• १२ साउन २०८१, शनिबार

म्याग्दीमा मतगणना स्थगित

blog

म्याग्दी, मङ्सिर ६ गते । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । 

हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानबिन र कारबाहीको माग गरेका छन् । गठबन्धनले मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई गणना गर्नुपर्ने माग गरेका छन् ।  सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनले हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धानको माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ । 

धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बजा (खम्बिर) ५ हजार ३ सय ७० मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ४ हजार ६ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याउनुभएको छ । 

प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ५ हजार एकसय ७४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजाले ४ हजार ८ सय ५१ मत प्राप्त गरी पछ्याइरहनुभएको छ । 

सत्ता गठबन्धनले पालिका जितेको पालिकामा कम मतले अग्रता हुँदा काँग्रेसले अपेक्षा गरेअनुसारको मत प्राप्त गर्न सकेन । यस्तै एमालेले स्थानीय तहको निर्वाचनमा पराजित भएपनि धवलागिरिलाई आफ्नो बलियो पालिकाका रूपमा हेरेको थियो । 

एमालेले प्रतिनिधिसभा तर्फ एकसय देखि दुईसय सम्मको अग्रता र प्रदेश सभा तर्फ ५ सयको अग्रताको अपेक्षा गरेको थियो । धवलागिरिमा दुवै पार्टीको अनुमान फेल भएको छ । 

सोमबार साँझबाट थालिएको मतगणनामा मंगलबार बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नम्बर वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

 मालिकामा गठबन्धन बलियो मानिएको भएपनि वडा नम्बर ५ को मतगणना सकिँदा प्रतिनिधि र प्रदेश सभामा गठबन्धनले अपेक्षा अनुसार मत प्राप्त गर्न सकेन । जसले गर्दा प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । मङ्गला गाउँपालिकाको मतगणना हुँदा नेकपा एमालेले फराकिलो मतअन्तरले अग्रता लिने एमालेले अपेक्षा गरेको छ । 


Author

ठाकुरप्रसाद आचार्य