• १३ असोज २०८१, आइतबार

यस्तो छ शीर्ष नेतृत्वको मतदान कार्यक्रम

blog

काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुहुने भएको छ । गन्यापधुरा–१, रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट उहाँले मतदान गर्नुहुने छ । उहाँले आइतबार बिहान ९ बजे मतदान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुने छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ स्थित रम्फोक राष्ट्रिय मावि फिक्कल मतदान केन्द्रबाट मतदान गर्नुहुने छ । यसैगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा रहेको महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गर्नुहुने भएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन निर्वाचन क्षेत्र नंं. ३ को शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्ने उहाँका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गर्नुहुने छ भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिका–७, महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गर्दै हुनुहुन्छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको वराह क्षेत्र नगरपालिका–१०, प्रकाशपुरस्थित मतदान केन्द्रबाट र गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयको केन्द्रबाट मतदान गर्नुहुने छ ।

पूर्वसभामुख तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका–२ को सत्यावती मावि केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रमा मतदान गर्नुहुने छ । 

लोकतान्तिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नुहुने छ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्नुहुने छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७, राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै हुनुहुन्छ । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आदर्श विद्यालयमा मतदान गर्नुहुने छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवी मन्दिरपूर्व मयूरकुण्डमा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नुहुने छ ।