• १० चैत २०८२, मङ्गलबार

अङ्गदानलाई प्रोत्साहन गर्न जोड

blog

काठमाडौँ, कात्तिक २८ गते । नेपालजस्तो विकासोन्मुख देशमा मस्तिष्क मृत्युपछि गरिने अङ्गदानलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिइएको छ । शनिबार र आइतबार सम्पन्न ‘दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन’मा मस्तिष्क मृत्युुपछि हुने अङ्ग प्रत्यारोपणमा पनि जोड दिइएको छ । अङ्ग प्रत्यारोपणसम्बन्धी अनुभव आदानप्रदान गर्न तथा  नेपालको अङ्गदान तथा प्रत्यारोपण कार्यलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाजले संयुक्त रूपमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य सचिव शङ्करदास वैरागीले मिर्गौलाका बिरामीमा नेपाल सरकारले गरेको लगानीबाट बिरामीलाई धेरै फाइदा पुगेको बताउनुभयो । सरकारको योजनाअनुसार प्रत्यारोपण सेवालाई देशका सातवटै प्रदेशमा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रत्यारोपण सम्बन्धित विशेषज्ञ उत्पादन गर्ने विशेषज्ञ प्रतिष्ठनका रूपमा विकास गर्ने प्रस्ताव अगाडि बढाइसकेको जानकारी दिनुभयो । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा प्रत्यारोपणसम्बन्धी कानुनमा उल्लेख्य सुधार आएको बताउनुभयो । उपचार केन्द्रबाट विश्वस्तरीय प्रत्यारोपण सेवा दिइरहेको बताउँदै उहाँले सरकारले केन्द्रको पहलमा देशका सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना बनाएको जानकारी गराउनुभयो । 

सोही योजनाअनुसार हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सञ्चालन भएको उहाँले बताउनुुभयो । निकट भविष्यमा सुर्खेत प्रादेशिक अस्तालमा सुरु गर्न लागिएको र क्रमशः देशका सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने उहाँले बताउनुुभयो । 

सरकारले नेपालमा सूचीकृत अस्पतालमा मिर्गौला बिरामीका लागि प्रत्यारोपण तथा डायलासिस निःशुल्क गरेको छ । सम्मेलनमा नेपाली विज्ञहरूबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरूबाट १२ वटा कार्यपत्र प्रस्तुत भएका थिए । उहाँहरूले आफ्ना देशमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउनुभएको थियो । अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपणको नारा ‘विकासोन्मुख मुलकका लागि मृत्युपर्यन्त अङ्गदान र प्रत्यारोपण’ भन्ने रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ९० प्रतिशतभन्दा बढी मिर्गौला फेल भएका व्यक्ति केही महिनामा मृत्युवरण गर्ने उल्लेख छ ।