• ९ मंसिर २०८१, आइतबार

चलन बदल्दै छ करुणाको आँटले

blog

गोकर्ण पौडेल 

तुलसीपुर, मङ्सिर १ गते । तीन वर्षपहिले त्यो हिम्मत नगरेको भए आज करुणा नेपाली कापी र कलमसँग होइन, छोराछोरीको स्याहारसुसारमै दिन बिताउन बाध्य हुनुहुने थियो। २०७६ साल मङ्सिर ६ गते करुणाको बिहे जुरेको थियो। उमेरले १३ वर्ष पुगेकी र कक्षा ७ पढ्दै गरेकी करुणाको परिवार र दुलाहा पक्षको परिवारले विवाहको लगन जुराइसकेका थिए। 

तर, ३ गते नै करुणाले आफ्नो विवाह तीन दिनपछि (६ गते) हुँदै छ भन्ने थाहा पाएपछि आफूले पढ्दै गरेको विद्यालयका प्रधानाध्यापकलाई विवाह रोक्नका लागि आग्रह गर्नुभयो। प्रधानाध्यापक नुमानन्द रेग्मीले करुणाका बुवाआमालाई विद्यालयमै बोलाएर तत्काल विवाह रोक्नका लागि आग्रह गर्नुभयो।

विवाहको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि हालतमा विवाह नरोक्ने करुणाको परिवारले बताएपछि विद्यालयले नै बाल विवाहविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दियो। 

विवाह गर्ने र गराउने दुवैले जेलसजाय भोग्नेसम्मको कारबाही हुन्छ भनेपछि दुवै परिवार करुणाको विवाह गराउनबाट पछाडि हट्यो, जसका कारण आज करुणाको पढ्ने रहर पूरा भएको छ।  

हाल स्थानीय बाल क्लबको नेतृत्व गर्दै आएकी करुणा ‘छोरीलाई शिक्षा, बिहेबारी २० पारि’ अभियानमा सक्रिय हुनुहुन्छ। कक्षा १० मा अध्ययनरत करुणा पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल हुनुहुन्छ। 

प्रधानाध्यापक रेग्मीका अनुसार करुणाको बाल विवाह रोकेसँगै अन्य समस्या पनि हटेको छ। सो विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष २५ जनाको बाल विवाह हुने गरेको थियो। 

तर, विद्यालयमा बाल क्लब स्थापना गरेर सचेतना कार्यक्रम सञ्चालन गरेसँगै सो समस्या घटेको उहाँले बताउनुभयो। करुणाको अध्यक्षतामा विद्यालयमा सिर्जनशील बाल क्लब स्थापना गरिएको छ। 

पारिवारिक अवस्था अत्यन्त कमजोर भएकाले आफ्नो नर्स बन्ने सपना अधुरै रहेको करुणा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “पहिलो लक्ष्य नर्स बन्ने हो, यदि आर्थिक अभावका कारण सम्भव भएन भने एक असल प्रहरी बनेर देश र जनताको सुरक्षा गर्ने चाहना छ।”