• १३ साउन २०८१, आइतबार

कैलाली क्षेत्र २ (ख) मा त्रिपक्षीय प्रतिस्पर्धा

blog

एकिन्द्र तिमिल्सेना 

टीकापुर, मङ्सिर १ गते । कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा मुख्य दलबाट युवा नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रदेश सहसचिव ३६ वर्षका नन्दबहादुर साउँद उम्मेदवार हुनुहुन्छ । यस्तै, नेकपा (एमाले) बाट कैलालीका सचिव ४४ वर्षीय डेजी पाण्डे उम्मेदवार हुनुहुन्छ । 

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट पनि ४५ वर्षका व्यवसायी रामेश्वर चौधरी उम्मेदवार हुनुहुन्छ । आफ्नो पार्टीभित्र प्रभाव राख्ने र मतदाता हेर्दा कसैको स्पष्ट बहुमत नदेखिएकाले तीनै युवाहरू आफू जित्नेमा आशावादी हुनुहुन्छ ।

यसअघि सुदूरपश्चिम प्रदेश सभा सदस्य रहिसक्नुभएको र यस अवधिमा प्रदेशको बजेटबाट निर्वाचन क्षेत्रमा आयोजना पारेकाले मतदाताले आफूलाई मत दिने गठबन्धनका उम्मेदवार नन्दबहादुर साउँदको भनाइ छ ।

विद्यार्थी राजनीतिबाट खारिएका, कानुन पढ्नुभएका र युवा व्यवसायीको पहिचान बनाउनु भएका एमाले कैलालीका सचिव डेजी पाण्डे युवाको भावना बोक्ने युवालाई व्यावसायिक बनाएर स्वदेशमै रोजगारी सिर्जना गरी देश समृद्ध बनाउने योजना अघि सारेकाले जनमत आफ्नो पक्षमा भएको बताउनुभयो ।   

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार व्यवसायी रामेश्वर चौधरी पेट्रोल पम्पका सञ्चालक हुनुहुन्छ । लामो समय व्यवसाय गरी जनतासँगको सम्बन्धका कारण आफूले मत पाउने उहाँले बताउनुभयो । 

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा पहिलोमा कांग्रेस, दोस्रोमा एमाले, माओवादी केन्द्र तेस्रो र नागरिक उन्मुक्ति तेस्रोमा छ । त्यतिबेला कांग्रेसमा रहनुभएका अरुनकुमार चौधरी अहिले नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नु भएकाले नागरिक उन्मुक्तिको भोट अत्यधिक बढेन विश्लेषकहरूको भनाइ छ । 

स्वतन्त्र उम्मेदवार भरतकुमार शाही र सन्तु डगौराथारु मतदातासामू सशक्त रूपमा प्रस्तुत हुनुभएको र मतदाता आकर्षित भइरहेका स्थानीयको बुझाइ छ । स्वतन्त्र उम्मेदवार शाही र थारुले दलका उम्मेदवारबाट असन्तुष्टको मत पाउने अपेक्षा गरिरहनुभएको छ । 

यहाँ महिला उम्मेदवारमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दीपा विष्ट मात्र रहनुभएको छ । यस क्षेत्रमा दुई जना स्वतन्त्रसहित नौ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश सभा क्षेत्रमा ४८ हजार ५६४ मतदाता रहेका छन् ।