्ना घरका अग्रजसँग खेल्नुपर्ने र वृद्धवृद्धा घरका शिशु, बालबालिकासँग रमाउनुपर्नेमा त्यसको ठीक विपरीत आजभोलि छोराछोरी तीन वर्षको नपुग्दै शिशु स्याहार केन्द्रमा राख्ने र बूढा बाबुआमालाई ‘ओल्ड एज होम’मा लगेर राख्ने गरिन्छ ।
शिशु उमेरदेखि नै प्रकृतिसँग निकट रहेर घरका अग्रजको काखमा हुर्कंदै, उनीहरूसँग ज्ञानगुन र व्यवहारका कुरा सिक्दै हुर्केका बालबालिकामा ज्ञानको स्तर र सीपको क्षमता उच्च रहने गर्छ । उनीहरूमा चेतना, चातुर्यता र व्यावहारिक पक्ष बढ्दै भविष्यसम्म काम लाग्ने अलौकिक शिक्षा अनौपचारिक रूपमै प्राप्त गर्छन् । यसका लागि घरमा शिशु र वृद्धवृद्धा सँगसँगै हुनुपर्छ । संयुक्त परिवारको अर्थ बोझ नभएर एकले अर्कालाई सहयोग गर्ने हो, बालबालिकालाई प्रत्यक्ष÷परोक्ष रूपमा शिक्षित, चेतनशील र गतिशील बन्न अभ्यस्त तुल्याउने परम्परागत शिक्षा पद्धति पनि हो ।
त्यस्तै वृद्धवृद्धाका लागि शिशु वा बालबालिका सहारा मात्र हैनन्, उनीहरूको एकाङ्गीपन हटाउने स्रोत पनि हो । आफूमा भनेको ज्ञानका कुरा सिकाउँदै उनीहरूको तोतेबोलीमा रमाउँदै औँला समातेर आफू पनि हिँड्दै र शिशुलाई पनि हिँडाउँदै सजिलै समय कटाउन पाउनु दुवैका लागि सुखद पक्ष हो । यस्तो सुखद पक्षलाई आजभोलि सुविधा र सम्पत्तिका नाममा खोसिँदै छ । बाबुआमाको सहारा र छोराछोरीको भरोसाको धरोहरमाथि खेलबाड भइरहेको छ ।
आज बालबालिका कम बोल्ने, ढिलो बोल्ने, समयमा नहिँड्ने, टोलाउनेजस्ता समस्या धेरै देखिएका छन् । यसको एउटै कारण भनेको मानवीय स्वभाव र प्रकृतिअनुसारको व्यवहार नपाउनु हो । नेपालीमा उखान नै छ, ‘नाति–नातिना हजुरबा–हजुरआमाका लागि बूढेसकालको लाठी बालबालिकाका लागि ।’ बालबालिकाका लागि ती वयोवृद्ध सबभन्दा नजिकको मार्गदर्शक, शिक्षक र साथी पनि । उनीहरूले जीवनमा भोगेका अनगिन्ती स्मरण सुनेर बालबालिका रोमाञ्चित हुन्छन्, उनीहरूले विगत थाहा पाउँछन् । त्यस्तै आफ्ना कुरा र आफ्ना जीवनका पाटा आफ्ना सन्तानलाई सुनाउन पाउँदा उनीहरू पनि खुसी हुन्छन् । बालबालिका र वृद्धवृद्धाको सम्बन्ध यति गम्भीर र गहिरो हुन्छ कि यसको स्पष्ट चित्र सायद हरेक घरमा देखिएकै हुन्छ ।
कुनै पनि मुलुकको संस्कृति र परम्परा भत्कँदै जान्छ भने त्यो देशको अवन्नति सुरु हुन्छ । नेपालमा जुन प्रवृत्ति मौलाउँदै गएको छ, यसले गरेको सङ्केत भनेको एकाङ्गी जीवन बिताउनेहरूको भीड बढ्दै जानु हो, यसले समाज विकासको गतिलाई पनि अवरुद्ध गरिरहेको छ । आफूबाहेक केही नदेख्ने प्रवृत्तिले जरा गाड्दै गएको छ । परिणामतः आफ्नै बाबुआमाप्रतिको दायित्वसमेत निर्वाह नगर्नेले सामाजिक दायित्व कसरी पूरा गर्लान् ? अनि उनीहरू नै सामाजिक सञ्जालमा अनेक बखान गरिरहेका हुन्छन् । कुशे औँसी र मातातीर्थ औँसीमा बाबुआमालाई मिठाई खान दिएको र ढोँग गरेको फोटो साझा गरेर महान् छोराछोरी बनेको स्वाङ गर्छन् ।
आज आफूलाई आधुनिक, कथित सभ्य र सम्पन्न भएको घमण्ड गर्नेहरूले नबुझेको कुरा के हो भने उनीहरूलाई यहाँसम्म ल्याइपु¥याउन उसका बाबुआमाले कति त्याग गरे, कति मेहनत गरे, घामपानी नभनी, दिनरात नभनी, आफूले एक छाक खाएर छोराछोरीको उज्ज्वल भविष्यका लागि भनेर उनीहरूले गरेको त्याग नबुझेर सहारा बन्नुपर्ने समयमा आश्रममा लगेर राखिदिनु मानवताविहीन मनमस्तिष्कको उपज मात्र हो । वृद्ध बाबुआमा घरमा हुँदा उनीहरूसँगै उनका सन्तानले समेत सहारा पाउँछन्, ज्ञान, सीप र संस्कार सिक्छन् । त्यो दुर्लभ मौका गुमाउँदै छोराछोरीलाई शिशु स्याहारमा र बाबुआमालाई वृद्धवृद्धा स्याहार गर्ने ठाउँमा महँगो शुल्क तिरेर राख्छन् ।
यो प्रवृत्तिले न बूढाबूढीको जीवनको उत्तराद्र्ध सुखद हुन्छ न हुर्कंदै गरेका शिशुको भविष्य सुन्दर बन्छ । उसले सिक्नुपर्ने कुरा केही सिक्न पाउँदैन । केवल प्रविधिसँग टाँस्सिएर त्यसलाई नै संसार ठानेर बस्ने उनीहरूमा एक किसिमको ‘रोग’ नै लागिसकेको हुन्छ । आजकलका बालबालिकामा त्यो तीक्ष्णता किन छैन ? उनीहरू किन कम बोल्ने, कम कुद्ने, मानिसहरूसँग कम झुम्मने गर्छन् ? यसको एउटै कारण पारिवारिक वातावरण नभएर हो । यस्तो वातावरण निर्माणका लागि संयुक्त परिवार नै आवश्यक हुन्छ । जुन आजको सबभन्दा खड्किएको पक्ष हो ।
मानिसको सहयोगी प्रविधि हुनुपर्नेमा मानिस यसैको दास बनिरहेको छ । जसका कारण प्राकृतिक रूपमा चलखेल गर्नुपर्ने बालबालिका यसैमा झुम्मिइरहेका हुन्छन् । यो उनीहरूको बाध्यता पनि हो । कुरा गर्ने, खेल्ने, साथीका रूपमा रहने घरका हजुरबा–हजुरआमा वृद्धाश्रममा पुगेका छन् भने ती बालबालिकाले कसरी सिक्छन्, नयाँ कुरा, जीवनका कुरा, धर्म, संस्कृति अनि कसरी सिक्छन् उनीहरूमा रहेको ज्ञान, सीप र संस्कार ।
संस्कृत वाङ्मयले आफ्नो परिवार मात्र हैन, विश्व नै एकताबद्ध हुन प्रेरित गरेको छ । एकताको बल र विश्व बन्धुत्वलाई जगाएको र जोगाउन भनेको छ । आफू र आफ्नो परिवार मात्र हैन, पृथ्वीका सबैलाई आफन्तको व्यवहार गर्नुपर्छ भनेको छ । आजभोलि हामीले यो कुरा बिर्सेका छौँ र मै मात्र सुखसयल गरूँ भन्ने धारणाले जरा गाडेको छ । महोपनिषद्मा भनिएको छ, “अयं निजः परो वेति गणना लघु चेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।” यसको अर्थ हुन्छ, “सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भन्दै भेदभाव गर्छन् तर उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त (बन्धु)जस्तै व्यवहार गर्छन् ।”
यो मन्त्र मानव जीवनलाई सरल, सहज, सुखी बनाउने सबभन्दा शक्तिशाली मन्त्र हो । जब एकले अर्कालाई आफ्नै ठान्दछ, तब त्यहाँ द्वेष, कलह, हिंसा हुँदैन, केवल प्रेम र सद्भाव मात्र कायम रहन्छ तर यसको विपरीत आजभोलि आफ्नै बाबुआमालाई आफन्त ठान्न छाडिएको छ । मुलुकले सांस्कृतिक धक्का खाएको योभन्दा ठूलो प्रमाण अरू के नै होला र ?
एकाङ्गी र भौतिक सुखलाई उच्च प्राथमिकता दिने संस्कारमा आएको बढोत्तरीले एउटै घरका तीन पुस्ताबीच ठूलो खाडल सिर्जना भइरहेको छ । पारिवारिक एकतालाई सहयात्राको मजबुत कडी मान्नुको साटो बोझ ठान्दै पतिपत्नीबीचको सम्बन्धसमेत औपचारिकतामा सीमित हुन पुगेको छ । एकले अर्कालाई साथ दिने भनेको क्षणिक सुखका लागि मात्रै हुन पुगेको छ । जीवनको रथ एउटै मात्र पाङ्ग्राले गुडाउन सकिने भ्रम पालेर आआफ्नै ढङ्गको जीवन बिताउने चलनसमेत बढ्दै गएको छ ।
सहकार्य, सद्भावको पूर्णतः खडेरी परेको छ । यसको असर अघिल्लो पुस्ताले जीवनको अन्तिम घडीहरू निकै कष्टकर बताउनु परिरहेको छ भने नयाँ पुस्ताले गलत संस्कार आत्मसात् गर्दै आफैँमा मात्र केन्द्रित भएर सामाजिक उत्तरदायित्व नै भुल्दै गएको छ । छोराबुहारीले बाबुआमा (सासूससुरा)को कुरा नसुन्ने र छोराछोरीले उनीहरूका बाबुआमाको कुरा नसुन्ने गलत अभ्यासले यति प्राथमिकता पाएको छ कि एउटै घरमा बसेका भए पनि एकले अर्कालाई आफ्नो बाटोको अवरोध मान्दै गलत संस्कारमा फस्दै गएका छन् । बाबुआमाका कुरा नसुन्नेहरूका छोराछोरीले पनि उनीहरूका कुरा नसुन्नु सामान्य नै हो ।
नेपालको त्यो एकताबद्ध भएर रमाउने संस्कार र संस्कृतिको पुस्तान्तरण नहुँदा कतिपय सभ्यता नै मासिएका छन् । अति राजनीतीकरण र भौतिकवादी जीवनशैलीलाई उच्च प्राथमिकता दिइएका कारण हाम्रो सभ्यता नै नष्ट हुने खतरा बढिरहेका बेला संसद्ले बाबुआमाको हेरचाह नगर्ने छोराछोरीलाई सम्पत्तिबाट विमुख गर्ने विधेयक पारित गरेको छ । यो विधेयक तत्काल कार्यान्वयनमा आए यसले विखण्डित भइरहेको परिवार पुनः एकताबद्ध हुनेछ । यो एकताले घर, समाज हुँदै राष्ट्र नै एकीकृत रहन्छ ।