• १३ असोज २०८१, आइतबार

मौन अवधि र निर्वाचनका दिन नियोकले दुई हजार पर्यवेक्षक परिचालन गर्ने

blog

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले गरेकाे पत्रकार सम्मेलनमा बोल्दै अघ्यक्ष कपिल श्रेष्ठ । तस्बिर : कविता थापा

काठमाडौं, मङ्सिर १ गते। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन प्रचारप्रसारका क्रममा तराईका केही जिल्लामा भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग भएको पाइएको बताएको छ।

 नियोकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बौल्दै समितिका  महासचिव देविकानन्द तिमिल्सिनाले तराईका केही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा द्वेषपूर्ण अभिव्यक्ति, दलबीच झडप, दलका नेता र उम्मेदवारबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन र प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग गर्नुका साथै निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गरेको पाइएको बताउनुभयो। 

समितिले असोज महिनाको अन्तिम साताबाट नै निर्वाचन पूर्व अवधिको पर्यवेक्षण गर्न नेपालका ७७ वटै जिल्लामा ७७ तालिम प्राप्त दीर्घकालीन पर्यवेक्षक खटाएको बताउनुभयो। महासचिव तिमिल्सिनाले पर्यवेक्षकले निर्वाचन आयोगको तयारी, मतदाता रिपोर्टिङ प्रणाली प्रयोग गरेर आफ्नो आफ्नो जिल्लाबाट नियमित पर्यवेक्षण प्रतिवेदन पठाउँदै आएको बताउनुभयो। 

उहाँले समितिले निर्वाचनको दिन र मौन अवधिको दिन सम्पूर्ण क्रियाकलापको पर्यवेक्षण गर्न ७ प्रदेश र ७७ वटै जिल्लामा दुई हजार पर्यवेक्षक परिचालन गर्ने बताउनुभयो। 

उहाँले छोटो अवधिका पर्यवेक्षकअन्तर्गत १५० जना राष्ट्रिय पर्यवेक्षकसहित मतदान केन्द्र लक्षित स्थिर र घुम्ती पर्यवेक्षक रहेको स्पष्ट पार्नुभयो। समितिले पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्रको व्यवस्थालगायत कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। 

त्यस्तै निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय स्तरमा डेटा सेन्टरको स्थापना गर्ने भएको छ। मतदानको दिन मतदान केन्द्रमा खटिएका पर्यवेक्षकसँग एसएमएस प्रविधिमार्फत नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरेर सूचना सङ्कलन र सम्प्रेषण गर्ने उद्देश्य रहेको महासचिव तिमिल्सिनाले बताउनुभयो। 

समितिले निर्वाचनमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।