• १३ असोज २०८१, आइतबार

धनुषा–४ मा कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, कात्तिक ३० गते । धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धन र एमालेसहित २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा एमाले–जसपाको गठबन्धन छैन । एमाले र जसपाले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)का रघुवीर महासेठ, जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवलगायत आठ जना विभिन्न पार्टीबाट र २१ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

यी उम्मेदवारमध्ये नेपाली कांग्रेसका यादव र एमालेका महासेठबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यी दुवै उम्मेदवार २०७४ को निर्वाचनमा पनि एकअर्काका प्रतिस्पर्धी हुनुहुन्थ्यो । प्रतिस्पर्धाका लागि यी दुई उम्मेदवारलाई जसपाका यादवले पनि पछ्याइरहनुभएको स्थानीय मतदाताले बताएका छन् । यस क्षेत्रमा राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट कृष्णचन्द्रप्रसाद साह, हास्य कलाकार कृष्णकुमार महतोसहित २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

नेकपा (एमाले)का सचिवसमेत रहनुभएका महासेठ यस क्षेत्रबाट तीन पटक निर्वाचित भइसक्नुभएको छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुनुभएको थियो । कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गर्नुभएको थियो ।

अघिल्लो चुनावमा महासेठका सहयात्री माओवादी र महाजनको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) यस पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा हुनुहुन्छ । एमालेबाट अलग भएका एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै भएका कारण सत्ता गठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको छ । 

स्थानीय तह निर्वाचनको मत परिणामलाई केलाउँदा सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था निकै बलियो देखिएको छ । यस क्षेत्रका पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिकामा कांग्रेसले जितेको छ । 

यता एमालेले क्षीरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपप्रमुखसहित बहुमत वडा जितेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९, १३, १४, १९, २१ र २२ गरी पाँचवटा वडा यसै क्षेत्रमा पर्दछन् भने मिथिला नगरपालिका–४, क्षीरेश्वरका ८ र ९, मिथिला विहारी नगरपालिकाका १, ३, ४ र ५ वडा यस क्षेत्रमा परेका छैनन् । यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् । 

कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पछिल्लो पाँच वर्षमा आफू सबै जनताबीच पुगेको र धेरै काम गरेको हुनाले आफ्नो लोकप्रियता मतदातामा बढी रहेको तर्क गर्नुहँुदै यो कारणसहित सत्ता गठबन्धनको थप मतले जित्ने ढुक्क रहेको बताउनुभयो । यस्तै एमाले उम्मेदवार महासेठले आफू मन्त्री हुँदा यस क्षेत्रमा सडकहरू कालोपत्रे, खोलाहरूमा पुल निर्माणलगायतका विकास निर्माणका काम गरेकाले मतदाताले आफूलाई पुनः जिताउने तर्क गर्नुभयो ।

महिला उम्मेदवार शून्य रहेको यस क्षेत्रमा ६२ हजार ३८५ पुरुष, ५४ हजार ८०८ महिला र अन्य दुई जना गरी कुल एक लाख १७ हजार १९५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदानका लागि ७५ मतदान स्थल र १४४ मतदान केन्द्र निर्धारण गरेको छ ।