• १९ असोज २०८१, शनिबार

निर्वाचनका क्रममा कुनै घटना भए तत्काल सेनाको हेलिकोप्टर प्रयोग गर्न सकिने : गृहमन्त्री

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

रुपन्देही, मङ्सिर १ गते । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।

गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्यशक्तिको परिचालन गरिएको बताउनुभएको हो ।

उहाँले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई दृष्टिगत गरी सरकारले नेपाली सेनाको हेलिकोप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको जानकारी दिनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘चुनाव निष्पक्षसँग सम्पन्न गर्नलाई नै सबै शक्ति राज्यले लगाएको छ । पुरानो अनुभवको आधारशिलालाई लिएर यो निर्वाचनलाई एकैपटक सञ्चालन गर्नसक्छौँ । कुनै घटना भए तत्काल नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्न सकिन्छ । थप जनशक्ति लैजान नेपाली सेनाको जहाज, हेलि राखेका छौँ ।’’

रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका खाणले आफूमाथि लाग्दै आएको निर्वाचनका गलत तथ्याङ्कहरु प्रस्तुत गरेको आरोपबारे सञ्चारमाध्यमहरुले जनमत सर्वे गरी प्रसारण गरेका तथ्याङ्कहरु नै प्रस्तुत गरेको बताउनुभयो ।

‘‘उम्मेदवारको सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ । जुनसुकै दल र पार्टीका उम्मेदवार साथीहरुले सुरक्षा चाहिएको छ भने सुरक्षा उपलब्ध गराउनेछौँ । हामीले सञ्चारमाध्यमहरुले गरेको आँकलनका आधारमा भनेका हौँ । सरकारी तवरबाट तथ्याङ्क प्रस्तुत गर्ने भन्न मिल्दैन ।,’’ गृहमन्त्री खाणले भन्नुभयो, ‘‘विभिन्न सञ्चारमाध्यमले आफ्नो आँकलन गरिरहनुभएको छ, ती कतिपय सही पनि छन् । किनभने सत्ता गठबन्धनको तथ्याङ्क स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्वेमा पनि सत्ता गठबन्धन अघि नै छ । यो सरकारी आँकलन बाहिर ल्याएको पनि होइन । तर कतिपय मत सर्वे स्थानीय निकाय र पार्टीले पनि निकालिरहेको हुन्छ ।’’

उहाँले निर्वाचनबारेका कुनै पनि पूर्वानुमानका तथ्याङ्कहरु सरकारले प्रस्तुत गर्न नमिल्ने र नगर्ने पनि धारणा व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले निर्वाचनबाट नेपाली कांग्रेस देशको ठूलो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो ।कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका खाणले विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले जनमत सर्वेका तथ्याङ्कहरु विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो पार्टी बन्छ । कांग्रेसलगायतको गठबन्धनको सरकार बन्छ । विपक्षी दलहरुले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरुले सोचेभन्दा धेरै कम मात्र नतिजा आउँछ । हामीले सबैभन्दा पहिला मतदाता, जनताको सुरक्षा गर्ने हो, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा र उम्मेदवारको सुरक्षा गर्नु हाम्रो दायित्व हो ।’’

गृहमन्त्री खाणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनै पनि राजनीतिक दल र उम्मेदवारहरुलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताउनुभयो ।