• १५ असार २०८१, शनिबार

सदरमुकाममै खानेपानी हाहाकार

blog

अमरगढी समाचारदाता

डडेल्धुरा, कात्तिक ३० गते । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–८, लटाउली गाउँको खानेपानी समस्या, पुस्ताँैदेखिकै हो । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गसँगै जोडिएको लटाउलीगाउँ प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको पूर्वतर्फ छ । राजमार्गको तलतिर रहेको गाउँबाट अहिले स्थानीय सडक छेउछाउमा घर बनाएर बस्दै आएका छन् । गाउँ छोडेर स्थानीय सडक छेउछाउको जमिनमा बसोबास गर्दै आइरहे पनि खानेपानीको समस्या भने समाधान हुन सकेको छैन । स्थानीयहरू उग्रतारा मन्दिरको धारामा आउने पानी, मन्दिरमुनि रहेको नाउला (कुवा)सहित छेउछाउका नाउला र डकले बजारको एक धाराकै भरमा स्थानीय छन् । 

गर्मीयाममा पानीका मुहान सुक्दै गएपछि अमरगढी नगरपालिकाले दमकलमा पानी ल्याई स्थानीयलाई बाँड्ने गरेको छ । मन्दिरनजिकै सशस्त्र प्रहरीको गण पनि स्थापना गरिएकाले त्यहीँबाट सशस्त्र प्रहरी कार्यालयले पनि सोही ठाउँबाट पानी उपभोग गरिरहेको छ । पोखराको पानी पोखरा क्षेत्रका स्थानीयलाई समेत पर्याप्त पुग्न सकेको छैन । लटाउलीगाउँ माथिको सानो बजार डकलेको एक घरसम्म सदरमुकामको खलङ्गा खानेपानी उपभोक्ता समितिबाट पानी आउँछ । जिल्ला सदरमुकामवासीलाई पनि पानी पर्याप्त नभएको भन्दै खलङ्गाले पनि लटाउली गाउँमा पानी दिँदैन । मन्दिर छेउछाउमा पर्याप्त पानीका मुहान नहुँदा लटाउली गाउँवासी खानेपानीको समस्या झेल्दै आइरहनुभएको छ ।  

लटाउली गाउँका स्थानीयहरू बिहानै उठेर करिब एक घण्टासम्मको दूरीमा रहेका नौलाहरूमा पुगेर पानी सङ्कलन गरिरहेको स्थानीय प्रकाश साँकीले बताउनुभयो । ५०/६० लिटरका ग्यालेन लगेर नाउलाबाट पानीको जोहो गरेर पिठ्युमा बोकेर घरसम्म ल्याई गुजारा गर्दै आएको स्थानीय जमुना साँकीको भनाइ छ ।  

आर्थिक वर्ष २०७४/७५ मा खानेपानीको समस्या समाधान गर्न उग्रतारा मन्दिर छेउमा जमिनमुनिबाट पानी निकाल्न ३५ लाख रुपियाँको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत काम सुरु भएको थियो । एक स्थानबाट पानी नआएपछि अर्काे स्थानबाट पानी निकालिएको थियो । सो खानेपानी केही महिना गाउँमा वितरण गरिए पनि दीर्घकालीन रूपमा भने पानीको समस्या समाधान हुन सकेन । केही महिनामा मोटर बिग्रियो । तीन लाख रुपियाँका दरले तीनवटा नयाँ मोटर जडान गरिए । फेरि पनि मोटर बिग्रिएपछि खानेपानी वितरण बन्द छ । बत्तीको महसुल धेरै आउने, धमिलो रातो पानीले पाइप बन्द हुने समस्या आएसँगै अहिले पानी नै आउन बन्द भइसकेको वडाध्यक्ष नरबहादुर साँकीले बताउनुभयो ।